नेतृत्व गणले आत्मआलोचना गरुन्

१५ मंसिर २०८०, शुक्रबार मा प्रकाशित

देशमा राजनीतिक प्रणाली परिवर्तन भएको डेढ दशक भइसक्यो । यसबीचमा निर्माण भएको संविधानको कार्यान्वयन गर्दै दुई–दुई वटा आम निर्वाचन पनि सम्पन्न भइसके । नयाँ सृजना गर्ने जोश र उमँगले परिवर्तनको आन्दोलनमा होमिएका आमनागरिक त्यसले दिन नसकेको उपलब्धी र नेताहरुको स्वार्थपूर्ण अभिव्यक्ति र व्यवहारले वाक्क–दिक्क भइसकेका छन् । जसको परिणाममा कांग्रेस, कम्प्युनिष्ट नामका दलहरु र तिनका नेताहरुको विकल्प सोच्न र खोज्न थालेका उदाहरण प्रकट भइरहेका छन् । उनीहरुको व्यक्तिगत, दलगत स्वार्थ, व्यवहार र अमर्यादित अभिव्यक्तिका बिरुद्ध जनआक्रोश बढ्दै गएको छ र आमजनता राज्य, सरकार र राजनीतिक दलसँग निराश हुँदै गएका छन् ।

आमजनताको यस्तो गुनासो वा निराशा कुनै क्षेत्र वा भूगोलको मात्र होइन । हिमालदेखि तराई र मेचीदेखि महाकाली जहाँकहीँको नागरिक हुन् त्यहाँका बासिन्दाको एउटै निष्कर्ष छ र एउटै बोली छ कि देश बर्वाद भयो, नेताहरुमा इमान–जमान हरायो । राजनीतिक दलका कार्यकर्तालाई छाडेर हेर्दा आमजनताको धारणा र भनाइमा भिन्नता छैन । यसले नेतृत्वप्रतिको आशा मरेको, विश्वास टुटेको, आस्था हराएको र आक्रोश चुलिएको देखाउँछ । संविधान जारी भएपछिका निर्वाचन परिणामले पनि पुराना दलहरुप्रति जनविश्वास क्रमशः कम हुँदै गएको देखिएकै छ । त्यही निराशाको परिणामले नयाँ दलहरुको उदय हुन पुगेको भन्न धक मान्नै पर्दैन ।

नेतृत्व गणकै अकर्मण्यता, गैरजिम्मेवारपन र देश र जनताप्रतिको उपेक्षाको कारण लाखौं युवा विदेशिएका छन् । भएकाहरुमा पनि सरकार र राजनीतिक दलप्रति भरोसा कम हुँदै गएको छ । व्यवसायी व्यवसायबाट पलायन भइरहेका छन् । नयाँ पुस्ता न व्यवस्थाप्रति आकर्षित छ न त पुराना दल र नेतृत्वप्रति । यसो हुनुका पछि ठूला दलका नेताहरुले विगतमा छरेका आश्वासनका बीऊ र सार्वजनिक गरेका प्रतिबद्धतापत्रको उपेक्षा नै हो । ती चाहे कांग्रेसका हुन् वा एमाले अथवा माओवादी नामका राजनीतिक दलहरु नै किन नहुन्, सबै क्रमशः हुर्किएको महँगी, वेरोजगारी र आर्थिक असुरक्षाका लागि जिम्मेवार छन् । देशमा व्याप्त कुशासन, बेथिति, भ्रष्टाचारका प्रति सबै दल एकअर्कालाई दोषी देखाएर आफू पानी माथिका ओभानो हुन चाहन्छन् । नेतृत्व वर्गको भाषण र अभिव्यक्ति अमर्यादित, अशिष्ट, कुसंस्कारी र दुराग्रहीपूर्ण छन् । एकअर्कालाई सत्तोसराप गर्नुलाई आफ्नो श्रेष्ठता ठान्ने उनीहरुको मानसिकताले जनतामा निराशा बढाएको हो । तर, उनीहरु आत्मसमीक्षा गर्न र आत्मआलोचना गर्न इच्छुक छैनन् । यो अवस्थाले देशलाई अँध्यारोको यात्रामा हिँडाउने र जनताको दुर्गति अझै बढ्ने भएकाले उनीहरुले सच्चिनु पर्दछ । अन्यथा यो यात्राले अनिष्ट निम्त्याउने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here