माईका बस्नेत दम्पतीलाई माइजोगमाईको ओडारमा भेटिएका बेवारिसे शिशु दिइने

0
10

विमल दहाल /इलाम ।

इलामको माइजोगमाई गाउँपालिका -३, गिद्देभिर स्थित ढुङ्गाको च्यापमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका नवजात शिशु लिन आउन बस्नेत दम्पतीलाई सात दिने सूचना माईजोगमाई गाँउपालिकाले जारी गरेको छ ।

गाउँपालिकाले इलामकै माई नगरपालिका–१० का बस्नेत दम्पती ठहरसिंह बस्नेत र विष्णु चौंलागाईंलाई शिशु लिन आउन सूचना गरेको हो । सामाजिक एवम शैक्षिक क्षेत्रमा सकृय ठहरसिंह स्थानीय हिमालय माविका शिक्षक हुनुहुन्छ भने विष्णु गृहिणी हुनुहुन्छ । बिवाह भएको २५ बर्ष वितेपनि बस्नेत दम्पतीको सन्तान हुन सकेको थिएन।

माईजोगमाई गाँउपालिकाले बेवारिसे शिशु व्यवस्थापन गर्न बनेको कार्यविधिअनुसार माग गरिएका निवेदनमध्ये बस्नेत र चौंलागाईंको निवेदन सबैभन्दा योग्य पाएको जनाएको छ ।

गाँउपालिकाले कार्यविधिको अनुसूची ३ बमोजिम रीत पुर्‍याइ शिशु लिन आउन सूचना जारी गरेको जनाएको छ । अनुसूची ३ मा शिशुको स्याहार, हेरचाह, शिक्षा, स्वास्थ्यलगायत विभिन्न १४ सर्त उल्लेख छन् ।

शिशु व्यवस्थापनका लागि कार्यविधिको अनुसूची १ बमोजिम माघ २ देखि १७ सम्मको अवधिमा कुनै निवेदन परेका थिएनन् । त्यसपछि अनुसूची २ अनुसारको सूचनामा ११ निवेदन परेका थिए ।
बस्नेत र चौंलागाईंले तोकिएको समयावधिभित्र शिशु जिम्मा लिन नआएमा व्यवस्थापनको वैकल्पिक उपाय अपनाउने पनि सूचनामा उल्लेख छ ।

अन्दाजी तीन–चार दिनको जस्तो देखिने शिशु (छोरा) स्थानीयले घाँस काटेर फर्किने क्रममा माइजोगमाई–३, गिद्देभिरको ढुङ्गाको च्यापमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका थिए। प्रहरीले स्थानीयको सहयोगका बालकको उद्धार गरेको थियो । हाल बालकलाई जिल्ला अस्पताल इलामका स्वास्थ्यकर्मीहरुको हेरचाहमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here