मेची अस्पतालमा सेवाग्राही बढ्दैै

0
10
उद्धव पुरी,झापा। 
मेची प्रादेशिक अस्पताल भद्रपुरमा अत्याधुनिक सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको संख्या बढ्दै गएको छ ।
अस्पतालमा दैनिक सात सयभन्दा बढीले ओपिडीसहितका सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार एक सय तीन जनाको दरबन्दी रहेको अस्पतालमा ४५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।
 २०१५ सालमा १५ शैयाको अस्पतालका रुपमा शुरु भएको जानकारी दिँदै सूचना अधिकारी पोखरेलले भने –२०३३ सालेदेखि पूर्ण क्षमतामा अस्पताल सञ्चालन भएको हो । नयाँ बनिएको अस्पताल भवनमा समस्या देखिएपछि पुनः त्यसको मर्मतसम्भार भएको बताउँदै उनले करिव १५ दिन भित्रमै नयाँ भवनबाटै अस्पतालले सेवा प्रदान गर्ने योजना रहेको बताए ।
 दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा करारमा नियुक्ति गरेर पनि अस्पतालले कार्य सञ्चालन गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका नायक सुब्वा बशिष्ठ अधिकारीका अनुसार अस्पतालमा २१ जना बिशेषज्ञ चिकित्सकको दरबन्दी  रहे पनि हाल ४ जना  र एक जना करार गरेर ५ जना मात्र बिशेषज्ञ चिकित्सक रहेका छन् ।
 हाल जम्मा चिकित्सकसहित २६८ जना कर्मचारी रहेको मेची प्रादेशिक अस्पतालमा स्वीकृत दरबन्दी १०३ मध्ये स्थायी, काज र फाजिलमार्फत ४७ जना, करारतर्फ ९० जना, बिकास समिति स्थायीतर्फ १३ जना, बिकास समितितर्फ दैनिक ज्यालादारी ४४ जना, बिकास समिति स्वयम्सेवकतर्फ ५ जना, बिकास समिति करारतर्फ ५५ जना र छात्रवृत्ति करारतर्फ १४ जना कार्यरत रहेको अस्पताल प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।
 ५० शैयाको अस्पतालमा हाल ११० शैया सञ्चालनमा रहेको सूचना अधिकारी पोखरेलले बताए । पित्तथैली, हर्निया, एपेन्डिसाइटिसलगायतका रोगको शल्यक्रियासमेत गरिने उक्त अस्पतालमा हाइड्रोसिल र पाठेघर खसेको निःशुल्क शल्यक्रिया हुने गरेको पोखरेलले जानकारी दिए । अस्पतालमा औषधि सेवा, सर्जरी सेवा, हार्डजोर्नी सम्बन्धी सेवा, बालरोग सेवा, स्त्री तथा प्रसूती सेवा, सिटी स्क्यान सेवा, २४ सै घण्टा ल्याव र इमरजेन्सी सेवा, फार्मेसी सेवा, ओसिएमसी सेवा, एआरटी सेवा, ओएसटी सेवालगायत हप्तामा २ पटक साधारण आँखा उपचार गरिँदै आएको बताइएको छ । त्यस्तै अस्पतालले स्वास्थ्य बिमा सेवा पनि प्रदान गर्दै आएको छ ।
 त्यस्तै ओपिडी सेवा अन्तरगत होमियोपेथिक, अफथाल्मीक, डर्मोटोलोजी, अर्थोपेडिक, न्यूरो, मेडिसन, सर्जीकल, पीडिअट्रीक, गाइनाकोलोजी, इएनटी र डेन्टलको सेवा प्रदान गरिँदै आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङलगायत बिभिन्न स्थानबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।
 अस्पताल प्रशासनले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा ओपोडी सेवा १ लाख ३५ हजार ६३९, इमरजेन्सी सेवा २४ हजार २२ जना र अस्पताल भर्ना भएर सेवा लिने ७ हजार ३३१ जना रहेका छन् । त्यस्तै आर्थिक बर्ष २०७९/०८० मा १ ओपोडी सेवा १ लाख ४९ हजार ८५ जना, इर्मरजेन्सी सेवा २७ हजार ९५६ जना र अस्पताल भर्ना ८ हजार १५८ जनाले सेवा लिएका छन् ।
 अस्पतालले चालूू आर्थिक बर्ष २०८०/०८१ को पौष मसान्तसम्मको मात्र तथ्याङ उपलब्ध गराएको छ । जसमा ओपिडी सेवा ५५ हजार ७२ जना, इमरजेन्सी सेवा १० हजार ६४१ जना र भर्ना हुनेको संख्या २ हजार १७३ जना रहेको छ ।
 कोशी प्रदेश सरकारकै मातहतको अस्पताल भएकाले आर्थिक बर्ष २०८०/०८१ का लागि मात्र कार्यक्रम र ब्यवस्थापन खर्च १७ करोड ५७ लाख रहेको अस्पताल प्रशासनले जनाएको छ । जस अन्तरगत ८ करोड २४ लाख ६४ हजार कार्यक्रम अन्तरगत र सञ्चालन तथा ब्यवस्थापन खर्च अन्तरगत ९ करोड ३२ लाख ४३ हजार रहेको छ । अस्पतालका सूचना अधिकारी पोखरेलका अनुसार अपुग रकम अस्पताल ब्यवस्थापन तथा सञ्चालन समितिले ब्यहोर्ने गरेको छ ।
कोशी प्रदेश सरकारमार्फत खासै त्यस्तो ठूला उपकरणहरु नआएपनि मेडिसिनलगायतका सामग्री आउने गरेको सूचना अधिकारी पोखरेलले बताए । त्यस्तै यस चालू आर्थिक बर्षको साउनदेखि जेठ १९ गतेसम्ममा ७ लाख ६१ हजार ८४८ रुपैयाँ बराबरको बिभिन्न प्रकारका औषधिहरु कोशी प्रदेश सरकारमार्फत अस्पतालमा आएको सूचना अधिकारी पोखरेलले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
 स्वास्थ्य कार्यालय झापाले गर्दै आएको कार्य
 स्वास्थ्य कार्यालय झापामार्फत पनि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आर्थिक बर्ष ०८०÷०८१ मा स्वास्थ्य कार्यालयमार्फत जनस्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन, प्रादेशिक एम्बुलेन्स तथा अस्पताल ब्यवस्थापन, जिल्ला स्तरमा आरआरटी बैठक तथा समीक्षा, नसर्ने रोग रोकथाम कार्यक्रम, बिद्यालय नर्सिङ कार्यक्रम स्थानीय सरोकारवालासँग समन्वयमा कुपोषित बालबालिका स्क्रीनिङ कार्यक्रमलगायतका कार्यक्रममार्फत एक करोड ७५ लाख ४३ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
आर्थिक बर्ष ०७९/०८० मा १ करोड ५५ लाख ५३ हजारको बिभिन्न कार्यक्रम गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । १४ जनाको स्वीकृत दरबन्दी रहेको स्वास्थ्य कार्यालय झापामा छात्तबृत्ति, करार र काज गरेर २० जना कर्मचारी भएको कार्यालयले जनाएको छ । त्यस्तै कोशी प्रदेश सरकारले स्वास्थ्य कार्यालय झापामार्फत हालसालै झापाका गर्भवती तथा सुत्केरी महिलाका लागि पौष्टिक पिठो उपलब्ध गराएको छ ।
 तीन महिनाको गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले ३० हजार नौ सय २० केजी पौष्टिक पिठो उपलब्ध गराएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । आमा र बच्चालाई आवश्यक पौष्टिक तत्व परिपूर्ति गरी उनीहरुको स्वास्थ्य सुधार गर्न प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो । आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरी महिलाका लागि यो कार्यक्रम ल्याइएको हो ।
 पौष्टिक पिठोमा विभिन्न १५ प्रकारका भिटामिन र मिनिरल्स मिसिएको छ । जसले गर्भवती र सुत्केरीलाई आवश्यक पौष्टिक तत्व सहजै प्राप्त हुने स्वास्थ्य कार्यालयले झापाले जनाएको छ । एक सय ग्राम पिठोको उपभोगबाट ४१० क्यालोरी र आवश्यक पोषकतत्व प्राप्त हुने श्रेष्ठले बताए ।
 पौष्टिक पिठो निःशुल्क वितरणका लागि जिल्लाका १५ वटै पालिकामा पठाइएको छ । सम्बन्धित पालिकाले स्वास्थ्य संस्थाबाट लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here