पत्रकारिताको विश्वसनीयतामा कमी

२१ बैशाख २०८१, शुक्रबार मा प्रकाशित

हरेक वर्षको मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ मनाइने गरिन्छ । सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रता माथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन मनाइने दिवसलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा लिने गरिन्छ । आज झापासहित देशभर प्रेस स्वतन्त्रताका बहसले प्राथमिकता पाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन आजैबाट नेपाल पत्रकार महासंघको केन्द्रिय अधिवेशन शुरु भएको छ । पक्कै पनि स्वतन्त्रताको बहसले प्राथमिता पाइरहँदा विश्वसनीयता र यसको ब्यवसायीक पक्षले पनि बन्द सत्रका छलफलले प्राथमिकता पाउने आशा राखेको छु ।

सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको २६औं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो । यो सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिवस पनि हो । ३ मे ले सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको स्मारकको रूपमा कार्य गर्दछ र यो दिन प्रेसस्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूका बारेमा सञ्चारकर्मीहरू बीच प्रतिबिम्बित गर्ने दिन पनि हो ।

पछिल्लो समय पत्रकारिता लगाम बिनाका घोडा जस्तै बन्दै गएको छ । आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग गरिँदा यसको गरिमामा आँच आउन थालेको महशुस भएको छ । दलगत रुपमा विभाजित भएका पत्रकारहरुले आफ्नो दलका एजेण्डा अनुकूल पत्रकारिता गर्दा यहाँ आवाजविहीनहरुको आवाज भन्ने पत्रकारिता आज ठिक विपरीत भएको छ । जोसँग दम छ उसैको काम छ भने झैं आज वास्तविकता के हो भन्ने भन्दा पनि कसले रकम दिन्छ उसकैको प्रचार गर्ने प्रवृत्तिले पत्रकारिता पर्चाकारितामा सिमीत बन्दै गएको छ ।

पत्रकारिता सत्ता पक्षाको स्थायी प्रतिपक्षको रुपमा हेर्ने गरिए पनि पछिल्लो समय पत्रकारिता सत्ताकै वरिपरी घुमेर उसकै ढाकछोप गर्ने निकाय बन्दै गएको छ । पछिल्लो समय पत्रकारितामा भ्रम सिर्जन ागर्ने सामग्रीले प्राथमिकता पाउन थालेको पाइन् । समाचारमा आफ्नो विचार व्यक्त गर्न पाइनन् । तर, पत्रकारिले आफ्नो विचार राख्दै पत्रकारितालाई आफू अनुकूल प्रस्तुत गर्ने गरेको पाइएको छ । प्रेस स्वतन्त्र हुनुपर्छ, तर मनपरी चाहिँ हुनुहुँदैन । सञ्चारमाध्यमलाई दुरुपयोग गर्दै गरिने पर्चाकारिताले मुलुकमा भयानक समस्या निम्तिने खतरा रहेको छ । यसतर्फ पत्रकारिताका क्षेत्रका अग्रजहरुले बेलैमा सोच्ने दिन आइसकेको छ ।

कोशी प्रदेशमा पछिल्लो समय पत्रकार माथि हुने आक्रमणका घटनामा कमी आए पनि आर्थिक मन्दिका कारण धेरै पत्रकारले सञ्चारसंस्थाबाट विदा लिनुपरेको अवस्था रहेको छ । मिडिया एक्सन नेपालले तयार पारेको वर्षिक रिर्पोटले आर्थिक मन्दिकै कारण धेरै सञ्चार संस्था बन्द हुन पुगेका उल्लेख गरेको छ । सञ्चार गृह धराशायी बन्दा धेरै पत्रकारहरुले आफ्नो पेशाबाट पलायन बन्नुपरेको छ भने अधिकांशले पत्रकारितालाई पार्टटाइम मात्र बनाएका छन् । आफ्नो मुल पेशा वा व्यवसाय अर्कै भए पनि नामका लागि मात्रै अल्झिने पत्रकार कोशीमा धेरै रहेको पाइएको छ । सन् २०२३ का मे ३ देखि सन् २०२४ को मे २ तारिख सम्ममा कोशी प्रदेशामा कुनै पनि पत्रकारको हत्या भएन् । तर, कोशी प्रदेशको राजधानीमा नै पत्रकार प्रेम देवानमाथि भौतिक आक्रमण भयो ।

वि.सं. २०८० मंसीर २१ गते समाचार संकलनमा रहेका पत्रकार देवानमाथि आन्दोलनरत पक्षका केही व्यक्तिले भौतिक आक्रमण गरेका थिए । स्थानीयबासी तथा आगलागीबाट पीडित भएकाहरुले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउ गरेको समाचार संकलनका लागि पुगेका पत्रकार देवानलाई आन्दोलन पक्षका केही समूहले दुव्र्यवहार गर्दै आक्रमण गरेका थिए । त्यसक्रममा उनको देब्रे हातमा गहिरो चोट लागेको थियो ।

त्यस्तै समाचार लेखेकै भरमा झापाका पत्रकार पुजन घिमिरेमाथि भौतिक आक्रमणको प्रयास भएको थियो भने उनी पनि विभिन्न धम्कीहरु समेत आएको थियो । समाचार लेखैकै भरमा अन्य पत्रकारमाथि आक्रमण नभए पनि केही अप्ठ्याराहरु सिर्जना भएको बताइएको छ । पत्रकारमाथि भएका आक्रमणबिरुद्ध सबै पत्रकारहरु एकजुट भएर आवाज बुलन्द गर्नु सकरात्मक पक्ष हो । केही समाचारका विषयमा भने अर्को पत्रकारले खण्डन शैलीमा समाचार प्रकाशन तथा प्रशारण गर्दा नागरिकमा भ्रम पैदा भएको पाइयो भने यसले पत्रकारिताको विश्वसनीयतामै प्रश्न चिन्ह खडा गरेको पाइयो ।

देशकै सबैभन्दा धेरै जिल्ला रहेको कोशी पछिल्लो एक वर्ष अशान्त नै रहयो । यहाँ पहिचतानको आन्दोलन निकै चर्कियो । उक्त समयमा पत्रकारमाथि निकै चुनौति खडा भयो । कोशीमा राज्य पक्ष र गैरराज्य पक्षबाट पनि भौतिक आक्रमण, डर त्रास सिर्जना गर्ने काम यो एक वर्षमा भएन् । छिटफुट घटना बाहेक कोशी प्रदेश यो वर्ष पत्रकारको सुरक्षाको हिसाबमा ठिकै रह्यो । तर, यो वर्ष पत्रकारिता पेशबाट भने धेरैले अन्यत्रको बाटो रोज्नुप¥यो । आर्थिक मन्दीका कारण धेरै सञ्चारमाध्यम बन्द भए भने धेरै पत्रकारले आफ्नो रोजगारी गुमाउनुप¥यो । त्यसको सबैभन्दा धेरै प्रभाव महिला पत्रकारहरुमा परेको पत्रकार महासंघहरुले जानकारी दिएका छन् ।

कोशी प्रदेशमा पत्रकार माथि हुने आक्रमण तथा धम्कीका घटनामा कमी आए पनि देशभरको तुलना गर्दा भने प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको पाइएको छ । नेपाल पत्रकार महासंघले सन् २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेको जनाएको छ । सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकामा सन् २०२३ मा ५८ वटा घटना महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा रेकर्ड भएको छ । त्यस्तै सन् २०२३ मा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएका छन् । सन् २०२२ मा १३२ पुरुष र १८ पत्रकार महिला प्रभावित भएका थिए । त्यस्तै यो वर्ष पाँच वटा सञ्चार संस्था प्रभावित बनेका छन् भने २०२२ मा छ वटा सञ्चार संस्था प्रभावित भएका थिए ।

नेपाल पत्रकार महासंघले सन् २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात् पेशागत असुरक्षालाई मुख्य चुनौतिको रुपमा लिएको छ । राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक–पटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्ने लगायतका कार्य सन् २०२३ मा भएका छन् । नेपालको सुदूरपूर्वी क्षेत्र अन्तर्गत कोशी प्रदेशका १४ जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरु पनि कोरोनाको चपेटामा पर्दा केही बन्द भएका छन् भने केहीले लामो समयपछि पुनः सञ्चालनको तयारी शुरु गरेका छन् । हिमाल, पहाड र तराईका जिल्लाहरु समेटिएको कोशी प्रदेशमा रेडियो, पत्रिका, अनलाइन, टेलिभिजन लगायतका सञ्चारमाध्यम सञ्चालित रहेका छन् । पछिल्लो एक वर्ष कोशी प्रदेशका सञ्चारमाध्यमहरुलाई निकै कठिन अवस्था गुजार्नुपर्ने बाध्यता आइलाग्यो । आर्थिक संकटमा परेका सञ्चारमाध्यमहरु र उक्त सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु वेरोजगार मात्र होइन पेशाबाट पलायन नै हुनुपर्ने अवस्था पनि सृजना भयो ।

एक सय ३७ वटा स्थानीय तह रहेको प्रदेशमा एक हजार एक सय ५७ वटा वडा छन् । एक महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिका वटा छन् । २८ वटा प्रतिनिधिसभा क्षेत्र रहेको प्रदेशमा प्रदेशसभा निर्वाचन क्षेत्र ५६ वटा छन् । पछिल्लो समय अधिकांश छापा माध्यम धराशायी बनेका छन् । छापा र रेडियोमा कार्यरत पत्रकारहरुले आफ्नो पेशाबाट पलायन बन्नुपर्ने अवस्था आएको छ भने केही पत्रकारले आफ्नै नाममा अनलाइन पोर्टल सञ्चालनमा ल्याएर काम गरिरहेको पाइएको छ । महिला पत्रकारहरु भने धेरै पेशाबाट नै पलायन भएको पाइएको छ । केहीले आफ्नो आन्तरिक समस्या देखिएका छन् भने केहीले अन्य पेशा अंगाल्नका लागि पत्रकारिता पेशा छाडेको बताएका छन् । सञ्चारमाध्यमले लामो समयसम्म तलब भत्ता नदिँदा धेरैले पेशाबाट पलायन हुनु प¥यो । यो पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाहरुका लागि भने दुःखको कुरा हो ।

पछिल्लो एक वर्षमा कोशी प्रदेशमा सरकारी क्षेत्रबाट पत्रकारलाई अवरोध गर्ने तथा समाचार हटाउन दवाब दिने साथै समाचार नलेख्न धम्की दिने गरेको पाइएको छैन । यो कोशी प्रदेशका पत्रकारका लागि सुखद् खबर हो । तर, केही संस्था, व्यक्तिहरुले भने पत्रकारलाई धम्कीपूर्ण पत्र समेत लेखेर समाचारको विरोध गर्नुका साथै भूमिगत शैलीमा देखिएका केही समूहले आफू अनुकूलको समाचार नलेखिए पत्रकारलाई जस्तोसुकै कारवाही गर्न सक्नेसम्मका धम्की दिएर प्रेस स्वतन्त्रता विरोधी गधिविधिलाई प्रश्रय दिएको पाइन्छ । यो सञ्चार क्षेत्रका लागि दुःखद् पक्ष हो ।

पत्रकारलाई स्वतन्त्र, निष्पक्ष र जिम्मेवार बनाउने दायित्वका विषयमा मिडिया एक्सन नेपालले खेलेको भूमिकाको कोशी प्रदेशका पत्रकारले प्रशंसा गरेका छन् । पत्रकारिता विश्वसनीय हुनुपर्छ भन्दै गर्दा जिम्मेवार पत्रकारिता हुन आवश्यक छ । समाज परिर्वतन र रुपानतरणको अगुवाको रुपमा रहेको प्रेसलाई स्वतन्त्र र जिम्मेवार बनाउन आवश्यक छ । राज्यले समेत प्रेसको विषयमा गम्भिरतापूर्वक लिनुपर्छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कोशी प्रदेशका पत्रकारसहित विश्वर रहेका पत्रकारहरुलाई हार्दिक शुभकामना व्यक्त गदछौं ।

(ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here