बाख्रापालन गरी जीविका चलाउँदै

0
50

कञ्चनपुर, 

यहाँको शुक्लाफाँटा नगरपालिका–८ धारापानीका बासिन्दाले बाख्रापालन गरी जीविका चलाउँदै आएका छन् । परम्परागत रुपमा बाख्रापालन गरी स्थानीय बासिन्दाले घरायसी खर्च चलाउने गरेका छन् । बाइस परिवारको बसोबास रहेको धारापानीमा मुख्य आयको स्रोतका रुपमा बाख्रपालन रहेको छ ।

अधिकांश परिवारले १० देखि ५० वटासम्म बाख्रापालन गरेका छन् । बाख्रापालनबाट आएको रकमले घरायसी खर्च, बालबालिकाको विद्यालयको खर्च चलाउने गरेको बाख्रापालन गर्दै आएका जयलाल धामीले बताउनुभयो । केहीले बाख्राको आम्दानीबाट गाउँमै पसल थापेका भन्दै चुरे क्षेत्रको वनमा पर्याप्त चरन क्षेत्र भएकाले बाख्रापालन गर्न सहज भएको उहाँको भनाइ थियो ।

“गाउँमा बसोबास गर्दै आएका बासिन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ”, धामीले भन्नुभयो, “जीविका चलाउनका लागि बाख्रपालन गर्दै आएका छाँै, परिवारका एक जनाले दैनिक बाख्रा चराउन जाने र खोरमा ल्याएर बाध्ने कार्यमा व्यस्त हुनुपर्छ ।” उहाँका अनुसार खसीबोका पिकनिक मनाउन आउनेले समेत खरिद गरेर लैजाने गर्दछन् ।

अधिकांश खसी, बोका, बाख्रा काठमाडौँका व्यापारी गाउँमै पुगेर खरिद गरेर लैजाने गरेको मोहन सिंह धामीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक परिवारले वर्षमा रू एक लाखदेखि तीन लाखसम्म बाख्रा बेचेर आम्दानी लिने गरेका छन् ।

बाख्रा बिक्री गरेर आएको रू दुई लाख रकम खर्च गरी छोरालाई वैदेशिक रोजगारीमा पठाएको स्थानीय साइमले धामीले बताउनुभयो । “बाख्रा बेचेको पैसा खर्च गरी छोरालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाएको छु”, उहाँले भन्नुभयो, “छोराले मासिक रुपमा रू ७० हजार कमाउने गरेको छ ।”

पहाडमा रहेको जग्गा पहिराले लगेपछि तीन दशकअघि धारापानीमा बसेको स्मरण गर्दै साइमले बाख्रापालन गर्न थालेपछि परिवारको खर्च चल्दै आएको बताउनुभयो । साइमले बाख्रापालनको कमाईले घरमै किराना पसल र चिया नास्ताको पसल थापेका छन् । उहाँका अनुसार यहाँका स्थानीयले बाख्रापालन गरेर अधिकांशले घरघडेरी जोडेका छन् ।

बालबालिकालाई निजी विद्यालयमा छात्रावासमा राखेर पढाउन सिकएको रायभान ठगुन्नाले बताउनुभयो । “बस्दै आएको जग्गामा लगाएको अन्नले तीन महिना सम्मका लागि खान पुग्दैन”, उहाँले भन्नुभयो, “बाख्रापालन गरी आएको रकमले अन्न खरिद गरी वर्षभरिको जोहो गर्दै आएका छौँ, लत्ताकपडा सबै बाख्रापालनको कमाईले खरिद गरेर लगाउने गरेका छौँ ।” धारापानीका बासिन्दाको आयको स्रोत नै बाख्रापालन भएको ठगुन्नाको भनाइ छ । बाख्रापालन परम्परागत तरिकाले गर्दै आएकाले आधुनिक तरिकाले बाख्रापालनका लागि तालिमको आवश्यकता भएको उहाँले बताउनुभयो ।

उन्नत जातका बाख्रापालन गर्नका लागि अनुदानको व्यवस्थाका लागि वडा कार्यालयमार्फत नगरपालिकालाई अनुरोध गरेको ठगुन्नाले उल्लेख गर्नुभयो । “रोग–व्याधि आए गोठ नै रित्तो हुने गरेको छ”, उहाँले भन्नुभयो, “त्यसको रोकथामका लागि तालिमको आवश्यकता छ ।”

चितुवालगायत हिंस्रक जनावरबाट बाख्रा जोगाउन भने चुरे फेदीको धारापानीका बासिन्दालाई हम्मेहम्मे छ । खोरमै पसेर चितुवाले बाख्रा मार्ने र खाने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here