‘सीमावासीसँग सशस्त्र प्रहरी’ : खेतीपाती र झोला–पोका बोकेकै भरमा गुजारा

0
6

पार्थ मण्डल,
झापा ।

नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दा खेतीपाती गर्ने र झोला–पोका बोक्ने भरमै आफ्नो परिवारको गुजारा गरिरहेको पाइएको छ ।

सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानलाई तीव्रता दिँदै सीमावासीको घरदैलो पुग्दा उनीहरूले यस्तो बताएका हुन् । सीमावासी, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूको एउटै आवाज छ– सीमामा खेतीपाती गर्न समस्या उत्पन्न भयो, झोला–पोका ल्याउन पाइन, लागु औषध कारोबार बढ्यो, चोरी–तस्करी, मुआब्जा रकम अझै नपाइने जस्ता समस्या र गुनासाहरू झापा जिल्ला सुरक्षा समितिका पदाधिकारी समक्ष खुलेर राखेका छन् ।

सीमा बासिन्दाको हातमा नेपाली धनी पुर्जा छ । अहिले सो जमिन भारतमा परेकोले भारतीय पक्षबाट निरन्तर दुःख र सास्ती दिने काम भइरहेको भद्रपुर ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशीले बताए ।

२०२१ साल पहिलाका र सुकुम्वासी आयोगमार्फत पाएको लालपुर्जा भएका नेपाली कृषकको जमिन अहिले भारतीय भूमि परेको हुँदा अहिले सो जमिनमा विवाद भइरहेको बताउँदै वडा अध्यक्ष राजवंशीले भने, ‘यसको समस्या समाधान र उचित व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिले तत्काल माथिल्लो निकायमा कुरा पु¥याउनु पर्ने अवस्था आएको छ ।’

सीमा पिलर गाड्दा तत्काल जोतभोग गरिरहेको जमिनमा कुनै हस्तक्षेप नहुने गरी दुवै देशका अधिकारीबीच सहमति भएपनि त्यसको कार्यान्वयन अझै नभएको उनले बताए ।

त्यस्तै भद्रपुरकी रानीले सीमा नाकाका बासिन्दाको परिस्थिति एकदमै कमजोर भएकोले अलिअलि सरसामान भारतबाट ल्याउनै पर्ने बाध्यता रहेको बताइन् । हाम्रो समस्याप्रति कसैलाई केही मतलब छैन, माथिबाट अर्डर छ भन्दै बोर्डरमा हाम्रो पेटमा लात हान्ने काम भइरहेको उनले गुनासो पोखिन् ।

भद्रपुरका विनय गोयलले भद्रपुर भन्सारले अधिग्रहण गर्न लागेको जमिनको मुआब्जा रकम अझै नपाएको गुनासो पोखे । मेरो नामको १६ कट्ठा जमिन रोक्का राखिएको छ । ‘१६ कट्ठामध्ये ६ कट्ठा जमिन मात्र भन्सारले लिने हो,’ उनले भने, ‘न त मुआब्जा दिन्छन्, न त जमिन फुकुवा नै गर्छन्, यो न्यायोचित हो ।’ त्यस्तै मेचीपारिका बासिन्दाहरूको पनि जमिनकै समस्या रहेको छ । नेपाली धनी पुर्जा भएको जमिनमा भारतीय पक्षको हस्तक्षेप बढिरहेकोले यसको उचित समाधान आवश्यक रहेको बताए । मेचीपारिमा स्वास्थ्य, खानेपानी र बाटोघाटो समस्या अझै रहेको उनीहरूको भनाई छ । त्यसैगरी पृथ्वीनगर सीमा क्षेत्रबाट लागु औषध भित्रिने समस्या बढ्दो रहेको माओवादी केन्द्रका नगर अध्यक्ष शिवकुमार राजभण्डारीले बताए ।

भद्रपुर १ नम्बर वडा अध्यक्ष रामप्रसाद अधिकारी र २ नम्बर वडा अध्यक्ष र राम कँडेलले दरबन्दी अनुसार सुरक्षाकर्मी नहुनु र नागरिकता सिफारिसमा समस्या भइरहेको बारेमा जानकारी गराएका थिए । त्यस्तै भद्रपुर नगर प्रमुख गणेश पोखरेलले कानुनी विपरित सीमामा काम नगर्न नगरबासीलाई आग्रह गरेका छन् । उनले झोला पोका बोक्ने भन्दा पनि नगरपालिकाले दिइरहेको सीप मुलक तालिम लिएर अन्य व्यापार व्यवसायमा लाग्न जोड दिए ।

हाल दशगजामा देखिएका जमिन विवादको बारेमा बोल्दै नगर प्रमुख पोखरेलले भने, ‘सीमा पिलर राख्दा दुवै देशका सुरक्षा निकायबीच सहमति भएको थियो, कि पिलर नजिकै जसको जमिन पर्छ त्यही देशका नागरिकले जोतभोग गर्न पाउँछ ।’ यस बारेमा जिल्ला सुरक्षा अधिकारीले भारतीय अधिकारीसँग तत्काल छलफल गरि अघि बढनुपर्ने उनले बताए । भन्सारले लिने जमिनको मुआब्जा सम्बन्धीको फाइल मन्त्रालयमा नभेटिरहेको जानकारी आएकोले भन्सारसँग समन्वय गरी नगरपालिका पुनः पत्रचार गर्न लागेको उनले जानकारी गराए ।

यता सीमावासी र जनप्रतिनिधिहरूको समस्या र गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नेपाली भूमि मच्चिएको विषय अहिले देशव्यापी समस्या रहेको बताए । नेपालीले बर्षोदेखि जोतभोग गर्दै आइरहेको दशगजा क्षेत्रको भूमिको बारेमा भारतीय सुरक्षा निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्नु भन्दा अन्य विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी बास्तोला भनाई छ ।

सीमामा तैनाथ सशस्त्रले दुःख मात्र दिँदैन । सशस्त्रले तपाईँहरूसँग समन्वय र सहकार्य पनि गर्दै आइरहेको बताउँदै उनले भने, ‘देशको राजश्व कहिल्यै घटेको थिए, राजश्व बढाउनु सबैको दायित्व हो ।’ ‘पुरै देश खुला सीमा छ, सबैलाई अलिअलि ल्याउन दियो भने एकै दिनमा अर्बौँको सामान त्यतिकै भित्रिन्छ,’ उनले भने, ‘अब पेसा परिवर्तन गर्नु प¥यो, सधैँ झोला–पोका बोकेकै भरमा गुजारा चलाउनु पर्छ भन्ने कुरा त्याग्नु प¥यो ।’ अब वारिपारि गर्ने पेसा चल्ने वाला छैन । ‘हामीले कसैको पेटमा लात हानेको होइन, माथिबाट हामीलाई लात हान्छ त हामीले पनि तल त हेर्न प¥यो,’ उनले भने ।

भन्सारले अधिग्रहण गर्न लागेको जमिनको मुआब्जाको समस्या समाधानमा आफू लागिपरेको बताउँदै उनले भने, ‘भन्सार, नगरपालिका र प्रशासन मुआब्जा रकम ल्याउन सरकारसँग पहल गरिरहेको छ, रकमान्तर भएपछि असार मसान्तसम्म रकम आउन सक्छ ।’

सीमावासीको खानेपानी, स्वास्थ्य, बाटोघाटोको समस्या बारेमा स्थानीय पालिकासँग समन्वय गर्ने बताउँदै उनले भने, ‘नागरिकता वितरणमा केही समस्या भएपनि सोजै मसँग सम्पर्क राख्नुहोला ।’

सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपालले सीमाका बासिन्दासँग सहकार्य गरी अघि बढ्ने उद्देश्य राखेर ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानको घोषणा गरेको थियो ।

सोही अभियान अन्तर्गत नेपाल–भारत सीमा इलाका र सीमा स्तम्भहरूको अनुगमन, सीमावासीहरूको समस्या÷गुनासोहरूको जानकारी, नागरिक र सुरक्षाकर्मीबीच सकारात्मक सम्बन्ध स्थापित तथा सीमावासीहरूसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्य राखेर सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१÷१ नम्बरको सीमाबाट चैत ७ गतेदेखि अभियानको थालनी गरेको थियो ।

सशस्त्र प्रहरीले संयुक्त सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै चैत २५ गते दोस्रो चरणको अभियानमा मेचीनगर १५ स्थित कालिकास्थानबाट भद्रपुर सीमा नाका मेची पुल, महेशपुरको मेचीपारि हुँदै पृथ्वीनगरसम्म करिब २२ किलोमिटर पैदल यात्रा सम्पन्न गरेको सशस्त्र प्रहरी बल २ नं. गणका झापाका एसपी कवीन्द्र राईले जानकारी दिए ।

यो अभियानले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा चोरी तस्करी घटेको, झोला पोका ल्याउने समस्याको समाधान, लागु औषध जस्ता चुनौती देखिएको छ । यसको लागि सशस्त्र प्रहरीले २४ औं घण्टा सातै दिन सीमा गस्ती गरिरहेको एसपी राईले बताए । सशस्त्रको इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोलीले तिरिङदेखि भद्रपुरसम्म ३५ किलोमिटर सम्म सीमा गस्ती गरिसकेको उनको भनाई छ ।

सशस्त्र प्रहरीले यही अभियानमा सीमा क्षेत्रमा बसोबास गर्ने आदिवासी, अल्पसङ्ख्यक, जनजाति, दलित र विपन्न समुदायलाई सहयोग गर्ने प्राथमिकतामा राखेको जनाइएको छ । साथै सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ विद्यार्थीलाई वार्षिक रु १२ हजारका दरले शैक्षिक छात्रवृत्ति, दुई जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययन गराउनेमध्ये झापा गौरीगञ्जकी रानी ऋषिदेवलाई आवाससहित निःशुल्क छात्रवृत्ति प्रदान गरिएको छ ।

सीमा लक्षित बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सीमामा परिचालित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई वार्षिक चार प्रतिशत ब्याजदरमा रु पाँच लाखदेखि रु १० लाखसम्म सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउने लगायतको कार्यक्रम रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here