गुनुमुनु गर्ने त अरबी पो रहेछन्

१७ चैत्र २०८०, शनिबार मा प्रकाशित

२०६३ साल जेठ–असारतिरको कुरा हो । त्यतिबेला म इजरायल पुगेको त्यस्तै १४÷१५ महिना भएको थियो । मुसाभ सखारमा चार–पाँच महिना काम गरेपछि कम्पनीले हामीलाई मुसाभ रेबायामा पठाएको थियो । त्यहाँ नौ–दस महिना काम गरेपछि पुनः मलाई राहात भन्ने ठाउँमा सारी दियो । पहिले मुसाभ सखारमा पनि चार–पाँच महिना गुलावको फूलमा काम गरेको अनुभव भएकोले कम्पनीले मलाई गुलावको फूलमा राम्रो काम गर्ने व्यक्तिको रूपमा ठम्याएको थियो ।

त्यही कारण मलाई पुनःगुलावको फूलमै काम गर्न राहात पठायो । पहिले पनि गुलाबको फूलमा काम गरेकोले मलाई गुलाबको फूलमा लाग्ने रोगदेखि लिएर गोडमेल, मलजल, औषधी, कटिङ, प्याकिङ्ग स्कफा, गिजुम आदि सम्पूर्ण कुराको ज्ञान थियो । मलाई गुलाबको फूलको खेतीमा काम गर्न कुनै अप्ठेरो थिएन । सजिलै लाग्थ्यो । अप्ठेरो भनेको काँडाले घोच्ने डर हुन्थ्यो । हातमा बाक्लो पञ्जा लगाएर काम गर्नुप¥थ्यो ।

सबै कुराको राम्रै व्यवस्था र सुविधा हुँदाहुँदै पनि मलाई त्यहाँ नेपाली आफू एक जना मात्र र अरू सबै थाइल्याण्ड भएकोले अलिक असहज जस्तो लागेको थियो । यद्यपि काम सजिलो भएकोले म चुपचाप काममा लागेको थिएँ । नेपालीहरू निकै टाढा–टाढा मात्र थिए । राहतमा नेपाली म मात्र थिएँ । अरू सबै थाइल्याण्ड र केही प्यालेस्टाइन अरवीहरू थिए । थाइल्याण्डहरू पनि मिल्दा त राम्रै हुन्छन् ।

मलाई थाइल्याण्डहरू आफू जस्तै सोझा लाग्थे । सायद उनीहरूलाई पनि म त्यस्तै लाग्थेँ होला । सारै मिल्थे थाइल्याण्डहरू मसँग । हरेक साँझ हामी बेलुकाको खाना पकाएर एकै ठाउँ भेला हुँन्थ्यौँ । सबै वरिपरि बसेर खान्थ्यौँ । गफ गर्दै खान्थ्यौँ । दुःख–सुःखका कुुरा हुन्थे । एउटै परिवार जस्तो थियो । रमाइलो हुन्थ्यो । कामका बारेमा कुरा हुन्थ्यो । तलबका बारेमा कुरा हुन्थे । कम्पनीको मालिकका बारेमा कुरा हुन्थे । आफ्नो घर–परिवारका बारेमा कुरा हुन्थ्यो । खाना खाइसकेर पनि हामी राती नौ–दस बजेसम्म बस्थ्यौँ । त्यसपछि आ–आफ्नो कारावानतिर लाग्थ्यौँ । आएर म आफ्नो कोठामा सुत्थेँ ।
कारावानमा म एक्लै हुन्थेँ । काम बढी भएको बेला कम्पनीले थाइल्याण्डहरू ल्याउँथ्यो । कम भएपछि तिनलाई अन्तै पठाइ दिन्थ्यो । एउटा ठूलो ग्रीन हाउस थियो । त्यहीँभित्र गुलाबको फूलको खेती हुन्थ्यो । नजिकै प्याकिङ्ग हाउस थियो । त्यसको छेवैमा म बस्ने मेरो कारावान थियो । त्यहाँ उत्पादन भएको जति पनि फूल हुन्थ्यो । सबै युरोप र अमेरिका जान्थ्यो ।

म त्यहाँ आएको भर्खर हप्ता–दस दिन भएको थियो । मेरा लागि त्यो ठाउँ नयाँ थियो । बेलुकाको खाना खाएर फर्केको थिएँ । जुन टहटह लागिरहेको थियो । रातको १०–११ बजेको हुँदो हो । कोठाको ढोका खोलेँ । बत्ती बालेँ । बाहिर कतै नजिकै गुनुमुनु गरेर मान्छे बोलेको आवाज आयो । यतैतिर हो भन्ने चाहिँ साम्रोसँग ठम्याउँन सकिनँ । बाहिर निस्किएँ । थाइल्याण्डहरू पनि अब सुतौँ भनेर छुटेका को बोल्छ यसरी यति राति यहाँ ! भनेर आश्चर्यचकित हुँदै यसो यताउती निहालेँ । ग्रीन हाउस नजिकै कम्पनीको सानो जैतुनबारी थियो । जैतुन झुत्तै फलेको थियो । गर्मीको समय भए पनि समुद्रको शितल हावा बहिरहेको थियो । यसो हेर्छु जैतुनको बोटमुुनि जैतुनको बोटको कालो छायाँ देखिन्छ, तर मानिस देखिँदैन । बोलेको सुनिन्छ बुझिँदैन । अलि परैबाट आएको आवाज जस्तो पनि लाग्छ । यस्तो राति को होला यहाँ ! त्यो पनि जैतुनबारीभित्र !

भनेर अत्यन्तै डर लाग्यो । थाइल्याण्डहरूलाई बोलाउन पनि अलि पर्तिरै थिए उनीहरू । फेरि उनीहरू सुतिसकेका थिए । को आयो यसरी यति राति यहाँ र किन ? भन्ने त्रासले मुटु काम्यो । शरीरभरि रौं ठाडा भए । आफैँ पानी जस्तो चिसो भएँ । यति डर लाग्यो कि के हो अब मलाई यो अर्काको ठाउँमा सक्यो भन्ने भयो । चिच्याएर कराउन पनि सकिनँ । के भनेर कराउने ! को सँग कराउने ? बोली नै आएन । चुपचाप कोठामा फर्कनुपर्छ भन्न्ने पनि हेक्का भएन । कहाँ छु भन्ने आफैंलाई थाहा भएन । कान बन्द नै जस्ता भए । मुटु कामिरहेको छ । त्यहीँ थचक्कै बसेर सुनेँ । मानिस चाहिँ मानिस नै बोलेको रहेछ भन्ने पक्का भयो । कान थापेर सुनेँ । अरबी भाषा बोलेको जस्तो लाग्यो । मानिस नै बोलेका रहेछन् भन्ने भएपछि अलिकति डर हट्यो । अब जान्छु उहीँ छेवैमा को रहेछ । के गर्लान् त मलाई भनेर अलि अघि बढ्छु । बोल्न छोड्छन् । फर्किए जस्तो गर्छु फेरि बोल्न थाल्छन् । कहाँनेर छन् म देख्दिनँ । उनीहरूले चाहिँ मलाई देखिसकेका रहेछन् । खोज्दै गएँ । जैतुनको बोटको कालो छायाँमुनि ओछ्यान लाएर शितलमा ढल्केका रहेछन् ।

तीन–चार जना युवा रहेछन् । आश्चर्य पनि लाग्यो त्यस्तोमा सुतेको देखेर । परैबाट एउटाले भन्यो– थाइल्याण्ड हामी अरबी हौँ । मैले म थाइल्याण्ड होइन नेपाली हुँ भनँे । अर्कोले भन्यो– अँ नेपाल राम्रो धेरै राम्रो । त्यति बेलासम्ममा ममा धेरै डर हराइसकेको थियो । त्यसपछि मैले उनीहरूलाई राम्रोसँग सोधेँ, तिमीहरू किन यस्तो राति यहाँ आएर यस्तो ठाउँमा सुतेका ? म त डराएँ पनि आदि भनेर । त्यसछि उनीहरूले ओकले आफ्नो व्यथा । हमासले समस्या गरेर हामी घर छोडेर हिँडेका । पुलिसले भेट्यो भने हामीलाई समातेर तुरुन्तै प्यालेस्टाइन नै फर्काइ दिन्छ । त्यसैले हामी यहाँ त पुलिस आउँदैन, आए पनि हामीलाई थाहा हुन्छ भनेर यता बसेका हौँ आदि ।

हमास भनेको प्यालेस्टाइनको एउटा विद्रोही समूह हो भन्ने मैले नेपालमा छँदै सुनेको थिएँ । वास्तवमा तिनीहरू हमासमा आबद्ध हुन नसकेर घर छोडेर हिँडेका प्यलेस्टाइन युवाहरू रहेछन् । ए भनेर त्यसपछि म कोठामा आएर सुतेँ । बिहान काममा जानु थियो । रातभरि निद्रा लागेन । मैले आफ्नो देश सम्झेँ । आफ्नो देशमा चलेको तात्कालीक द्वन्द्व सम्झेँ । द्वन्द्व फरक भए पनि पीडा उस्तै । त्यसरी नै आफ्नो देश छोडेर विदेशिएका नेपालीहरूलाई सम्झेँ । भोलिपल्ट बिहानै उठेर हेर्दा तिनीहरू त्यहाँ थिएनन् । राति नै पुलिसले समात्यो वा अन्तै कतै गइसकेका थिए । त्यहाँ त तिनीहरूले रातभरि तानेका चुरोटका ठुटाहरू मात्र रातमा उनीहरू जस्तै यत्रतत्र लडिरहेका थिए । मैले ती चुरोटका ठूटाहरू हातले विस्तारै सुम्सुम्याएँ र मनमनै भनेँ– कठै यस्तो पनि त जीवन नै त रहेछ ।

यसरी मलाई इजरायलको त्यो राहात भन्ने ठाउँमा त्यो रात प्यालेस्टाइनबाट इजरायल छिरेका प्यलेस्टाइन अरबीहरूले मेरो सातोपुत्लो खाएका छन् । त्यसपछि मैले कम्पनीमा कुरा पनि राखेँ । यसरी राति यहाँ प्यालेस्टाइन अरबीहरू आउँदा रहेछन् । मलाई डर भयो । म यहाँ बस्दिनँ । मलाई नेपालीहरू भएको ठाउँमा वा अन्त कतै सारिदेउ भनेर । कम्पनीको मालिकले तिमीलाई केही हुन्न । तिनीहरू आउँछन्, जान्छन् केही समस्या गरे भने हामीलाई भन्नु पुलिसले तिनलाई ठेगान लाइहाल्छ भन्यो । त्यसपछि मलाई डर भएन । पछि–पछि त बानी नै परेँ । वास्तै हुन छाड्यो । म त्यहाँ बसुन्जेल पनि कहिले काहीँ त्यसरी कुम्लोकुटुरो बोकेर अरवीहरू आइरहन्थे । कहिले ग्रीन हाउसभित्र सुत्थे । कहिले त्यसरी नै जैतुनबारीमा । बिहान उठेर हे¥यो त्यहाँ हुँदैनथे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here