अव्यवहारिक शिक्षा प्रणाली

२७ बैशाख २०८१, बिहीबार मा प्रकाशित

कुनै पनि देश विकसित हुन सबैभन्दा पहिला शिक्षा स्वास्थ्य हुनु जरुरी छ । भनिन्छ शिक्षा बिना संसार अन्धकार छ । हाम्रो देश नेपाल दुई ठूला देश चीन र भारतको बीचमा दुई ढुंगाबीचको तरुल जस्तै छ । नेपालमा प्रसस्त सम्भावना छ ।

भौगोलिक बनावट हिमाल, पहाड, तराई, वनजंगल, खोला नाला छन्, सानो अनि सुन्दर धेरै सम्भावना बोकेको बुद्ध जन्मेको देश, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको, शान्तिको प्रतिक यो सानो सुन्दर र शान्त देशलाई बनाउन कतिबेर पनि लाग्दैन मात्र राम्रो नेतृत्व भए पुग्छ ।

यति सानो देशमा आज शिक्षामा व्यापार भएको छ, देशको अर्थतन्त्र शिक्षामा लगानी गरेको छ । तर, त्यो सबै बालुवामा पानी खन्याए जस्तो भएको छ । स्कूलका भवन बनेका छन् । वर्षेनि शिक्षक–शिक्षिका नियुक्ति गरेका छन्, राज्यको सम्पत्ति यति धेरै लगानी गर्दा पनि शिक्षा भने ज्यू का त्युँ नै छ, सामुदायिक विद्यालयमा विद्यार्थी छैनन्, भएकाको पनि उपलब्धि मूलक छैन ।

निजी विद्यालयमा चर्को मूल्य तिरेर अभिभावकले आफ्ना छोराछोरीको भविष्य खोज्दैछन् । सरकार स्कूलको भवन बनाउने र शिक्षक भर्ति गर्दै ठिक छ, आखिर यसको मार अभिभावकलाई पर्दछ । निजी विद्यालय पनि शिक्षा राम्रो दिनेभन्दा पनि कसरी आफ्नो स्कूलमा धेरै विद्यार्थी ल्याउने मात्रै सोचले गर्दा आज नेपालको शिक्षा प्रणाली महँगो र फितलो बन्दै गएको छ ।

शिक्षामा यस्तो विकृति छ सामुदायिक विद्यालयमा सरकारले सम्पूर्ण लगानी गरेको छ । तर, प्रभावकारी छैन् निजी विद्यालय खोल्न स्वीकृत दिएको छ जहाँ पनि कमिशन छ । किताब कुन पब्लिकेशनको चलाउने, कुन पब्लिकेशनले कमिशन धेरै दिने त्यही पब्लिकेशनको चलाउने होडबाजी चलेको छ । किन यो कुरामा सरकार मौन बसेको छ । विद्यार्थीको भविष्यसँग जोडिएको कुरामा किन सरकार मौन छ ।

सीपमूलक शिक्षा छैन, सामुदायिक विद्यालयमा पढाई छैन, निजीमा पब्लिकेशनको हानाथाप, राज्यको यत्रो लगानी गरेर भवन, शिक्षक–शिक्षिका राखेपछि सरकारले एकरूपता ल्याउन सकेको छैन । आज ८ कक्षामा पढ्ने विद्यार्थीलाई सोध्यो भने १२ सकेर विदेश जाने भन्छन् । के १२ सकेर विदेश जाने शिक्षा मात्रै हो त ? यो के हो भन्दा सरकार गरे जस्तो गर्ने, निजी विद्यालयलाई प्रोत्साहन दिने र कमिशनको खेल मात्र होइन र ?

साँच्चै नेपाल सरकारले शिक्षा क्षेत्रमा लगानी गरेर बालबालिकाको उज्ज्वल भविष्यलाई बनाउने हो भने यो शिक्षामा भएको सिन्डीकेट खारेज गरेर भएका स्रोत साधन (भवन र शिक्षक)लाई परिचालन गरी सबै निजी विद्यालयलाई समेत समेटेर व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेमा पक्कै पनि केही हदसम्म शिक्षा क्षेत्रमा आशाको दियो बल्थ्यो ।

भवनलाई रंगरोकन अनि ठूला–ठूला भवन बनाएर मात्र होइन व्यवहारिक र सीपमूलक शिक्षा दिन जरुरी छ । बालबालिका भनेका काँचो माटो हुन जस्तो बनायो त्यस्तै बन्छन् । त्यसैले व्यवहारिक र सीपमूलक शिक्षा दिई सुन्दर भविष्य र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ ।

प्रयोगात्मक शिक्षा प्रणाली नहुँदा पछिल्लो समय विदार्थीमा नैराश्यता छाएको छ । शिक्षा प्रणाली अव्यवहारिक हुँदा १२ कक्षा उत्तीर्ण गरिसक्दा समेत विद्यार्थीमा न कुनै सिप वा व्यवहारिक ज्ञान नै छ । त्यसैले शैक्षिक प्रणाली सुधार गर्न शिक्षा क्षेत्रका अगुवाहरुले तदारुकता देखाउन जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here