सुरुङ्गा।

कनकाई नगरपालिका-२ की ब्लड क्यान्सर पीडित ५ वर्षीय मञ्जिला भुजेललाई आर्थिक सहयोग जुटाउन साङ्गीतिक कार्यक्रम हुने भएको छ । बुधबार पत्रकार भेटघाटको आयोजना गरी साङ्गीतिक कार्यक्रम सम्बन्धमा जानकारी दिइयो ।
अनुप्रस्थ फाउन्डेसन काठमाडौंको आयोजना र कन्काई मावि, कनकाई उद्योग वाणिज्य सङ्घ, ग्लोबल एडुकेयर एकाडेमी र शुरुवाती कोठा नेपालको सहआयोजनामा हुने कार्यक्रममा अनुप्रस्थ ब्याण्ड, नामग्याल लामा ब्याण्ड, विश्वास उप्रेती ब्याण्डको प्रस्तुति रहनेछ भने भक्त विक, राजेश बस्नेत, अस्रफ डान्स सेन्टर लगायतका स्थानीय प्रस्तुति पनि रहने अनुप्रस्थ फाउन्डेसनका प्रतिनिधि एवम् कार्यक्रम संयोजक निश्चल खतिवडाले जानकारी दिए ।
महेन्द्र र चन्द्रकला भुजेलकी छोरी मञ्जिलाको उपचारका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । कन्काई माविको खेलमैदानमा आगामी मंसिर २३ गते शनिबार दिउँसो ३:०० बजेदेखि हुने कन्सर्टमा प्रवेश शुल्क १ सय, २ सय र ५ सय राखिएको छ । शोबाट खर्च कटाएर २ लाख रुपैयाँ बचत गर्ने बताइएको छ ।
स्थानीय ग्लोबल एडुकेयर एकाडेमीमा एलकेजीमा अध्ययनरत मञ्जिलाको विगत अढाई महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उनको पहिलो र दोस्रो चरणको उपचार सकिएको, तेस्रो र चौथो चरणको उपचार गर्नुपर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पत्रकार भेटघाटमा कन्काई माविका प्रअ कर्णबहादुर डाँगी, कनकाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष तुलसी बिमली, ग्लोबल एडुकेयरका प्रिन्सिपल विमान लामा, शुरुवाती कोठा नेपालका प्रतिनिधि दीपक दास लगायतले मृत्युशैयामा पुगेकालाई सहयोग जुटाएर बचाएको सुरुङ्गाको इतिहास भएकाले मञ्जिलाको जीवन बचाउन सहयोगका लागि जनप्रतिनिधि, बैंक, सहकारी, क्याम्पस, विद्यालय, व्यापारी, व्यवसायी, समाजसेवी लगायतसँग अपिल गरेका थिए ।































