खुदुनाबारीमा विशेषज्ञसहितको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

0
9

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा विशेषज्ञसहितको निःशुल्क एक दिने आयुर्वेद स्वास्थ्य शिविर सोमबार अर्जुनधारा–३स्थित खुदुनावारीमा सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१को स्वीकृत वार्षिक निती तथा कार्यक्रम अनुसार अर्जुनधारा–१, २ र ३ नं. वडामा बसोबास गर्ने नगरवासीहरुलाई लक्षित गरि आयुर्वेद स्वास्थ्य उपचारमा उनीहरुको पहुँच पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले जानकारी दिए ।

अर्जुनधारा–३ नं वडा कार्यालयको प्राङ्गणमा वडाध्यक्ष सीताराम भट्टराईको अध्यक्षतामा आयोजित शिविरको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमालले उद्घाटन गरेका थिए ।

शिविरमा प्रादेशिक आयुर्वेद अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुर, जिल्ला आयुर्वेद अस्पताल केन्द्र मोरङका प्रमुख डा. केनीन राई, जिल्ला आयुर्वेद अस्पताल केन्द्र झापाका प्रमुख डा. अनिलकुकमार यादव र डा. सुरज पन्तले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

पायल्स, फिस्टुला, फिसर, मलद्वारमा हुने रोगहरु, नसा, बाथ तथा हाडजोर्नी सम्बन्धी रोगहरुको जाँच, परामर्श तथा औषधी वितरण गरिएको शिविरमा २१४ जनाले सेवा लिएको बताइएको छ । “डाक्टरका अनुसार सेवा लिएकामध्ये ८–१० जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।”–औषधालय प्रमुख ठाकुरले बताए ।

औषधालय प्रमुख ठाकुरले स्वागत गरेको उक्त शिविर उद्घाटन कार्यक्रमको सञ्चालन वडासचिव खगेन्द्र लिङदेनले गरेका थिए ।

नियम विपरित आयुर्वेद औषधी बिक्री गर्ने प्रहरी नियन्त्रणमाः

झापाको अर्जुनधारा–३स्थित खुदुनाबारी बजार क्षेत्रमा आयुर्वेदको नाममा जथाभावी औषधी बिक्री गर्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी ३० वर्षीय करिमन मियाँलाई अस्थायी प्रहरी चौकी खुदुनावारीले नियन्त्रणमा लिएको छ ।

सोमबार शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा हुने शिविरको टोली देखेपछि भागेको उनलाई औषधालयका कर्मचारीहरुले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको औषधालय प्रमुख ठाकुरले जानकारी दिए ।

नियम विपरीत आयुर्वेदको नाममा जथाभावी औषधी बिक्री गर्नु र सर्वसाधारणहरुसँग चर्को शुल्क लिनु गलत भएको औषधालयका प्रमुख ठाकुरले प्रतिक्रिया दिए । यस अघि पनि उनलाई शनिश्चरे बजार क्षेत्रमा स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिई शनिश्चरे प्रहरी चौकीमा जिम्मा लगाएको थियो ।

यता नियन्त्रणमा लिइएको मियाँलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाइएको चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहितबहादुर मगरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here