झापाली सञ्चारकर्मीका लागि अभिमुखीकरण: सहकारी क्षेत्रमा देखिएको तरलताको हल गर्न राष्ट्रिय सहकारी वैंकले चासो देखाउने पर्ने

१७ जेष्ठ २०८०, बुधबार मा प्रकाशित

झापा, झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी सहकारी अभियानकर्मीले सहकारी क्षेत्रमा देखिएको तरलताको हल गर्न राष्ट्रिय सहकारी वैंकले चासो देखाउने पर्ने बताएका छन् । उनीहरुले सहकारी क्षेत्रमा देखिएको समस्या तत्कालका लागि हल गर्न कम्तिमा सहुलियत ब्याजदरमा ३ बर्ष सम्मका लागि १० अर्ब रुपैयाँ वरावर कर्जा उपलब्ध गराउनु पर्ने बताए ।
झापा जिल्ला सहकारी सङ्घ र जिल्ला बचत तथा ऋण सहकारी संघको संयुक्त आयोजनामा बिर्तामोडमा झापाली सञ्चारकर्मीका लागि बुधबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
सहकारीको विद्यमान अवस्था, समस्या र चुनौतिका विषयमा यी दुई संस्थाले सञ्चारकर्मीसँग छलफल गरेका हुन् । बढ्दो संकटका बीच पनि सहकारी संस्थाहरुले सदस्यलाई वित्तीय सेवा दिइरहेको कार्यक्रममा जानकारी गराइयो ।
अभियानकर्मीहरुले सहकारीको वित्तिय जोखिम न्यूनीकरण गर्दै सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्न माग गरे ।
संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा सहकारी अभियान्ताहरु कमलकुमार घिमिरे र अर्जुन दंगालले कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियानको इतिहास, अवस्था र चुनौतीहरुका बिषयमा विस्तृत जानकारी गराएका थिए कार्यक्रममा बचत तथा ऋण सहकारी महासंघका केन्द्रिय सदस्य घनश्याम अधिकारीले देशभरका सहकारी संस्थाहरुमा देखिएको तरलता अभाव र पछिल्लो अवस्था सिर्जना हुनुमा राज्यपक्ष प्रमुख कारकका रुपमा रहेको उल्लेख गरे । उनले काठमाडौं, धरान र मोरङका केही सहकारी संस्थाहरुको उदाहरण प्रस्तुत गर्दै झापामा तुलनात्मक रुपले सहकारी संस्थाहरु बलियो अवस्थामा रहेको भन्दै बचाउ गरे ।
उनले अहिले समस्याग्रस्त देखिएका सहकारी संस्थाहरुलाई एकीकरणको प्रकृयाबाट सवल संस्थाको संख्यामा बृद्धि गर्न सकिने बताए । उनले कतिपय सहकारी संस्थाहरुमा सञ्चालकहरु स्वयंले नियमविपरित कर्जा लिँदा समस्या देखिएको बताउँदै सबै सहकारीहरुलाई नियमन गरी मापदण्ड अनुसार सञ्चालनको वातावरण बनाउन सबै पक्षको भुमिका उत्तिकै हुने पनि प्रष्ट पारे ।
सहभागीहरुले उठाएका जिज्ञासाहरुको समाधान गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेले बचत कर्ताहरु एकैसाथ बचत रकम फिर्ता लिन संस्थामा आउँदा जुनसुकै संस्थाले पनि फिर्ता गर्न नसक्ने अवस्था आउने निश्चित रहेको बताए । राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य महेन्द्र कुमार गिरीले स्वागत गरेको कार्यक्रम मा सहभागीहरुले उठाएका जिज्ञासाहरुको सहकारी अभियान्ताहरु भवानी दंगाल, मिना ढकाल लगायतले पनि जवाफ दिएका थिए ।
यद्यपी संस्थाका सञ्चालकहरुले बचतकर्ताको बचत रकमको सुरक्षा गर्ने मुख्य जिम्मेवारीलाई भने भुल्न नहुने अभियाकर्मीहरुको साझा निष्कर्ष थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सञ्चारकर्मीहरुलाई लक्षित गरेर जिल्ला सहकारी संघबाट संस्थागत रुपमै विभिन्न कार्यक्रमहरु ल्याउन सुझाव दिए ।
कार्यक्रममा जनाइए अनुसार झापामा कूल जनसंख्याको ४५ प्रतिशत भन्दा बढी जनसंख्या कुनै न कुनै रुपमा सहकारी अभियानमा आवद्ध भइसकेका र ७० अर्ब भन्दा बढी पुँजी परिचालित भएको , ५ हजार भन्दा बढी मानिसहरु सहकारी सम्बन्धीको प्रत्यक्ष रोजगारीमा जोडिएका छन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here