तस्करी प्रकरण: अध्यक्षसहित दुई जना थुनामा

0
13

इलाम ।

दक्षिणी इलामको माई–८ स्थित शिवसतासी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

वन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हेमबहादुर थापा र समूहका कार्यालय सचिव केदारबहादुर भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । डिभिजन वन कार्यालय इलामले पक्राउ परेका वन समूहका पदाधिकारीसहित नौ जनाविरुद्ध गत भदौ १८ मा जिल्ला अदालत इलाममा मुद्दा दायर गरेको थियो ।

डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार जिल्ला अदालत इलामको गतभदौ २९को आदेश अनुसार माई नगरपालिका–८का वडा सदस्य राजकुमार राईसहित पाँचजना धरौटीमा रिहा भएका छन् । राई र शिवसतासी वन समूहका सदस्य बद्री थापा जनही दुई लाख धरौटीमा रिहा भएका हुन् ।

समूहकै सदस्य शेरबहादुर बुढाथोकीलाई ५० हजार धरौटीमा छाड्न आदेश अदालतले दिएको छ । यस्तै वन तस्करीमा संलग्न ट्याक्टर चालक पदमबहादुर तामाङ र आरा काट्ने सुमन राईलाई जनही १०÷१० हजार धरौटीमा थुना मुक्त गर्ने आदेश भएको छ ।

वन तस्करीका मुख्य योजनाकार भनिएका वन समूहका उपाध्यक्ष खेमकुमार बुढाथोकी र इलाम चुलाचुली–२का धनबहादुर राई भने फरार छन् । वन समूह भित्रको १७ वटा काँचा सखुवाका अनियमित रुपमा रुख काटेर विक्रि गरेको पाइएपछि डिभिजन वन कार्यालयले उक्त वन समूहका पदाधिकारी सहित नौ जनाबिरुद्ध जिल्ला अदालत इलाममा मुद्दा दायर गरेको थियो ।

समूहका पदाधिकारीको मिलेमतोमा समूहको एक हजार आठ सय ८७ क्युविक फिट काठ चिरान गरिएकोले १८ लाख ८७ हजारको विगो माग दावी गरिएको छ । दक्षिणी इलामको चुरे क्षेत्रमा रहेको शिवसतासी सामुदायिक वनका उपभोक्ता समूहका सदस्यहरु झापाको झिलझिले क्षेत्रका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here