सरकार परिवर्तन र यसको प्रभाव

३० चैत्र २०८०, शुक्रबार मा प्रकाशित

राजनीतिले कुनै पनि राष्ट्रको हरेक क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ, समाजका सम्पूर्ण क्षेत्रलाई राजनीतिले नेतृत्व गर्छ । राजनीति सकारात्मक बाटोमा सिधा हिँडिरहेको छ भने समाजका सबै क्षेत्रहरू सकारात्मक रूपले अगाडि बढिरहेका हुन्छन् । राजनीति गलत बाटोतिर बाङ्गो टिङ्गो हिँडिरहेको छ भने समाजका सबै क्षेत्रहरू नकारात्मक दिशातर्फ अगाडि बढिरहेका हुन्छन् । कुनै पनि राष्ट्र विकासका लागि शान्ति, स्थिरता अपरिहार्य शर्तहरु हुन् ।

हाम्रो देशको सवालमा हेर्ने हो भने अहिले हाम्रो देशको राजनीति अत्यन्त तरल र संक्रमणकालीन अवस्थामा रहेको छ । हाम्रो देशमा भर्खरै मन्त्रीमण्डल परिवर्तन भयो । यो परिवर्तन बाहिरबाट सरसर्ती हेर्दा त्यति धेरै ठूलो परिवर्तन नदेखिएला, तर राजनीतिक रुपले यसको सूक्ष्म विश्लेषण गर्ने हो भने यो हाम्रो देशका लागि एउटा फरक मोड ल्याउने घटना हो । हिजो सँगै बसेका दलहरू आज फरक दर्जामा रहेका छन् । हिजो सरकारमा रहेको दल आज विपक्षीको दर्जामा रहने अवस्था सिर्जना भएको छ । देशको राजनीति एक अर्थमा सिधा अगाडि बढ्न खोजिरहेको तथा स्थिरतातर्फ अगाडि बढिरहेको सवालमा राजनीतिले एकाएक अर्को मोड लिएको छ ।

२०७९ सालमा भएको आम निर्वाचन पनि एउटा विशिष्ट परिस्थितिमा भएको आमनिर्वाचन थियो । विगतमा नेपालका ठूला–ठूला दुईवटा वामपन्थी दलहरूको सहमतिमा सरकार निर्माण भएको थियो, तर त्यो सरकार लामो टिक्न सकेन र बामपन्थी तथा गैर बामपन्थी दलबीच सहमति भई फेरि तत्काल अर्को मन्त्रिमण्डल गठन भएर कार्यपालिका निर्माण भई अगाडि बढिरहेको थियो ।

यही विशिष्ट परिस्थितिमा आम निर्वाचनको समय भयो र आम निर्वाचन भयो, त्यसपछाडि हिजो कटुतापूर्ण व्यवहार भएका मात्र होइन, सैद्धान्तिक रूपले फरक विचार भएका दुईवटा ठूला ठूला राजनीतिक दलहरू, नेपाली कांग्रेस र नेकपा माओवादी चुनावी गठबन्धन गरेर चुनाव लडे र सरकार बनाउने अवस्थामा पुगे र सरकार निर्माण भई केही हदसम्म भए पनि राजनीतिक क्रियाकलाप अगाडि बढ्न शुरु भइराखेको थियो । तर, एक्कासी फेरि हिजो सँगै चुनावी गठबन्धन गरेर अगाडि बढेका दलहरु बीच सहमतिको संकट देखाप¥यो र तत्काल नेकपा माओवादी तथा अर्को प्रतिनिधि कम्युनिस्ट पार्टी नेकपा एमालेसँग मिलेर सरकार बनाउने निर्णयमा पुग्यो ।

सरकार निर्माण भयो । यसरी राजनीतिक घटनाले अर्को मोड लियो, हिजो नेकपा माओवादी र नेकपा एमाले बीचमा पनि कटुतापूर्ण सम्बन्ध रहेको अवस्था थियो, यी दुई दलका नेताहरूको कटाक्ष पूर्ण अभिव्यक्ति सुन्दाखेरि सर्वसाधारण जनतालाई यति चाँडै यी दुई दलहरु एकै ठाउँमा बस्न सक्लान् भन्ने कल्पना थिएन, एकअर्काप्रतिको तिक्तता र कटुता हेर्दा यी दुई दलहरुलाई मिल्नको लागि केही लामो समय नै चाहिन्छ होला, हिजो कोट्याइएका घाउहरूमा खाटा बस्न केही समय लाग्ला भन्ने सामान्य जनमानसमा रहेको थियो । तर, एक्कासी नाटकीय ढङ्गमा जसरी नेकपा एमाले र नेकपा माओवादी एक ठाउँमा उभिए, यसले सामान्य राजनीतिमा चासो राख्ने व्यक्तिहरुलाई अचम्ममा पार्नु स्वभाविक थियो । राष्ट्रमा राजनीतिक स्थिरताका लागि मुलुकमा रहेका प्रतिनिधि दलहरु एक ठाउँमा उभिनु आफैमा सकारात्मक हो, तर अहिले भएका दलहरु जसरी फुट्ने र जुट्नेक्रम देखिएको छ । यसले सकारात्मकता देखाउँदैन बरु आगामी दिनमा आउन सक्ने अनिष्ट अथवा अनिश्चितताको संकेत गर्दछ ।

दलहरू मिल्नका लागि केही आधारभूत विषयवस्तुहरूमा एकरूपता हुनुपर्छ र दलहरू फुटिसकेपछि फेरि तत्काल जोडिनको लागि हिजो गरिएका कमी–कमजोरी, गल्तीहरूलाई घनिभूत छलफल गरेर सुधार्नु पर्दैन र ? तर, यी ठूला दुई÷तीन वटा दलहरूको फुट्ने क्रम र जुट्ने क्रम हेर्दा सामान्य केटाकेटीको खेल झैँ लाग्न थालेको छ, दलहरू बीच सामान्य विषयमा मतभेद हुने बित्तिकै अर्को दलसँग टाँसिन जाने जुन प्रवृत्ति देखापरेको छ । यसले क्षणिक सरकार निर्माण गर्नमा र सरकारको वरिपरि बसेर अस्वाभाविक लाभ लिने समूहलाई त फाइदा गर्ला, तर आम सर्वसाधारण जनतालाई भने यसले फाइदा दिन सक्दैन, सरकार नियन्त्रण बाहिर जान्छ र जहिले पनि स्वार्थमा फसिराखेको हुन्छ । साथै राजनीतिक अस्थिरता चाहाने बिचौलियाहरूको स्वार्थले मूर्तरुप लिन्छ ।

अरु दलहरु पनि कहिले मतभिन्नता होला र आफ्नोमा टाँसिन आउँछ भनेर पर्खिराखेका हुन्छन्, जसले गर्दा सकारात्मक कामभन्दा बढी नकारात्मक कामको चर्चा हुने गर्छ, दलहरु बीचमा फुट छाओस् र आफ्नो दलसँग सहयोगको लागि आउनु परोस् भन्ने ध्याउन दलहरूको हुने भएको कारणले राष्ट्रका समस्याहरु, विकासका गतिविधिहरु, राष्ट्रिय सरोकारका विषयहरु छायाँमा पर्दै जादैछन् । अहिलेको परिस्थिति ठिक यस्तै बनेको छ । केन्द्रीय स्तरमा भएको राजनैतिक तरलताकोले तल्लो स्तरका समाजमा पनि यसको छायाँ परिराखेको भान हुन्छ । अहिले हाम्रो समाजमा देखिएका अराजकता र तरलताको अवस्था यही राजनीतिको टुटफुटको परिणाम हो भन्न सकिन्छ । समाजमा अहिले जसले जे गरे पनि हुन्छ भन्ने मनोभावना रहेको देखिन्छ, जवाफदेहिताको आवश्यकता कमैले मात्र महशुस गरिराखेको अवस्था छ । संख्यात्मक रूपले आफूसँग बहुमत भएमा जे पनि गर्न सकिन्छ भन्ने धारणा समाजका हरेक क्षेत्रमा रहेको पाइन्छ ।

सर्वसाधारण जनताले भोगिराखेका समस्याहरुप्रति राजनीतिक दल र राजनीतिक दलसँग सम्बद्ध नेता, कार्यकर्ताहरु उदासिन देखिन्छन्, समाजमा एक प्रकारको संक्रमणकालीन अवस्थाको सृजना भएको देखिन्छ । राजनीतिक दलहरूको टुटफुट र सरकार निर्माणको अवस्थाले हिजो सँगै हिँडेका दलहरू आज कटुतापूर्ण भाषामा एकअर्कालाई आक्षेप लगाइराखेका छन् भने हिजो एकअर्काप्रति भएको आक्षेपहरू आज हराएका छन् । यसले गर्दा समाजमा पनि हिजो सँगै एकै ठाउँ मिलेर हिँड्ने समूहहरू आज एकअर्कालाई दोषारोपण गरेर हिँड्न शुरु गरेका छन् भने हिजो एक अर्का प्रति आरोप प्रत्यारोप गरेर हिँड्ने समूहहरू अँगालो मारेर हिँड्न शुरु गरेका छन् । यसले समाजमा के सही हो र के गलत हो भन्ने कुरालाई पछाडि धकेलिदिन्छ, छायाँमा पारिदिन्छ । जसको परिणाम सधैँ अस्थिरतातर्फ समाज उन्मुख भएको देखिन्छ ।

केन्द्रीय राजनीतिमा भएको परिवर्तनहरू प्रदेश तथा स्थानीय तहसम्म पनि सरकार गिराउने र बनाउनेतर्फ केन्द्रीकृत हुन शुरु गरेको पाइन्छ । हिजो के कारणले गर्दा त्यही विषय राम्रो भयो र आज किन त्यही विषय खराब भयो भन्ने स्पष्ट कुनै विचारहरु छैनन्, खाली सरकार निर्माण गर्ने र भत्काउने खेलमा सबैजना पुग्नु राम्रो लक्षण होइन । हिजो भएका राम्रा काम र कमी–कमजोरीहरु आज ठिक उल्टो भएका छन् । राम्रा कामहरू नराम्रा भएका छन् भने कमी–कमजोरीहरु सकारात्मक भएका छन् । यसरी हेर्दा समाजको अग्रगामी विकासलाई नै यो राजनीतिक परिस्थितिले परिवर्तन गरिदिएको आभाष हुन्छ । यसरी हेर्दा सरकार परिवर्तनले ल्याउने परिस्थितिहरूले समाजमा गहिरो प्रभाव पारिराखेको हुन्छ । अहिलेको परिस्थिति कस्तो देखिन्छ भने राजनीति गर्ने समूहले जे गर्दा पनि सही हुन्छ भन्ने एउटा भाष्य निर्माण भइराखेको पाइन्छ । जसले गर्दा समाजमा आउन सक्ने सकारात्मक परिवर्तनहरुलाई पनि यसले पछाडि धकेलिरहेको रहेको पाइन्छ ।

(निरौला समकालीन राजनीति, पर्यटन तथा विपद् व्यवस्थापनका विषयमा कलम चलाउँछन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here