महिलालाई नेतृत्व विकास तालिम

0
130

युद्धबहादुर बोहोरा,
पाँचथर ।

महिलाको हक–अधिकार सुनिश्चित गर्न संविधानमा नियम कानून उल्लेख भएता पनि अझै कतिपय महिलाहरु आफ्नो कुरा अरु माझ राख्न र निर्धक्क बोल्न लाज मान्ने गरेका छन् ।

‘बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल समेत बिक्दैन’ भन्ने पुरानो उक्ति बारे जानकार हुँदाहुँदै पनि मौका, अवसर र उचित प्रशिक्षणका अभावमा बोल्ने सीपमा महिला मात्रै नभएर पुरुषहरुको पनि लज्जित बन्ने हालत उस्तै छ । बोल्ने अर्थात् भाषण गर्ने विषय एउटा कलात्मक शैलीभित्र पर्ने भएकाले यसको वास्तविक ज्ञान लिनुपर्ने विज्ञहरु बताउँछन् ।

यसैबीच, फाल्गुनन्द गाउँपालिकाको महिला तथा बालबालिका शाखाले महिलाहरूका लागि नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ । महिलामा बोल्ने कलाको विकास भयो भने आफ्नो अधिकार खोज्न उनीहरुलाई साहस मिल्ने र हरेक नेतृत्व तहमा पुग्न सहज हुने उद्देश्यसहित पाँच दिनसम्म सञ्चालन गरिएको तालिम सम्पन्न भएको हो ।

पालिकाभित्रका सात वटै वडाबाट महिला सहकारी संस्थालाई लक्षित गरी सहकारीका २७ जना सदस्यलाई उद्घोषण र भाषण कलाको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण गराइएको पालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रेजिना चापागाँईले जानकारी दिइन् ।

रेडियो नेपालका पूर्व बोर्ड सदस्य एवम् वरिष्ठ सञ्चालक अमरध्वज लामाले तालिमको सहजीकरण गर्दै नेतृत्व के हो, भूमिका, दायित्व, नेतृत्वको आवश्यकता र महिला अधिकार लगायतका विषयमा प्रशिक्षण दिइएको जनाइएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले महिलाको क्षमता विकास भए, घर परिवारदेखि समाज परिवर्तन गर्नसम्म टेवा पुग्न सक्ने बताए । महिलाहरुलाई राज्यका हरेक निकायमा सक्षम, सबल र सशक्त बनाउन आगामी दिनमा प्रभावकारी तालिम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाए ।

तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उत्तार्न सहभागीहरूलाई विशेष अतिथि उपाध्यक्ष ठाकुरसिं नेम्वाङले शुभकामना मन्तव्यसहित आग्रह गरे । क्षमता अभिवृद्धि गर्दै आगामी दिनमा नेतृत्व तह हाँक्न अग्रसर हुनुपर्ने अतिथिहरुले सुझाव दिए ।

कार्यक्रम समापनमा सहभागीहरुलाई प्रमाणपत्र प्रदानसँगै प्रशिक्षक लामालाई धन्यवादसहित अतिथिहरुबाट मायाको चिनो प्रदान गरिएको थियो । वडा नम्बर ५ का अध्यक्ष बिष्णुकुमार चेम्जोङको समेत उपस्थिति रहेको कार्यक्रम उमा राईले सञ्चालन गरेकी थिइन् ।

सहभागीहरु मध्येबाट प्रविना शेर्माले नेतृत्व तथा क्षमता विकास तालिमपछि आत्मबल बढेको अनुभव सुनाइन् । विभिन्न सीपमूलक तालिम, नेतृत्व विकास लगायतका तालिमहरु सञ्चालन गर्दै आएको यस पालिकाले महिला, दलित, निम्न वर्गहरुलाई लक्षित गर्दै हरेक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here