पेमा

१७ चैत्र २०८०, शनिबार मा प्रकाशित

गाउँभरि पेमाको मृत्युको खबर फैलियो छिनभरमै । एक्कासी आकाशभरि बादल विक्षिप्त भएर मडारिन थाल्यो । अनि आकाश रोयो । पेमाको मृत्युमा आँशु झार्ने मानिस नभएर होला आज मलाई भावविह्वल बनाएको छ ।

मुटुले ठाउँ छोडेको छ । हातखुट्टा काम्न थाल्यो । धर्ती भासिए जस्तो भान भयो । बाँचुञ्जेल कसैले सोधेनन् एक गिलास पानी पनि । केही वर्ष अगाडि बाढीमा परेर परिवार गुमाएकी थिइन् । त्यसपछि उनी एक्ली भइन् । आफू बाँच्नको निमित्त अर्काको घरमा काम गर्दै आएकी थिइन् । कहिले भाडा माझिन् । कहिले दाउरा बोकेर बेचिन । परिवार गुमाएपछि उनको जीवनमा ठूलो विपत्ति छायो । जीवन त जसोतसो चलाउन प¥यो मजदुरी काम जिविकोपार्जन गर्दै आएकी थिइन् पेमा ।

परिवार गुमाएपछि झन् मानसिक तवरमा कमजोर हुँदै गएको थियो उनको शरीर । एकदिनको कुरा हो । पेमालाई बाटोमा भेटेको थिए र सोधेँ– के छ खबर ? मसिनो स्वरमा ‘ठिकै छ ।’ भनेकी थिइन् । मैलो लुगा लगाएकी । धेरै दिनदेखि ननुहाएर होला उनको शरीरबाट गन्ध आइरहेको थियो । नचिनिने गरी एकदमै दुब्ली देखिएकी थिइन् पेमा । बेला–बेला भेट भइरहन्थ्यो । धेरै नबोल्ने उनको आदत थियो । गाउँका मान्यजन्य बुद्धिजीवी हुँ भन्ने समाजका ती मानिसहरु उनीसँग पर–पर तर्किन्थे ।

आज बिहानै सामाजिक सञ्जालमा पोस्ट देखँे । पेमाले झुण्डिएर आत्महत्या गरिछे । त्यसपछि म स्तब्ध भएको छु । एकाएक मृत्युको बाटो रोजिन । के गरिबी नै हो त यसको कारण । मनले मनसँग प्रश्न गर्दै म उतैतिर गइरहेको छु । भिडभाड छ । हिजो उनीसँग बोल्न नमान्नेहरु फूलको माला बोकेर उभिएका छन् । कोही त उनको पार्थिव शरीरमा फूल चढाइरहेका छन् । कोही त उनको तारिफ गरिरहेका देखिन्छन् ।

जिउँदो हुँदा वास्ता नगर्नेहरु मृत्युपछि उनको बयानका व्यस्त थिए । गरिबी र मानसिक पीडामा छट्पटिएर यो बाटो रोजेकी हुन सक्छ । कहिले खुशी भएको अनुहार देखिएन । सधैँ मलिन अनुहार देखिन्थ्यो । गाउँका मानिसहरुले सोधपुछ पनि गरेनन् । कहिले भोकभोकै रात कटाइन् । कहिले त पानी खाएर बाँचिन पेमा । कष्टकर जीवन बाँच्दै आएकी थिइन् । आज यो धर्तीबाटै सदाको लागि गइन् ।

हेर्दाहेर्दै पञ्चतत्वमा विलीन भइन् । उनले छोडेर गएको पनि महिनौं बितिसकेको छ । उनी हिँडीरहने बाटोमा रुख बिरुवा फूलहरुले उनलाई नै याद गरिएको छ । बोलाइरहेको जस्तो लाग्छ । उनको त्यो अनुहार झुत्रोमत्रो लुगा अझैसम्म सम्झना आइरहन्छ । उनले हामीमाझ छोडेर गएपछि केही दिनमा सून्यता छाएको थियो गाउँमा । मलाई अझै लागीरहन्छ यतैकतै हिँडीरहेकी छन् कि जस्तो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here