आगोसँग हेलचेक्र्याइँ गर्दा…

0
9

पाँचथर ।

घुर्बिसे पञ्चमी बजारमा आइतबार बेलुका भएको आगलागीमा एक करोड छ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

इलाम र पाँचथरको सीमानामा अवस्थित आगलागी भएको उक्त बजार पाँचथरको फाल्गुनन्द–५ मा पर्दछ । बजारमा रहेको कविन्द्र लावती र गोपेन्द्र रिजालको संयुक्त घरबाट करिब साँझ ७ः३० बजे शुरु भएको आगोले दुई घर पूर्णरूपमा क्षति भएका छन् ।

लावती तर्फको घर खाली रहेको तर, रिजाल तर्फको घरमा भने विगत केही वर्षयता राममाया बिक भाडामा बस्थिन् । उनी बसेकै कोठामा बालिएको आगो फैलिएको अनुमान गरिएको छ । उनले बालेर राम्रोसँग ननिभाइ छोडेको आगो फैलिन गइ उक्त घटना निम्तिएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । रिजालको घरमा बस्दै आएकी विक अर्कै घरमा सुत्ने–बस्ने गरेको साथै बालेको आगो निभाएर गएको उनले बताइन् । तर पनि पीडितहरुले उनको लापरवाहीले आगलागी भएको दाबी गरेका छन् । स्थानीय छिमेकीका अनुसार एक जनाको हेलचेक्र्याइँले निम्त्याएको घटनाबाट करोडौंको क्षति हुन पुगेको जनाए ।

यही घरसँग जोडिएको अम्बिकाप्रसाद सापकोटा र श्रीनारायण भट्टराईको अर्को घर पनि जलेर नष्ट भएको छ । बजारबासी, बजारका छिमेकी फाल्गुनन्द र फाकफोकथुमबासी, जनप्रतिनिधि, सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा आएपछि नजिकै रहेको राम साम्बाहाम्फेको घर जोगिँदा आगो फैलिन नपाई अन्य क्षति हुनबाट बचेको थियो । आगलागी नियन्त्रण भएपछि आगो निभाउन फिदिम र इलामबाट आएको दमकल बाटोबाटै फर्काइएको फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले जानकारी दिए । घटना बेलुकी साँझपख भएकाले मानवीय क्षती हुन नपाएको बताइएको छ ।

काठ, ढुंगा, सिमेन्ट र जस्तापातले बनेको दुई तले एकै छानो रहेका एउटै घर तर श्रेष्ता अलग भएका रिजाल र लावतीको घर जलेर नष्ट हुँदा ३० लाख ८० हजार मूल्यको नोक्सानी भएको छ । रिजालको घर भाडमा बस्ने राममायाको ८० हजारका सरसामान र २० हजारको खाद्यान्नसहित एक लाख गरी जम्मा ३१ लाख ८० हजारको क्षति भएको जनाइएको छ । छिमेकी रामकुमार सम्बाहाम्फेको ५२ हजार रुपैयाँ बराबरको नोक्सानी पुगेको मुचुल्कामा उल्लेख गरिएको छ ।

अर्को एउटै छाना भएको तर, श्रेस्ता अलग भएको सापकोटा र भट्टराईको घर पनि पूर्णरुपमा जलेर नष्ट भएको छ । सापकोटाको नगद ५४ हजार रुपैयाँ र घरसहित अन्य सामग्री गरेर ३६ लाख ४४ हजार बराबरको नोक्सानी भएको जनाइएको छ ।

भट्टराई तर्फको घर जल्दा ३० लाख ८० हजार र भट्टराईको घरमा केही महिनादेखि घर भाडामा बस्दै आएका स्थानीय कमल बोहोराको ३७ हजार नगद रुपैयाँ, दुई तोला सुन, २० तोला चाँदी र सरसामनसहित सात लाख २५ हजार बराबरको क्षति पुगेको बताइएको छ । इलाका प्रहरी कार्यालय रवि पाँचथर, फाक्तेप प्रहरी चौकी, इलामको फाकफोकथुम गाउँपालिकाका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाक जनप्रतिनिधि, स्थानीयबासी, पीडितसहितले घटनास्थलको अवलोकन गरी एक करोड छ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको नोक्सानी भएको मुचुल्का गरेको जानकारी गराइएको छ ।

यसैबीच, तत्कालीन पीडितहरूलाई राहत र आवश्यक व्यवस्थापनका लागि फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा ब्ल्याङ्केट, ग्याँस सिलिण्डर, चुल्हो, थालबोटुका, चामल, तेल, दाल लगायतका सामग्री प्रदान गरइएको छ । बजारमा भएको यस दुःखद् घटनालाई थोरै भए पनि आपतकालीन सहयोग गर्नका लागि बजारबासीको तर्फबाट एक लाख १८ हजार छ सय ५० नगद पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय प्रत्रकार युद्धबहादुर बोहोराले १५ हजार रूपैयाँ बराबरको लत्ताकपडा उपलब्ध गराएको सहयोग संकलनका अगुवा विनोद आम्ङ्देम्बे, उदिप र जितेन चेम्जोङले जानकारी दिए । घुर्बिसे पञ्चमी सहकारीले २१ हजार र फाक्तेप आयुर्वेदबाट एक हजार पाँच सय, फाकफोकथुम १ नम्बर वडाका जनप्रतिनिधि र कर्मचारीबाट चार हजार रकम प्रदान गरिएको छ । पार्टी प्रतिनिधि, स्थानीय सरकार, प्रहरी, स्थानीयबासी लगायतको टोलीले साथ सहयोग जुटाउने क्रम निरन्तर लागिरहेको छ । साथै मङ्गलबार पीडित परिवारलाई सहयोग गरिएको रेडक्रस उपशाखा राँकेका सदस्य वीरनरसिंह चेम्जोङले जानकारी गराए ।

यस ठाउँका घर प्रायः जस्तापाता, काठ, ढुंगा तथा सिमेन्टले बनेका र कतिपयले सुँगुरको चारा पकाउने साथै रक्सी बाहिर बनाउने आगो राम्ररी ननिभाउने जस्ता लापर्वाहीका कारण अझै पनि खतरा रहेको बजारबासीको ठम्याई छ । सबैलाई आगलागी बारे जनचेतना फैलाएर सचेत बन्न पहल नगरे आगामी समयमा पनि मानवीय क्षति हुन सक्ने खतरा बढेको छ । पिउने पानी मुस्किलले धान्ने स्रोत मात्रै भएको सुख्खा ठाउँको यस बजारमा आगो निभाउने दमल फिदिम र इलाम बजारबाट बाहेक अन्य ठाउँमा नभएकाले घटनाबाट क्षति जोगाउन कठिन छ ।

राँके–भेडेटार सडकमा पर्ने राँके, देउराली, घुर्बिसे पञ्चमी, दशमी, उत्तरे, सप्तमी, रवि लगायतका क्षेत्र आगलागीका उच्च जोखिम रहेका स्थानमा पर्दछन् । हरेक बजारमा आगो निभाउने उपकरण अभावले बजारबासी आगलागीको त्रासमा रात बिताउनुपर्ने बाध्यता छ । केही हप्तापछि यस बजारमा सेहोनाम्लाङ सांस्कृतिक पर्यटन महोत्सवको तयारीमा जुटेका बजारबासी आगलागीको चपेटामा परेपछि अहिले स्तब्ध बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here