पाथीभरा मन्दिरको ८९ लाख गायव

0
9

इलाम ।

इलामको रोङ गाउँपालिकास्थित सानो पाथीभरा मन्दिरको विषयमा गठित छानविन समितिले दुई सातापछि प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय इलाममा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदनमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ बराबरको हिसाव नदेखिएको उल्लेख छ । त्यस्तै १७ लाख ६६ हजार ९ सय ९ रुपैयाँ बैंक मौज्दातमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले आर्थिक वर्ष ०७५/०७६देखि ०७९ माघ मसान्तसम्म मन्दिरको आम्दानी ३ करोड १४ लाख ६२ हजार नौ २९ रुपैयाँमध्ये दुई करोड २० लाख ९१ हजार दुई ४२ रुपैयाँ मात्र खर्च देखिएको जनाएको छ ।

प्रतिवेदनमा आव ०७५/०७६मा ८६ लाख ६ हजार ६ सय ६४, ०७६/०७७मा ७१ लाख ४३ हजार ३ सय ४५, ०७७/०७८मा ४२ लाख ३ हजार ५ सय ३४, ०७८/०७९मा ८२ लाख १ हजार ७ सय ७३ र ०७९ माघसम्म ३३ लाख ७ हजार ६ सय १२ रुपैयाँ आम्दानी भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै खर्चतर्फ आव ०७५/०७६ मा ९१ लाख ९१ हजार १ सय ९५, ०७६/०७७ मा ५० लाख २५ हजार ७ सय ७०, ०७७/०७८ मा ३६ लाख ५० हजार ६ सय २२, ०७८/०७९मा २८ लाख १३ हजार ७ सय ७८ र ०७९ माघसम्म १८ लाख ९ हजार ८ सय ७७ रुपैयाँ देखिएको प्रतिवेदनमा उल्लेख छ । प्राप्त कागजातका आधारमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग मौज्दात देखिए पनि त्यो रकम कहाँ छ भन्ने पत्ता लाग्न नसकेको छानबिन समितिको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गत ३१ भदौमा प्रजिअलाई प्रतिवेदन बुझाएको थियो । तर, प्रजिअले अध्ययनका लागि भन्दै तत्काल प्रतिवेदन सार्वजनिक नगर्ने बताएपछि गाउँपालिकाले ४ असोजमा पत्रकार सम्मेलन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । सो अध्ययन प्रतिवेदनमा उल्लेखित विवरण र छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनको विवरणमा एकरुपता देखिएको छ ।

छानबिन समितिमा रोङ गाउँपालिकाको तर्फबाट प्रतिनिधिका रुपमा चार्टर एकाउन्टेन्ट प्रज्ज्वल अधिकारी सदस्य थिए । गाउँपालिकाको अध्ययन प्रतिवेदन समेत उनै अधिकारीले तयार गरेका थिए । त्यसैले दुवै प्रतिवेदनमा भाषिक भिन्नता भए पनि आम्दानी र खर्चको विवरणमा एकरुपता छ ।

पाथीभरा मन्दिरमा भेटी हिनामिना भएको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले गत २३ जेठमा सहायक प्रजिअ कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको सानो पाथीभरा मन्दिरको नामले चिनिएको मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी गत १ फागुनदेखि गाउँपालिकाले लिएको छ ।

पुरानो समितिले बिगत ५ वर्षमा ३ करोड मात्र भेटी संकलन गरेको देखिएको छ । पालिकाको मातहतमा आएपछि फागुन यता मात्र १ करोड ६ लाखभन्दा धेरै भेटी संकलन भएको रोङ गाउँपालिकाले जनाएको छ ।

कारवाही गर्ने प्रजिअको प्रतिवद्धता

यता प्रजिअ पोख्रेलले पाथीभरा संरक्षण संस्थालाई कानूनी कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । ‘अब हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसँग छलफल र परामर्श गर्छौं’– प्रजिअ पोख्रेलले पत्रकारहरुसँग भने– ‘संस्था तथा संस्थाका पदाधिकारी र सदस्यहरुलाई कानून बमोजिम कारवाही गर्छौं ।’

प्रजिअ पोख्रेलले कहिलेसम्म कारवाही गर्ने भन्ने यकिन गर्न भने नसकिने बताए । उनले तालुकदार निकायसँगको छलफल र परामर्शका आधारमा कानूनी कारवाही गर्ने बताउँदै समयको भने यकिन गर्न नसकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here