इलाम २ मा शुरु भयो चुनावी चर्चा

0
15

भथीरथ भण्डारी,
इलाम।

इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्बाङको भदौ २६ गते निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त भएको छ ।

उनको निधन भएसँगै भित्रभित्रै शुरु भएको चुनावी राजनीति नेम्बाङको १३ दिने कामपछि खुलेरै हुन थालेको छ । जिल्लामा उपनिर्वाचन त तोकिसकेको छैन तर उपनिर्वाचन हुन्छ भनेर नेताको दौडधुप शुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेदवारहरुको आङ्कलन र चर्चा शुरु भएको छ ।

२०५६ सालदेखि नेम्बाङले निरन्तर जित हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २मा उनको निधनपछि उनका कान्छा छोरा सुहाङको चर्चा शुरु भएको छ । राजनीतिमा सक्रिय नभए पनि बाबुकै बिँडो थामेर अधिवक्ता बनेका सुहाङ उत्तराधिकारी बन्न सक्ने तर्क गर्न थालिएको छ । बुबाको निधनपछि उनले बुबाका सपना पूरा गर्न आफू जिम्मेवार बन्ने भन्दै इलाममा आएर पनि भाषण गरिसकेका छन् ।

बाबुको बिँडो थाम्नका लागि उत्तराधिकारी बनाइनुपर्ने विचारहरू व्यक्त भइरहँदा राजा फालेर ल्याएको लोकतन्त्र नेताको घरभित्रै चल्ने हो भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठ्न शुरु भएका छन् । सुहाङलाई बाबुको बाँकी रहेको कार्यभार पूरा गर्ने जिम्मेवारी दिएर जानेमा एमालेका केही नेता पोजेटिभ छन् भने केही नेताले जिल्लामा पहिलेदेखि गरेको दुःख चाहिँ हेर्नुपर्दैन भन्ने प्रश्न पनि गर्दैछन् ।

इलाममा सुवाङको चर्चा एमालेभित्र नेता नभएर होइन । बुबाको निधन पछि उनले देखाएको इच्छा र नेम्बाङको निधनले विक्षिप्त बनेको बेला सहानुभूतिमा उनको नाम ल्याएको पनि देखिन्छ । भोलि उनी मैदानमा आउँदैनन् भन्न पनि सकिँदैन । हुन त बाहिर खुलेर टिकटको लबिङमा नलागे पनि आकांक्षी भने आधा दर्जनभन्दा धेरै देखिन्छन् । विगतमा नेम्बाङ राष्ट्रपति बन्ने र उपनिर्वाचन हुने चर्चा हुँदै गर्दा पनि उम्मेदवार बन्न यहाँका केही नेताहरू आन्तरिक लबिङमा न लागेका होइनन् । अहिले पनि एमाले उपाध्यक्ष उदय राई, प्रदेश सदस्य गणेश बराल, युवा नेताहरू बुद्धि खनाल, उमेश गुरुङ र रवीन्द्र सुवेदीको चर्चा चलिरहेको छ । नेम्बाङको समकालीन भएको कारण डा. देवी क्षेत्री दुलाल पनि आकांक्षीमा छन् ।

यता नेपाली कांग्रेसबाट भने २०७९को निर्वाचनमा नेम्बाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित डम्बर खड्का नै पुनःउम्मेदवार बन्ने चर्चा छ । उनी पनि निर्विकल्प भने होइनन् । गतनिर्वाचनमा टिकट लिन प्रतिस्पर्धामा रहेका भेषराज आचार्य अहिले पनि अघि बढिरहेका छन् । नेम्बाङको निधन पछि कांगेस नेता केशव थापा पनि भित्र भित्रै लागिरहेका छन् भने बेनुप प्रसाई पनि टिकट पाए मैदानमा पछि नपर्ने सोचमा छन् । तर, उनी नेम्बाङको निधनले नेपालको राजनीति समन्वयमा समस्या निम्त्याउने भन्दै आफ्नो बच्चै देखिका साथीको निधन हुने बित्तिकै जिल्लामा नेता अत्तालिएको देख्दा उनी हाम्रा नेता के भएका हुन् भनेर चिन्ता व्यक्त गर्छन् । उनी चुनाव होला, चुनाव तोकिएला आफ्नो ठाउँमा छ तर घाउ आलो भइरहेको बेला यसरी राजनीति गर्नुले राजनीति नै बिगँ्रदो अवस्थामा जान थालेको बताउँछन् ।

माओवादीबाट अहिलेसम्म कसैको चर्चा शुरु भएको छैन । उम्मेदवारको इच्छा राखेका धिरेन शर्मा अगाडि सर्ने भए पनि गठबन्धनमा जाँदा उम्मेदवार माओवादीले पाउने–नपाउने टुङ्गो नभएकोले पनि अहिलेसम्म चर्चामा आउन नसककेको बुझिएको छ । धेरैजसो युवाको चाहनामा रवीन्द्र सुवेदीको नाम आउने गरेको छ । राजनीतिमा युवालाई प्राथमिकता दिनुपर्छ भन्दै गर्दा जिल्लामा नै रहेर विद्यार्थी नेतादेखि पार्टीको उपसचिव रहेका सुवेदीले टिकट पाए युवाको आकर्षणका कारण उनको चर्चा चलिरहेको छ ।

नेम्बाङको निधनपछि इलाम–२ खाली भएसँगै झलनाथ खनाल पनि आन्तरिक कसरतमा लागेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालबीचमा फाटो शुरु हुन थालेसँगै खनाल एमालेमा आएर उम्मेदवार बन्ने चर्चा छ । कोशी प्रदेश सरकार एमालेको बनाउन सहयोग गर्ने र इलाम २मा आफू उम्मेदवार बन्ने खेलको पनि चर्चा भइरहेको छ । इलाम निर्वाचन क्षेत्र नै १ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग हारेका खनाल अहिले एमालेसँगै मिलेर २ नं. मा आउने चर्चामा छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर को आउँछ भन्नेमा ठूला दलहरू पनि चनाखो बनिरहेका छन् । पछिल्लो समयमा स्वतन्त्र पार्टीले निकै चर्चा पाइरहेको अवस्थामा रास्वपाको उम्मेदवारले आङ्कलन परिवर्तन गराउनेमा ठूलो दलमा चिन्ता छ । उपनिर्वाचनमा रास्वपाबाट महेन्द्र थापाको चर्चा शुरु भएको छ । पार्टीले आवश्यक ठानेर टिकट दिएमा आफू उम्मेदवार बन्ने सङ्केत पनि उनले गरिसकेको बुझिएको छ ।

लामो समयदेखि एमालेका उम्मेदवार बिजयी बनेको यो क्षेत्रमा अब के हुन्छ ? भन्ने आँकलननै गर्न गाह्रो छ । इलामको कर्णाली भनेर उपनाम पाइसकेको क्षेत्र यसै निर्वाचन क्षेत्रमा पर्दछ । एमाले र कांग्रेसमा उम्मेदवारको दावी गर्ने नेताको प्रतिस्पर्धा नहुँदा टिकट नपाएको रिस साँध्नेसम्मको खेल हुने यसअघिका निर्वाचनको नतिजाले देखाएको छ । सुवास नेम्बाङ सर्वसम्मत उम्मेदवार भएको कारण अहिलेसम्म एमालेमा सहज भएको उक्त क्षेत्रमा पार्टी विभाजन हुँदा पनि उनकै कारण एमालेमा कम असर परेको थियो । अबको निर्वाचनमा एमालेमा पहिले जस्तो सहज हुने देखिँदैन ।

यता कांग्रसमा पनि गुटको कारण टिकट कसले पाउँछ र अर्को गुटको खेल के हुन्छ भन्ने टुङ्गो हुँदैन । पार्टीलाई जिताउने भन्दा पनि व्यक्ति हराउनेमा कांगेस लाग्ने गरेको गतनिर्वाचनबाट प्रष्ट देखिन्छ । त्यसकारण अब इलाम २मा उपनिर्वाचन हुँदा कसले बाजी मार्ला भन्ने आँकलन गर्न समेत गाह्रो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here