अभिभावकको रोजाईमा सरस्वती आधारभूत विद्यालय

0
12

झापा।

बुद्धशान्ति गाउँपालिका वडा नम्वर –२ मा रहेको सरस्वती आधारभूत विद्यालय पालिकाकै नमूना विद्यालयका रुपमा स्थापित छ ।

यो विद्यालयमा नर्सरीदेखि आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न अब्बल साबित भएकै कारण यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ५ सय ८३ रहेको छ ।

जिल्लामा सञ्चालित कतिपय सामुदायिक विद्यालय विद्यार्थी अभावका कारण मर्जर समेत भएका छन् भने कतिपय विद्यालयमा विद्यार्थीको भर्नादर ज्यादै न्यून रहेको छ ।
त्यस्तै तल्लो कक्षामा विद्यार्थी भर्नादर राम्रै भए तापनि माथिल्लो कक्षामा निजी विद्यालय पठाउने परिपाटीका कारण अधिकांश सामुदायिक विद्यालयमा माथिल्लो कक्षामा विद्यार्थी संख्या न्यून हुने गरेको छ ।
तर, सरस्वती आधारभूत विद्यालयमा विद्यार्थी संख्या अधिक भएका कारण नर्सरीदेखि नै ग्रेडिङ गरेर अध्यापन हुँदै आएको विद्यालयका प्रधानाध्यापक लोकवहादुर माझी बताउँछन् । बाल कक्षालाई हामीले ग्रेडिङ गर्दै नर्सरी, एलकेजी, युकेजी बनाएका छौं – प्रधानाध्यापक माझीले भने – बाल कक्षामा नै झण्डै एक सय जनाको हाराहारीमा विद्यार्थी हुन्छन् । उनीहरुलाई तीन वटा सेक्सनमा ग्रेडिङ गरेर पढाउने गरेका छौं ।

विद्यालय भर्ना हुनासाथ शुरुमा हामी नर्सरी कक्षामा राख्छौं –प्रधानाध्यापक माझीले भने – विद्यालय नियमित आउने बानीको विकाससंँगै केही कुरा जान्ने भएपछि उनीहरुलाई क्रमशः एलकेजी, युकेजी गर्दै कक्षा एकमा पु¥याउँछौं । हाम्रो लक्ष्य भनेको विद्यालय आएका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु हो ।

विद्यार्थी संख्या उच्च छ तर हामी कहाँ भवन अभाव छ –प्रधानाध्यापक माझीले भने – अझ सुविधा सम्पन्न भवन र थप एउटा विद्यालय बस हुने हो भने विद्यार्थीको चाप हामी धान्न सक्दैनौं । वुद्धशान्ति गाउँपालिकामा निजी विद्यालयको संख्या पनि उत्तिकै छन् । तर, आधारभूत तह पठनपाठन हुने यो विद्यालयले निजी विद्यालयलाई हायल–कायल गराएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न अब्बल रहेको यो विद्यालयले निजी विद्यालयका विद्यार्थी समेत आकर्षित गर्दै पठनपाठन गराउँदै आएको छ ।

बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक झल्का अधिकारी भट्टराईले पनि यो विद्यालयमा राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने गरेकै कारण आफूले पनि यही विद्यालयमा आफ्ना नानीहरु पठन –पाठनका लागि पठाउने गरेको बताइन् । गाउँपालिकामा राम्रा सामुदायिक विद्यालय मध्येको पनि यो विद्यालय राम्रो छ उनले भनिन् – भौतिक संरचना अभावमा पनि यत्तिको शिक्षा प्रदान गर्नु आफैंमा राम्रो विषय हो । यो विद्यालयमा हाल एउटा स्कूल बस छ । जुन पर्याप्त नरहेको प्रधानाध्यापक माझीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here