आशिष माझीको जीवन बचाइदिन अपिल

0
13

संगीता उप्रेती,
सुरुङ्गा ।

झापाको कनकाई नगरपालिका—२ निवासी १६ वर्षीय आशिष माझीको जीवन बचाइदिन परिवारजनले अपिल गरेको छ ।

कनकाई माविमा कक्षा— ८ मा अध्ययनरत माझी गत फागुन १७ गते विद्यालय जाने क्रममा साइकलबाट लड्न गई घाइते भएका थिए । घाइते भएका माझीको ब्रेन हेमरेज भई टाउकाको शल्यक्रिया समेत भएको र हाल बिर्तासिटी अस्पतालको न्युरो सघन उपचार कक्षमा राखी उपचार भइरहेको माझीका छिमेकी गणेश खड्काले जानकारी दिए ।

युवा समाजसेवी खडकाकै पहलमा माझीलाई समयमा अस्पताल पुर्याएर शल्यक्रिया गरिएको थियो । अस्पतालमा उपचार खर्च बापत एक हप्ताको बिल २ लाख ४७ हजार र फार्मेसीमा ७४ हजार भएको जानकारी आएपछि कनकाई नगरपालिका, स्थानीय संघसंस्था, विद्यालय, छिमेकी एवं सहयोगीहरुबाट १ लाख ५० हजार आर्थिक सहयोग संकलन गरी अस्पतालमा बुझाइएको आशिषका बुबा गोविन्द माझीले जानकारी दिए ।

आशिष पढ्ने कन्काई माविका कक्षा ८ देखि तल्ला कक्षाका विद्यार्थीहरुले १३ हजार ४ सय २५ रुपैयाँ सहयोग उठाई परिवारजनलाई हस्तान्तरण गरेको माझीका सहपाठी उत्सव शाहले जानकारी दिए । अस्पतालका अनुसार आशिषको उपचार खर्च १० लाख रुपैंयाँभन्दा बढी लाग्ने जानकारी आएपछि माझी परिवारले उपचार खर्चका लागि एक पत्रकार भेटघाटको आयोजना गरी सहयोग गरिदिन सार्वजनिक रुपमा अपिल गरेको हो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका माझीका बुबा गोविन्द माझी सुरुङ्गामा सिटि सफारी चलाउँछन् । एक छोरा र एक छोरी रहेका बुबा गोविन्द र आमा उमा माझीको बिहान बेलुकाको हातमुख जोड्ने स्रोत भनेकै सिटी सफारी भएकोले छोराको उपचार खर्चमा अभाव भएको बताइएको छ । परिवारजनका तर्फबाट माझी परिवारले छोराको उपचारमा आर्थिक सहयोग गरिदिन स्वदेश तथा विदेशमा समेत रहेका सहयोगी महानुभावलाई अपिल गरेका छन् ।

सो पत्रकार भेटघाटमा कनकाई वडा नं.—२ का वडाअध्यक्ष बलराम राई (प्रताप), कनकाई माविका प्रधानाध्यापक कर्णवहादुर डाँगी, सहायक प्रधानाध्यापक एवं सञ्चारकर्मी तीर्थराज खरेल, युवा व्यवसायी मेघनाथ पाठक, सुकेडाँगी वन समूहका पूर्व अध्यक्ष गंगाप्रसाद ढुंगेल, युवा समाजसेवी छिमेकी गणेश खड्का लगायतले बिरामीको घरायसी आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र उपचारमा आर्थिक समस्या भएका कारण सबैलाई सहयोगका लागि अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here