‘दर्पण छायाँपछि फेरि…’बाटै फर्किदैछन् कलाकार प्रधान

0
137

झापा , नेपाली चलचित्रका चर्चित कलाकार उत्तम प्रधानले ‘दर्पण छायाँपछि फेरि…’ नामक नेपाली चलचित्र निर्माण गर्ने भएका छन् ।
करिब अढाई दर्शक अघि दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन गरेको उक्त चलचित्रमा नायक उत्तम प्रधानको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए । दर्पण छायाँमा कलाकार प्रधान अन्धोको भूमिकामा देखिएका थिए ।
भारतको सिक्किम निवासी दर्पण छायाँका नायक प्रधानले दर्पण छायाँको सिक्वेल ल्याउन लागेका हुन् । ‘मलाई दर्पण छायाँले चिनायो,’ उनले भने, ‘दर्शकबाट पाएको त्यो मायालाई मैलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वले बनाउन लागेको छु ।’ कलाकार उत्तम प्रधानले बनाउन लागेको उक्त चलचित्रमा दर्पण छायाँका अधिकांश कलाकारसँगै केही नयाँको अभिनय रहने बताए ।
लामो समय नेपाली चलचित्र क्षेत्रबाट टाढै रहेका कलाकार प्रधान अहिले आफ्नो जन्मभूमि भारतको सिक्किम बस्दै आएका छन् । सिक्किममा बसेर पनि उनले नेपाली चलचित्रको विकासमा सहयोग गर्दै आएका छन् । ‘म नेपाली चलचित्रबाट टाढा छुइनँ,’ उनले भने, ‘मेरा दर्शकले सबै चिज (सम्मान) मलाई दिनु भएको छ । अब मैले दिने बेला आएको छ ।’
नेपाली चलचित्र उद्योगबाट हराएका कलाकार उत्तम प्रधान सिक्किम सरकारको चलचित्र विकास बोर्डको अध्यक्ष पनि भए । उनी सन् २०१४ देखि २०१९ सम्म अध्यक्ष बनेर नेपाली चलचित्रको क्षेत्रमा पुलको काम गरे । उनकै पालामा नेपाली चलचित्रको प्रवर्द्धन र प्रचारमा ठुलो योगदान पुगेको थियो । त्यस बेला नेपाली चलचित्रका कलाकारलाई सिक्किममा बोलाएर अवार्ड कार्यक्रमसमेत सम्पन्न गरेका थिए उनैले ।
कलाकार उत्तम प्रधान अहिले राजनीतिसँगै चलचित्र क्षेत्रमा सक्रिय छन् । यद्यपि चलचित्र क्षेत्रमा लामो समय पछि उनको सक्रियता बढेको हो । ‘नेपालमा चलचित्रमा अभिनय गरेर मलाई धेरै चिन्नु भयो,’ शुक्रवार काँकडभिट्टा आएका कलाकार प्रधानले भने, ‘नेपाली चलचित्र क्षेत्रले मलाई चिनाएको छ, दर्शकले धेरै माया दिनु भएको छ, आगामी दिनमा नेपाल फिल्मी उद्योगमै नयाँ−नयाँ फिल्म बनाएर अगाडि बढ्ने योजना बनाएको छु ।’
लहना, मलाई माफ गरिदेऊ, परे माया जालमा, बसाई, मितिनी लगायतका तीन दर्जन बढी नेपाली चलचित्रमा उनले अभिनय गरिसकेका छन् । तिनै कलाकार प्रधान एकाएक चलचित्र क्षेत्रमा फर्किएका हुन् । शुक्रवार काँकडभिट्टामा उनी श्रीमती सङ्गीता प्रधानसँगै आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here