सद्भाव बलियो होस्

२० मंसिर २०८०, बुधबार मा प्रकाशित

खुल्ला सीमाना सुरक्षा, अपराध, तस्करी लगायत हाम्रा साझा समस्या हुन् । दुई ठूला देश भारत र चीनसँग खुल्ला सीमानालाई साझा स्तम्भहरुले छुट्याएका छन् । तीनतिरबाट भारतसँग जोडिएको दुई देशबीच एक हजार ८८० किलोमिटर र चीनसँग एक हजार ४१५ किलोमिटर क्षेत्र पर्दछ । उक्त क्षेत्रभित्रका स्तम्भहरुको संरक्षण र अपराध नियन्त्रण सधैँ चुनौतीपूर्ण रहेको छ । यस्तो अवस्थामा सीमा रक्षाको दायित्व बोकेको सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायलाई बलियो बनाउनु वर्तमानको आवश्यकता नै हो ।

भारतसँग २७ वटा जिल्लाको सीमाना जोडिएको छ । ती जिल्लामा कूल आठ हजार ५५३ वटा स्तम्भ छन् । जीर्ण बनेका स्तम्भहरुको मर्मतसम्भार नगरिँदा हाम्रो भू–भाग मिचिने गरेको छ । यस्तो अवस्थामा सशस्त्र प्रहरीले भारतसँग सीमाना जोडिएका क्षेत्रमा रहेका स्तम्भहरुको मर्मत भारतीय सीमा सुरक्षा बल र नेपालको सशस्त्र प्रहरीले गर्न थालेका छन् । यसअघि कमजोर देखिएका मधेश प्रदेशका जीर्ण स्तम्भहरुको मर्मत गरिएको थियो । कोशी प्रदेशका कमजोर चार सय ८४ वटा स्तम्भहरुको मर्मतको शुभारम्भ झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट गरिएको छ । सशस्त्र प्रहरीले बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत, सम्भार र रंगरोगन गर्न थालेको छ भने जोर नम्बरका स्तम्भहरुको मर्मत भारतको सीमा सुरक्षा बल एसएसबीले गर्नेछ ।

रेखाङ्कित जोर र बिजोर नम्बरका स्तम्भहरु सीमा सुरक्षाको जिम्मा पाएका दुबै देशका सुरक्षा निकायलाई प्राप्त भए अनुसार मर्मत कार्य थालिएको सशस्त्र प्रहरीको कोशी प्रदेश मुख्यालय प्रमुख डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिएका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेश बाँस्तोला, सशस्त्रका डीआइजी पोखरेल र एसएसबीका नवीनकुमार रायले स्तम्भ नम्बर ९१÷१ को रंगरोगन गर्दै मर्मत कार्यको शुभारम्भ गरेका थिए । सीमा स्तम्भको मर्मत गर्ने जिम्मा तीन वर्षअघि सशस्त्र प्रहरीलाई दिने निर्णय भए अनुसार स्तम्भहरुको मर्मत भइरहेको छ । स्तम्भहरुको सुरक्षामा चुनौती रहेकै कारण समय–समयमा सीमा विवाद हुने गरेको छ । सीमाना क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न पनि दुबै देशका सुरक्षा निकायलाई समस्या हुने गरेको अवस्थामा शुरु भएको यो सहमति र सहकार्यले अपराध नियन्त्रण गर्न समेत सहज हुने अपेक्षा गरिएको छ । नेपाल र भारतका बीचको सदीयौं पुरानो सम्बन्धलाई अझ बलियो बनाउन आपसी असमझदारी हटाउनैपर्छ । त्यसैले अरुलाई चोर लगाउनुभन्दा आफ्नो थैलीको मुख बलियो गरी बाँध्न सीमा स्तम्भको मर्मत प्रभावकारी उपाय हुन सक्छ । यसक्रममा विवादहरु टुङ्गियुन र आपसी सद्भाव पनि बलियो होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here