इतिहासको गौरबलाई जोगाऔं

0
8

नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा गरेका छन् । सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा महाअभियानको घोषणा गरिएको हो । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच घोषणा गरिएको महाअभियानले नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै वाइस जना केन्द्रीय सदस्यले गरेको हस्ताक्षर महासमिति बैठकमा छलफलका लागि दर्ता गरिएको छ । उनीहरुले सिङ्गो पार्टी हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन् । सांसद भण्डारीको संयोजकत्वमा शुरु भएको महाअभियानले सनातन हिन्दू्राष्ट्रको स्थापनाले मात्रै देशलाई आर्थिक समृद्धिको बाटोमा हिँड्न सकिने भन्दै त्यसको नेतृत्वदायी भूमिका नेपाली कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।

फागुन ७ गते शुरु भएको पार्टीको महासमिति बैठकमा महाअभियानका संयोजक भण्डारी नेतृत्वको समितिले हिन्दूराष्ट्रको एजेण्डालाई प्रवेश गराउन निर्णय गरेको थियो । हुन पनि देशमा ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावना विपरीत धर्मनिरपेक्ष बनाउनुले बहुसंख्यक नेपालीको भावनामा चोट पु¥याएकै छ । बहुसंख्यक जनताको भावनालाई उपेक्षा गरेर राष्ट्रिय एकताका आधारहरु, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको परम्परागत अभ्यासलाई ध्वस्त गर्दै धर्म निरपेक्षताको पक्षमा उभिएकोमा नेपाली कांग्रेसप्रति नै वितृष्णा पनि बढेको छ ।

दोस्रो जनआन्दोलन ०६२–०६३ को राजनीतिक परिवर्तनले पहिलो प्रहार नेपालको हिन्दूराष्ट्रको पहिचान माथि ग¥यो । आन्दोलनको दौरान कतै पनि हिन्दूराष्ट्रबिरुद्ध कुनै आवाज सुनिएकै थिएन । पुनस्र्थापित प्रतिनिधिसभाले जेठ ४ गते जारी गरेको घोषणामार्फत धर्म निरपेक्षतालाई प्रवेश गराइयो, जुन जनताको भावना विपरीत थियो । निहित स्वार्थ र राजनीतिक अभीष्ट पूरा गर्न चाहने एउटा शक्ति र आफ्नो धर्म, संस्कृतिको प्रभाव विस्तार गर्न खोज्ने पश्चिमा राष्ट्रहरुको षडयन्त्रमा धर्म निरपेक्षता घोषणा गरियो, जसमा नेपाली कांग्रेस निरीह बनेर साक्षी बसेको टिप्पणी भएकै हो । विश्वमा अनेकौं राष्ट्रहरु छन् जहाँ आ–आफ्ना धर्म र संस्कृतिलाई राष्ट्रिय धर्म बनाइएको छ । विश्वमा एकमात्र हिन्दूराष्ट्र नेपालको अस्तित्व नामेट पारेर विश्वका तीन अर्बभन्दा बढी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको भावनामा चोट पु¥याइएको छ । भगवानदेखि ऋषि–महर्षिहरुको तपोभूमि, ज्ञानभूमि र जन्मभूमि नेपालको गौरबमय इतिहास मेटाएर राष्ट्रको अस्मिता, पहिचान र स्वतन्त्रता बलियो हुँदैन । त्यही विश्वासमा नेपाली कांग्रेसभित्रैबाट शुरु भएको अभियानले यो विवादको अन्त्य ग¥यो भने सम्भावित दुर्घटनाबाट देशलाई जोगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here