चिया समृद्धिको आधार

0
11

नेपालमा चिया रोपण शुरु भएको डेढ सय वर्षभन्दा बढी भएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणका क्रममा उपहार पाएको चियाको बिरुवा नै नेपालको पहिलो चियाको बिरुवा मानिन्छ । प्रधानमन्त्री जंगबहादुरले उक्त बिरुवा इलामका वडाहाकिम गजराजसिंह थापालाई हस्तान्तरण गरेका थिए । थापाले उक्त बिरुवा इलामका डाँडाहरुमा रोपण गराए । त्यही क्रम बढ्दै गएर आज चियाखेती नेपालको राष्ट्रिय आयको एउटा भरपर्दो आधार बनिएको छ । इलामबाट शुरु भएको चियााखेती क्रमशः झापा लगायत देशका धेरै जिल्लाहरुमा विस्तार भइसकेको छ भने त्यसको निर्यातबाट साना किसानदेखि उद्योगीहरु समेत उत्साहित भएका छन् ।

वि.सं. २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्र घोषणा गरेपछि यसले व्यवसायिक रुप लियो । किसानका बाँझा खेत, डाँडापाखा चियाका बोटले ढाकिन थाले । चियापत्ती बेचेर आयआर्जन पनि गर्न थाले । त्यही क्रम बढ्दै जाँदा चिया प्रशोधन कारखानाहरुको स्थापना हुँदै गए र किसान नै त्यसका मालिक पनि भए । यसरी उत्पादन भएको चियाले विश्व बजारलाई आकर्षित गर्न सफल भएको छ । परिणाममा चिया नेपालको निर्यातजन्य कृषि उपजको महत्वपूर्ण हिस्सा बनिएको छ । नगदेबालीका रुपमा स्थापित चियाको खेती अहिले २७ हजार छ सय ८८ हेक्टर मा भइरहेको छ । बर्सेनि वृद्धि भइरहेको क्षेत्रफलसँगै भइरहेको निर्यात र आर्जित विदेशी मुद्रा देशको अर्थतन्त्रको बलियो हिस्सा बनिएको छ ।

नेपालको चियाको अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको छ । जसका कारण अर्थोडक्स चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेको छ । उत्पादित चियामध्ये साठी प्रतिशत सीटीसी नेपालमै खपत हुन्छ भने अर्थोडक्स चिया नब्बे प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ । नेपालको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ललितपुर, कास्की, लमजुङ लगायतका पहाडी जिल्लामा समेत विस्तार भएको चिया खेतीलाई अग्र्यानिक तथा गुणस्तरीय बनाउन सके किसानसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन सकिन्छ । झण्डै साठी हजार मानिसलाई रोजगारीको अवसर दिएको चिया खेती, उत्पादन, बजारीकरण, प्रविधि, उपचार तथा निर्यातमा विद्यमान समस्याहरुको समाधानमा राज्यका तर्फबाट आवश्यक सहयोग हुने हो भने यसबाट अझै बढी लाभ लिन सकिन्छ । समृद्धिको मुख्य आधारका रुपमा रहेको चिया रोपण, विस्तार र प्रवद्र्धनमा योगदान दिने सबैको अथक प्रयासले राष्ट्रको पहिचान बन्न सफल चिया खेती र उत्पादन राष्ट्रको समृद्धिको आधार बन्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here