विराटपोखरमा क्यान्सरसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर, ६८५ को जाँच

0
11

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

बिर्तामोड नगरपालिका -१०, विराटपोखरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर,चितउनको प्राविधिक सहयोगमा नि:शुल्क एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न भएको छ।

बिर्तामोड नगरपालिका,विशाल कृषि सहकारी संस्था र विराटपोखर महिला समूहको संयुक्त आयोजनामा सम्पन्न शिविरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विशेषज्ञ डाक्टरहरूले नाक,कान,घाँटी र महिलाहरुको पाठेघर तथा स्तनको परीक्षण गरेका थिए।

स्थानीय विराट आधारभूत विद्यालयमा सम्पन्न शिविरमा डा.देजकुमार गौतम,डा.विजय न्यौपाने,डा. रामकृष्ण यादव,डा.सञ्जय पौडेल,डा.सुबोध दवाडी,डा. सागर बस्नेत,डा.मारिया गौतमलगायत नाक,कान,घाँटी,पाठेघर विशेषज्ञ तथा क्यान्सरसम्बन्धी चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको आयोजक सहकारीका व्यवस्थापक हेमराज खनालले जानकारी दिए।

कूल ६८५ जनाको स्वास्थ्य जाँच गरिएको शिविरमा १३ जना नाक, कान,घाँटी क्यान्सर रोगीको तथा ५ जना पाठेघर तथा स्तन क्यान्सरको फलोअप जाँच गरिएको थियो । जसमध्ये पाठेघर तथा स्तन क्यान्सरका ३ जना र नाक,कान, घाँटीसम्बन्धी ३ जना शंकास्पद रोगी भेटिएको शिविर व्यस्थापन समितिका संयोजक तथा विराट महिला समूहकी अध्यक्ष कृष्णकुमारी शर्मा प्रसाईले जानकारी दिइन्।

त्यस्तै महिलाको पाठेघरको मुख संक्रमित १७ जना,आङखस्ने,बाँझोपन तथा गर्भपतनसम्बन्धी समस्याका ३/३ जना रोगी भेटिएको बताइएको छ।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, वीपी कोइराला मेमोरियल क्यानसर अस्पतालका पूर्व कार्यकारी निर्देशक डा.देजकुमार गौतम, शिक्षासेवी देवेन्द्र गौतमलगायतले बोलेका थिए। उनीहरुले झापामा बढ्दो रुपमा रहेको क्यान्सर जस्तो रोगबाट बच्न सचेत रहन स्वास्थ्य शिविर महत्वपूर्ण हुने बताएका थिए।

विराट महिला समूहकी अध्यक्ष कृष्णकुमारी शर्मा प्रसाईको सभापतित्वमा भएको कार्यक्रममा विशाल कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष कुमार राईले स्वागत गरेका थिए।

कार्यक्रममा केही वर्ष यता निरन्तर प्राविधिक सहयोग गर्दै आएको वीपी कोइराला मोमोरियल क्यान्सर अस्पताल भरतपुरका चिकित्सकको टोलीलाई सामूहिकरुपमा कदरपत्रले सम्मान गरिएको थियो।

शिविर सञ्चालनमा गोमेन्द्र कलेजका प्राचार्य रुपक खनालले ५० हजार बराबरको अौषधि,सागर मैनाली,सागर पाठक, हिमालय पाठक, अनु प्रसाईं लामा, मुकेश थापा, जीवन मैनाली र विभिन्न एमआर ग्रुपद्वारा आर्थिक तथा खानेपानी, खाद्यन्नलगायत अन्य आवश्यकीय सहयोग गरेका थिए। बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङ, निवर्तमान कार्यपालिका सदस्य गीता घिमिरे,वडा सदस्य दीपिका सिवा,विराट बहुउद्देश्यीय सरोवर विकास समितिका अध्यक्ष इन्द्र प्रसाई, विराट आविका प्रधानाध्यापक भद्रकला प्रसाईलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन वडा सदस्य पृथ्वी बस्नेतले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here