महिला हिंसामा कमी आएन

0
5

अहिले देशभर लैङ्गिक हिंसाबिरुद्घको १६ दिने अभियान चलिरहेको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म यो अभियान सञ्चालन हुँदै आएको छ । अभियानमा हरेक वर्ष अलग–अलग नारा तय गरिन्छ । यस वर्ष अभियानको नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्घता’ रहेको छ ।
सार्वजनिक वा नीजि जीवनमा, लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य पनि लैङ्गिक हिंसा हो । महिलाहरूलाई उनीहरूको अधिकार र स्वतन्त्रताको उपयोगबाट वञ्चित गर्नु, यौनशोषण मात्र नभएर महिलाबिरुद्ध हुने सामाजिक, सांस्कृतिक, शारीरिक, आर्थिक, यौनजन्य, राजनीतिक, मानसिक लगायतका विविध विभेद नै समग्रमा लैङ्गिक हिंसा ठहर्ने रहेछ भनेर बुझ्दा पनि हुन्छ । सामाजिकीकरण, न्याय व्यवस्था र सामाजिक संरचना पनि महिला हिंसाको प्रमुख कारण हो भन्न सकिन्छ ।

सन्दर्भः लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

सन् १९६० मा डोमिनिकन गणतन्त्रका एउटै परिवारका तीन दिदीबहिनीको त्यहाँको तानाशाही सरकारले हत्या गरेको सन्दर्भसँग यो अभियान जोडिएको जानकारहरु बताउँछन् । सन् १९९९ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाबिरुद्घको दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई राष्ट्र संघले स्वीकार गर्दै डिसेम्बर १७ मा पारित भएको थियो । नेपालमा पनि १६ दिने अभियान मनाउन थालिएपछि विविध कार्यक्रम गरिन्छ । कतै अन्तरक्रिया त कतै छलफल अनि कतै जनचेतनामूलक ¥याली त कतै गोष्ठी र बैठक अनि प्रभात फेरी गरेर । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाबिरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन शुरु गरिएको हो ।

यस्ता कार्यक्रमहरु गरिरहँदा र २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मलाई महिलामाथि हुने हिंसाबिरुद्घको दिवसको रुपमा मनाइरहँदा नेपाली महिला कहिले बोक्सीको आरोप त कहिले दाइजो नल्याएको, बहुविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाबाट पीडित बन्ने क्रम भने रोकिएको छैन । लैङ्गिकताको दृष्टिले हेर्ने हो भने बोक्सी प्रायः महिलालाई नै लगाइन्छ, बोक्सी भनेर आरोप । यो शक्ति सम्बन्धकै कारणले हो, शक्तिवानले जसको शक्ति छ उसले शक्तिविहीन मान्छेमा लगाउने लाञ्छना हो बोक्सी ।

नेपालमा महिला हिंसा सम्बन्धमा थुप्रै नियम कानूनहरू बनेका छन् । कुनै कार्यान्वयन भएर लागू भएका छन् भने कुनै कार्यान्वयन हुनै बाँँकी छ । महिला हिंसा रोक्नलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसहरू चलाइएका छन् । नेपालमा घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ जारी भए पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । अन्य देशको तुलनामा नेपालका महिला कुनै न कुनै विषयामा घरेलु हिंसामा बढी पीडित बन्ने गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाले जारी गरेको प्रतिबेदनमा नेपालमा मात्र ८० प्रतिशत महिला घरेलु हिंसाका शिकार भएका छन् ।

भारत, श्रीलंका जापान गरी विश्वका ८० वटाभन्दा बढी मुलुकमा घरेलु हिंसाबिरुद्घको छुट्टै विशेष कानून बनेको छ । तर, नेपालमा कानून बने पनि मजबुतरुपमा कार्यान्वयन नहुँदा यस्ता घटना बढिरहन्छन् । कानून कार्यान्वयनको पक्ष कमजोर र फितलो हँुदा यो समस्या ज्यूँका त्यू छ । यसकारण कानून बनाएर मात्र हुँदैन यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्छ अनि कानूनसँगै जनचेतना पनि फैलाउन आवश्यक छ । नेपालको संविधानले व्यवस्था गरे अनुसारको समावेशीकरणले नेपाली महिलालाई राष्ट्रका सम्मानित, मर्यादित र निर्णायक तहको जिम्मेवारीमा त पु¥यायो तर उनीहरु माथि हुने हिंसा भने कम भएन, कहाँनिर हाम्रो मेकानिजम कमजोर भयो यो खोज्न जरुरी छ ।

घरेलु हिंसा सम्बन्धी ऐनमा घरेलु हिंसा भएमा स्थानीय तह, महिला आयोग, प्रहरी कार्यालय र सोझै अदालत गरी चार ठाउँमा उजुरी गर्न पाउने व्यवस्था छ । तर, अधिकांश महिलाहरुको पहुँच त्यहाँसम्म पुगेको छैन् । देशमा महिला माथि हुने विभिन्नखाले हिंसाका घटना दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ । यस्ता अभियान वर्षेपिच्छे मनाइरहे पनि प्रतिफल भने अपेक्षा अनुसार प्राप्त हुन सकेको छैन । लैंङ्गिक तथा सामाजिक असमानता र गरिबीले महिला बेचबिखन हुने गरेका छन् । सामाजिक लैंङ्गिक असमानता, महिलालाई अवसरमा कमी, पारिवारिक दबाब, सन्तानको शिक्षा, सामाजिक असमानता, उन्नत जीवनको खोजी, अधिकारमुखी कार्यक्रमको प्रभाव जस्ता कारण दलाल मार्फत अबैधरुपमा भारत तथा खाडी मुलुकमा पुग्ने गरेका घटना पनि यहाँ ताजै छ । यसमा स्वयम् महिलाहरु पनि सचेत हुन आवश्यक छ ।
समग्रमा हिंसाका घटना पुरुषमाथि बढी हुन्छन् । कुटपिट र हत्या जस्ता जघन्य हिंसाका शिकार भएका व्यक्तिहरुको विश्वभरिको तथ्यांक हेर्ने हो भने मारिीेमा पुरुष नै धेरै छन् । तर, लिङ्गकै आधारमा संरचनागत हिंसा वा विभेदका शिकार बढी महिला हुन्छन् । अधिकांश घरेलु हिंसा मादकपदार्थकै कारण हुने गरेको छ । यस बाहेक वैदेशिक रोजगार, अपरिपक्क प्रेम सम्बन्ध, गरीब, बहुविवाह, व्यक्तिगत चरित्र, मादक पदार्थ सेवन गरी हुने झैं–झगडा, धाकधम्की यातना नै हिंसाका कारण बन्ने गरेको प्रतिवेदन पनि सार्वजनिक भएको छ ।

हुन त यो मुलुकमा महिला पनि पुरुषमाथि हिंसा गर्नमा कम छैनन् । वषौंवर्षसम्म श्रीमान विदेशमा घामपानी जाडो गर्मी नभनि आफ्ना परिवार सम्झेर कमाउने यता श्रीमती श्रीमानले त्यसरी कमाएको सम्पति लिएर अर्कैसँग हिँड्ने घटना पनि हाम्रो समाजमा बाक्लै छन् । उता श्रीमान परदेशमा भएका बखत स–साना बालबच्चा हुर्काएर जेनतेन गुजरा चलाउँदै आए पनि नेपाली समाजमा भारतबाट फर्केका पतिले उपहारका रुपमा ल्याइदिएको एचआइभी एड्स संक्रमित स्वीकार्ने हजारौं श्रीमती पनि नभएका पनि होइनन् ।

श्रीमानले विदेशमा कमाएको सम्पत्ति लिएर टाप कस्ने महिला अनि श्रीमतीलाई उपहारका रुपमा एचआइभी एड्स संक्रमित लिएर आउने श्रीमान यी दुबै सचेत नहुने र यिनीहरुमा चेतना नआए कानून र दिवसको कुनै अर्थ रहँदैन । भनिन्छ, बालबालिका तथा महिलाको पहिलो सुरक्षित स्थान घर र विद्यालय हो । तर, पछिल्लो पटक उनीहरुका लागि घर र विद्यायालय नै असुक्षित स्थान बन्र्दै आएका छन् । यतिखेर सपाङ महिला मात्र होइन अपाङ्ग र सुस्त अनि शारीरिक र मानसिक रुपमा अशक्त महिलामाथि समेत यौनहिंसाका घटना दैनिक बढिरहेको छ । सामुहिक प्रयासबाट महिला तथा बालबालिका हिंसा कम हुने धारणा महिला अधिकारका क्षेत्रमा काम गर्दे आएका अगुवाहरुको छ । यसका लागि एकल प्रयास नभई संयुक्तरुपमा कार्यक्रम लैजानुपर्छ । समाजलाई चलायमान बनाउँदै लैङ्गिकहिँसामा परेका महिलाहरुलाई उचित राहतको व्यवस्था तथा राहत व्यबस्थापन गरे यस्ता घटनमा कम हुँदै जाने छन् ।

आज एउटी छोरी आफ्नै बाबुबाट बलात्कार भएकी छ, दाजुबाट बहिनी अनि आफैले पढाएकी छात्रालाई शिक्षकले बलात्कार गरेका घटनाहरु प्रशस्तै छन् । यसकारण महिला या पुरुषमाथि हुने जस्तासुकै हिंसाका घटना हुन त्यसको अन्त्य गर्न प्रत्येक घर घरबाट शुरु गर्नुपर्छ । अझै पनि हाम्रो नेपाली समाजमा छोरो मान्छे कसैलाई पनि नभनी एक÷दुई महिना बाहिरै हिँड्यो र पछि घर फर्केर आए ऊ प्रति कसैले औला ठड्याउने कोशिस गर्दैन तर, छोरी मान्छे त्यसरी नै कसैलाई पनि नभनी सुटुक्कै घरबाट निस्केर आफन्त कहाँ बसेर एक÷दुई दिन पछि आई भने ऊ प्रति शंका–उपशंका हुन्छ, अनेक प्रकारका लाञ्छना शुरु हुन्छन् । वैदेशिक रोजगारीमा जाने कैयौं नेपाली महिला दिनहँु साउदी अरब र कुवेतमा रोजगारदाता र उनका आफन्त पुरुषबाट लुटिएका घटना छन् । कतिपय काखमा बच्चा लिएर स्वदेश फर्किन्छन् । अब भनौं त्यस्ता महिला उनीहरुका घरपरिवार समाजबाट कतिको स्वीकारिएका छन् ।

यसले पनि समाजमा महिला र पुरुषबीचको विभेदलाई प्रष्ट पार्छ । सबैभन्दा समाजले महिला तथा पुरुषलाई हेर्ने यो सोच, हेराई र दृष्टिकोणमा अभियानले परिवर्तन ल्याउन सक्नुपर्छ । हाम्रो जस्तो पितृसत्तात्मक यो मुलुकमा महिलालाई हेर्ने दृष्टिकोण र महिलामाथि गरिने व्यवहार नै भेदभावपूर्ण रहेको छ । छोरी भएकै आधारमा गर्भपतन गर्ने जस्ता क्रिया कलापले गर्दा जन्मनु अघि नै शुरु हुन्छ र उसको हुर्कने क्रम, पहिरनको छनोट, पढाई, विवाह, करियर छनौट, कार्यस्थलमा हुने भेदभाव, सडकमा हुने बलात्कार, परिवारको वंश धानी दिने दबाबमा शरीर जोखिममा पारेर गर्भकी छोरी पतन गर्नुसम्मका क्रियाकलापले गर्दा मृत्युपर्यन्त जारी रहन्छ । पितृसत्तात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोण र महिलामाथि गरिने व्यवहार नै भेदभावपूर्ण हुने दाबी महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाले गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here