पर्यटकको प्रतिक्षामा गुफाडाँडा

0
10

प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश नेपालमा अझै कति ठाउँहरु छन् । जसको पहिचान नै हुन सकेका छैनन् । त्यसमा पनि पूर्वी पहाडी जिल्ला इलाममा त्यस्ता धेरै गन्तव्य हुन सक्छन् । जसको पहिचान र प्रवद्र्धन गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटनका माध्यमबाट आर्थिक गतिविधि पनि विस्तार गर्न सकिन्छ । कृषिको माध्यमबाट देशमै सुपरिचित इलाम जिल्ला पछिल्लो समय पर्यटनका माध्यमबाट पनि बेग्लै परिचय बनाइसकेको छ । इलामको श्रीअन्तु, कन्याम, सन्दकपुरका आ–आफ्नै विशेषता छन् । जसले दिनहुँ हजारौं आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याइरहेको छ भने आर्थिक गतिविधिलाई पनि चलायमान गराइरहेको छ ।

अम्सिलो, अदुवा, ओलन, आलु र अलैंचीको जिल्ला भनिने इलामको श्रीअन्तु सूर्योदय हेर्नकै लागि विकास भएको ठाउँ हो । यद्यपि सूर्योदयको दृष्य देखिने अन्य ठाउँहरु पनि छन् । जसको प्रवद्र्धन गर्न सकिए सुस्त बनेको आर्थिक क्षेत्रलाई टेवा दिन सकिन्छ । त्यस्ता पर्यटकीय गन्तव्य बन्न सक्ने अन्य स्थलहरुको पहिचान गर्दै आवश्यक प्रचार–प्रसार गर्न सकिए रोजगारीको सृजना हुनसक्ने र पर्यटनजन्य व्यवसाय पनि सञ्चालन गर्न सहज हुने थियो । इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ३ को चैते नामक ठाउँमा रहेको गुफाडाँडा मेची राजमार्गबाट एक किलोमिटरको दूरीमा पर्दछ । अति सुन्दर रमणीय स्थल गुफाडाँडाबाट सूर्योदयसँगै सूर्यास्तको दृष्य पनि त्यत्तिकै मनमोहक रहेको जानकारहरुले बताएका छन् ।

तराईका शहरबजारहरु दमक, उर्लाबारी, इलामको रबि, तेह्रथुम प्रष्ट देखिने गुफाडाँडाबाट सूर्यास्तको पहेंलो सूर्यको किरणले राँके, पौवा भन्ज्याङमाथिका डाँडा लगायतका क्षेत्र धपक्क बल्छ । सुनुवार जातिको मुख्य बसोबास रहेको चैतेका बासिन्दाको संस्कार, संस्कृतिको अध्ययन गर्ने अध्येताका लागि समेत गन्तव्य बनेको उक्त स्थल अहिले प्रचार–प्रसारको प्रतिक्षामा रहेको छ । सनातनी, प्रकृति पूजक उक्त जातिको आफ्नै भाषा र संस्कृति रहेको छ । कृषि कर्मलाई आफ्नो जीवन पद्धति बनाएका चैतेका बासिन्दासँगै त्यस ठाउँको विकासमा स्थानीय, प्रदेश र संघ सरकारको सहयोग पर्यटकलाई आकर्षित गर्न सक्नेछ । प्रकृतिको विशिष्ट उपस्थिति रहेको चैते र चैते जस्ता अन्य स्थानहरु पर्यटकको नजरमा पर्न सके देशको आर्थिक विकासमा समेत सहयोग पुग्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here