अल्बानिया र जापान पठाउने नाममा ठगी

0
6

भद्रपुर।

वैदेशिक रोजगारीका लागि युरोपको अल्वानिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका –२ स्थित पाराखोपी निवासी ३८ वर्षीय हरि भन्ने भीमप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

पौडेलले १५ लाख ७ हजार रुपैयाँ ठगेको भन्दै मेचीनगर नगरपालिका – ११ स्वतन्त्र शिवाकोटी, विनोदकुमार ढकाल, मनकुमार बेगा र डाकबहादुर मिश्रले संयुक्त रुपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । विभागको पत्राचार अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडले पौडेललाई पक्राउ गरेको डीएसपी चन्दले जानकारी दिए । उनलाई शुक्रवार नैै विभाग पठाइएकोे उनको भनाइ छ ।

विगत लामो समयदेखि गाउँघरमा एजेन्टको काम गर्दै आइरहेका पौडेलले पीडितहरूलाई युरोपको अल्वानियामा वायर हाउसका लागि टुना मार्केटमा काममा लगाइदिन्छु भनी ठगी गरेको भनी खुलेको छ ।

उनले त्यहाँ जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र मासिक तलब १ लाख २५ हजार हुन्छ भनी विश्वास दिलाएका थिए । दुई वर्षको कामका लागि उनले भिषा बापत शुरुमा प्रतिव्यक्ति एक लाख रुपैयाँ लिएका थिए । सक्कल राहदानी पनि लिएपछि उनले फेरि भिषाका लागि प्रतिव्यक्ति ५० हजार लिए । उनले सन् २०२३ मा नोभेम्बरमा भिषा पेपर हात लगाए । टिकट र श्रमका लागि फेरि उनले प्रतिव्यक्ति रु. ३ लाखको दरले मागे । केहीले रकम पनि बुझाए । टिकट पनि आयो भन्दै उनीहरूसँग थप रकम मागेको पीडित पक्षको भनाइ छ ।

उनले पटक–पटक उडाउने मिति सार्न थाले । जनवरी २२ मा उडाउने अन्तिम मिति दिए पनि उनीहरू अल्वानिया जान पाएनन् । त्यसपछि उनीहरू ठगीमा परेको भन्दै बैङ्क स्टेटमेन्टसहित विभागमा उजुरी दिएको पत्रमा उल्लेख छ ।
उता काठमाडौं, वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २ सय १९ जनालाई ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नियोनी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक रामेछाप लिखू तामाकोशी गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी बस्ने ३५ वर्षीय नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र सोही कन्सल्टेन्सीमा आवद्ध झापा गौरादह नगरपालिका–१ घर भई ललितपुर भैंसीपाटी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् ।

उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरूपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ देखि ७ लाख रूपैयाँसम्म उठाउने गरेको, बैंक खातामा २ सय भन्दा बढी व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एटीएम कार्ड, कनेक्ट आइपीएस तथा चेकमार्फत रकम निकाली दुरूपयोग एवम् ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here