‘बिर्तामोडको विकासका लागि पर्याप्त बजेट छैन’

0
11

बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८०/ ०८१ मा बुट्टाबारी– प्याकुरेल चोक जोड्ने स्मार्ट सडक निर्माण, बिर्ताबजारमा कृषि बजार तथा सामुदायिक भवन निर्माण, बिर्तामोड नगरअस्पतालको स्तरोन्नति गर्दै २४सै घण्टा इमरजेन्सी सेवा प्रवाह, डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति, बिर्तामोड नगरपालिकाको प्रशासनिक भवन निर्माण सहितका विभिन्न १८० वटा योजनाको काम अघि बढाएको थियो । जस अन्तर्गत केही योजनाको काम सम्पन्न भएका छन् भने बाँकी ठूला र बहुवर्षीय योजनाको काम निर्माणका चरणमा छन् । बिर्तामोड नगरपालिकाले पछिल्लो एक वर्षमा नगरभित्र विकास निर्माणसहित कस्ता–कस्ता सेवा प्रवाह ग¥यो नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईसँग गरिएको कुराकानीको सम्पादित अंश :


‘शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास सुशासन सहितको समृद्धि’ भन्ने मूल नारा लिएर आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यहाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुरूप बिर्तामोड नगरक्षेत्रको विकास गर्न सफल हुनुभयो ?

– बिर्तामोड नगरपालिकाले प्रस्तुत गरेको नीति कार्यक्रम अनुसार नगरको विकास भइरहेको छ । अहिले नगरपालिकाले विकास निर्माणसहितका धेरै काम अघि बढाएको छ । सर्वप्रथम म विकास निर्माणतर्फ केन्द्रीत रहन्छु । विकास निर्माणतर्फ हेर्ने हो भने भौतिक पूर्वाधारतर्फ ड्रेन निर्माणदेखि बाटाघाटाको स्तरोन्नति, कालोपत्रे, पेवर्स लगाउने काम भइरहेका छन् । विश्व बैंकको प्रोजेक्ट पनि यहाँ सञ्चालित छ । त्यो प्रोजेक्टको काम पनि हुँदैछ । प्रोजेक्टको काम ५० प्रतिशतको हाराहारीमा सम्पन्न भएको र निर्माणाधीन अवस्थामा रहेको छ । बिर्तामोड नगरपालिका–६, ७ र ८ नम्वर वडामा सञ्चालित प्रोजेक्टले सडक निर्माणको काम हेर्छ । बिर्तामोड–६ स्थित बुट्टाबारीबाट प्याकुरेल चौक हुँदै बिर्ताामोड–भद्रपुर सडकखण्डमा जोडिने बाटो वल्र्ड बैंकको सहयोगमा निर्माणको चरणमा छ । बिर्ता बजारको कृषि भवनसहित नगर अस्पतााल, नगरपालिकाको कार्यालय भवन त्यस्तै वडागत रुपमा संघ, प्रदेश र स्थानीय तहको लागतमा भवन निर्माणका कामलाई अघि बढाइएको छ । बिर्तामोड नगर अस्पतालको पहिलो भवन निर्माण सम्पन्न गरी सेवा नै सुचारु गरिएको छ भने अर्काे १८ करोड रुपैयाँको लागतमा दोस्रो भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

राजस्व परिचालन नीतिलाई हेर्ने हो भने बिर्तामोड नगरपालिकाको क्षेत्रधिकारभित्र पर्ने सम्पत्ति कर, मालपोत कर तथा भूमि कर ,व्यवसाय कर ,जडीबुटी, कबाडी तथा जीवजन्तु कर लगायत सम्पूर्ण कर सङ्कलनमा बिर्तामोड नगरपालिका सफल भयो ?


– नियमित संकलन हुने कर उठिरहेकै अबस्था छ । तर, घरबहाल करलाई भने व्यवस्थित गर्न सकिएको छैन । त्यसलाई समेत व्यवस्थित गर्ने हाम्रो प्रयत्न रहेको छ । बिर्तामोडमा बढी राजश्व उठ्ने भनेको व्यवसाय करबाटै हो । यो सँगै सम्पत्ति कर, विज्ञापन कर, हाटबजार आदि कर नै हाम्रो आम्दानीका स्रोत हुन् । त्यसमा केही व्यवसाय दर्ताहरु छुटेको अवस्था छ । त्यसलाई समेत हामी दायरामा ल्याउन प्रयास भइरहेको छ । जसका लागि वडा र नगरका कर्मचारी लागिरहेका छन् । आगामी आर्थिक वर्षभित्र व्यवसाय दर्ता छुटेका सबैलाई दायरामा ल्याउन हामी सफल हुन्छौं ।

बिर्तामोड नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार गुणस्तर सुधार गर्दै प्रविधि तथा व्यावसायिक शिक्षाका लागि के–के काम भए ?

– नगरको शिक्षा बिकासका लागि धेरै काम कामहरु भएका छन् । पहिला जुन अवस्थामा विद्यालय सञ्चालित थिए त्यसलाई सुधार गर्दै प्रविधिमैत्री बनाउँदै लगिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार छ । पहिलाको तुलनामा बिर्तामोडमा सञ्चालित सामुदायिक विद्यालय धेरै गुणाले राम्रा भएका छन् । हिजो बिर्तामोडमा रहेका सामुदायिक विद्यालयमा आफ्ना नानीहरु पढाउँदा हिनताबोध मान्ने अभिभावकहरु अहिले सामुदायिक विद्यालयमा आफ्ना नानीहरु पढाउन उत्साहित छन् । यसबाट पनि प्रष्ट हुन्छ बिर्तामोडको शिक्षा सुधारोन्मुख छ । अब्बल बन्दै गएको छ । भौतिक पूर्वाधारतर्फ पनि हेर्ने हो भने प्राय सबै सामुदायिक विद्यालयमा भवन पुगेका छन् । शिक्षालाई प्रविधिमा जोड्ने कुरामा बिर्तामोड नगरपालिका अगाडि छ । आईसीटी, पुस्ताकालय हरेक विद्यालयमा राखिएको छ । प्राविधिक शिक्षामा समेत बिर्तामोड नगरपालिकाले जोड दिएको छ । जसका लागि छुट्टै शिक्षकको व्यवस्थापन, कम्प्युटर व्यवस्थापनमा समेत हामीले बजेट विनियोजन गर्दै शैक्षिक गुणस्तर सुधारमा धेरै कार्यक्रम सञ्चालन गरेका छौं । अहिले निजी विद्यालयभन्दा सामुदायिक विद्यालय राम्रो बन्दै गएरहेका छन् ।

बिर्तामोड नगरपालिकाद्वारा स्वास्थ्य क्षेत्रको विकासका लागि के–के काम भए ?

– बिर्तामोड नगरपालिकाभित्र यसअघि तीन वटा मात्र आधारभूत स्वास्थ्यचौकीहरु थिए । गरामनी, अनारमनी र चारपानेमा मात्र आधारभूत स्वास्थ्य संस्था थए । तर, २०७४ को स्थानीय तहको निर्वाचन पछि नगरका १० वटा वडामा ११ वटा स्वास्थ्य संस्था निर्माण गरिएको छ । पहिलो कार्यकालमा पनि म उपप्रमुख हुँदै गर्दा शहरी स्वास्थ्य कार्यक्रम अनुरुप नगरका सबै वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण गरेका छौं । २०७४ अघि बिर्तामोडका सबै ठाउँमा स्वास्थ्य केन्द्र नहुँदा इमुलाइजेशन सञ्चालन गर्दा समेत समस्या हुने गरेको थियो । स्वास्थ्य संस्थाको अभावमा इमुलाइजेशन सञ्चालन रुखको फेदमुनि, चौतारामा सञ्चालन गर्नुपथ्र्याे । त्यो समस्या अहिले हटेर गएको छ । हामीले १० नम्वर वडामा त झन् दुईवटा स्वास्थ्य संस्था स्थापना गरेका छौं । भवनसहितको काम भएकाले स्वास्थ्य क्षेत्रमा पनि सन्तोष जनक काम भएको छ । हामीले बिर्तामोडमा नगर अस्पताल पनि सञ्चालनमा ल्याएका छौं । पहिला हामीसँग नगर अस्पताल थिएन । अनारमनी स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै अस्पताल सञ्चालन गरिएको हो । अहिले हामीसँग १५ शय्याको अस्पताल छ । हामीसँग विशेषज्ञ डा.को सेवा पनि उपलब्ध छ । जुन सेवा सहजै लिन सकिन्छ । आगामी दिनमा हामी २४ घण्टे सेवा पनि प्रवाह गर्ने सोचमा छौं र यो सेवा छिट्टै सञ्चालन हुन्छ ।

कृषि, पशुपंक्षी तथा मत्स्य विकासका लागि बिर्तामोड नगरपालिकाको योगदान के रहेको छ ?

– बिर्तामोड नगरपालिकाबाट कृषि क्षेत्रको विकासका लागि पनि थुप्रै काम भएका छन् । हामीले पशु र कृषिलाई जोड्नै कृषक लक्षित कार्यक्रम सञ्चालन गरेका छौं । कृषि र पशुको अन्योन्याश्रित सम्बन्ध भएका कारण पनि हामीले कृषि क्षेत्र र पशुको विकासका लागि थुप्रै कार्यक्रम सञ्चालन गरिरहेका छौं । जसले गर्दा उत्पादनलाई बढाउन सहज भएको छ । गोठ सुधारका कार्यक्रमदेखि मेयर पकेट प्याकेज कार्यक्रम हामीले सञ्चालन गर्दै आएका छौं । समूहगत रुपमा बाख्रा वितरण, बंगुरका पाठा वितरण, कृषिमा सिँचाईका लागि मोटर, बोर्डिङसहित कृषि औजार उपकरण समेत वितरण गर्दै आइरहेका छौं । मत्स्यपालक कृषकलाई माछाका भुरादेखि माछा पोखरी निर्माण सम्ममा अनुदान उपलब्ध गराएका छौं । यसले गर्दा बिर्तामोडका कृषकलाई ठूलो राहत मिलेको मैले बुझेको छु ।


बिर्तामोड नगरपालिकाले वन तथा वातावरण र पर्यटन क्षेत्रको विकासका लागि के गरिरहेको छ ?

– पर्यटन विकासका लागि पनि नगरबाट थुप्रै काम भएका छन् । विराटपोखर, शहीद नेत्र पार्क, ६ नम्वर वडामा रहेको हरियाली सामुदायिक वनभित्र पर्यटन क्षेत्र विस्तारका लागि बजेट विनियोजन गरिएको छ । जसबाट विभिन्न कार्यक्रमहरु ल्याएर कामहरु भइरहेका छन् । रामचौक सामुदायिक वनमा समेत चिल्ड्रेन पार्क निर्माणका लागि डिपिआर गरेर प्रक्रिया अघि बढाएका छौं ।

विपत् व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकाले के कस्ता काम गरिरहेको छ ?

– विपद् न्यूनीकरणका लागि बिर्तामोड नगरपालिकाले समय– समयमा तालिमको व्यवस्थापन गर्दै अति आवश्यक वस्तु के–के हुन् त्यसको व्यवस्थापन गरिएको छ । पानी झरी हुँदा, डुबान हुँदा के गर्न सकिन्छ त्यसका लागि लागि हामी पूर्व तयारीमा जुटेका छौं ।

उद्योग, व्यापार–व्यवसाय, श्रम तथा रोजगारका क्षेत्रमा बिर्तामोड नगरपालिकाले के–के काम गरिरहेको छ ?

– श्रम रोजगार क्षेत्रका लागि हामीले रोजगार शाखा नै स्थापना गरेर थुप्रै काम गरेका छौं । विभिन्न प्रकारका तालिम सञ्चालन गर्दै युवालाई स्वारोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अवस्था छ । भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि समेत हामीले युवालाई तालिम दिएका छौं ।

यातायात तथा पूर्वाधार निर्माण तर्फ बिर्तामोड नगरपालिकाले ‘नगर सडक गुरुयोजन’ तयार गरी सडकको वर्गीकरणका आधारमा सडक कालोपत्रे ,पेबर्स तथा ग्राभेल एवं स्तरोन्नति गर्ने लक्ष्य लिएको थियो । हालसम्म लिएको लक्ष्य अनुसार कति प्रतिशत काम सम्पन्न गर्न सफल हुनुभयो ?

– पूर्वाधार निर्माणका क्षेत्रमा हेर्ने हो भने लिएको लक्ष्य अनुसार हामीले ९५ प्रतिशत काम सम्पन्न गरेका छौं । तर, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने बजेट खुम्चिएका कारण हामीलाई विकास निर्माण र पूर्वाधार विकासका क्षेत्रमा केही कठिनाई उत्पन्न भने भएको छ । तर पनि नगरका सडकको स्तरोन्नति गर्न हामी सफल नै भएका छौं ।

युवा तथा खेलकुदका क्षेत्रमा बिर्तामोड नगरपालिकाबाट के–कस्ता काम भएका छन् ?

– खेलकुदको विकासलाई हेर्ने हो भने हामीले तुलनात्मक रुपमा झापाका अन्य पालिकाभन्दा राम्रो गरेका छौं । युवालाई खेलकुदमा अभिरुची जगाउन नगरका सबै वडामा विभिन्न कार्यक्रममा सहभागी गराएका छौं । विद्यालय स्तरबाटै खेलकुदका गतिविधिमा विद्यार्थीलाई सहभागी गराएर खेलप्रति अभिरुची जगाउने काम भएको छ । त्यस्तै डोमालार राजवंशी रंगशालाको घेरावेराको काम समेत हामीले अघि बढाएका छौं । रंगशालाको विकासका लागि आगामी दिनमा थप डीपीआर बनाएर अरु बढी काम गर्ने सोच रहेको छ ।

कला, साहित्य, संगीत, भाषा, धर्म, सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा के–कस्ता काम भइरहेको छ ?

– कला, साहित्य, संगीत, भाषा, धर्म, सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा काम गर्न नगरले नीति तथा कार्यक्रम नै तयार गरेर अघि बढेको छ । कला, साहित्य, संगीत, भाषा, धर्म, सांस्कृतिक सम्पदाको संरक्षण गर्दै सांस्कृतिक पर्यटनको विकासमा टेवा पु¥याउने हाम्रो लक्ष्य हो । खासगरी आवश्यकता अनुसार मठ मन्दिर, मस्जिद, गुम्वा, छठ भवन, चर्च जातीय र सांस्कृतिक महत्वका भवन र संरचना आश्रम, शक्तिपीठ त्यस्तै पुरातात्विक एवम् ऐतिहासिक महत्वका संरचनाको संरक्षण र निर्माणमा नगरपालिकाले विशेष ध्यान दिएको छ ।

सामाजिक सुरक्षा र लक्षित समूहतर्फ बिर्तामोड नगरबाट के–कस्ता काम भइरहेका छन् ?

– सामाजिक विकास र महिला विकास शाखाद्वारा हामीले विभिन्न कामलाई अघि बढाएका छौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त अपाङ्ग, दलित आदिबासी जनजाति, लोपोन्मुख लगायतका लक्षित वर्ग तथा समुदायको जीविकोपार्जन तथा आवाजमा सशक्तिकरणका विभिन्न कार्यक्रम सञ्चालित छन् ।

विज्ञान, प्रविधि सूचना र सञ्चारतर्फ कस्ता काम सम्पादन भएका छन् ?

– बिर्तामोडलाई सूचना तथा सञ्चार हबको रुपमा विकास गर्ने काम हामीले अघि बढाएका छौं । नगरबाट प्रवाह हुने सेवालाई सरल सहज र पारदर्शी बनाउन आवश्यक कामहरु भइरहेका छन् ।

बिर्तामोड नगरमा सञ्चालित ठूला र बहुवर्षीय योजनाहरूको काम कसरी भइरहेको छ ?

– नगरमा थुप्रै ठूला र वहुवर्षीय योजनाको काम भइरहेको छ । विशेषगरी पूर्वाधार निर्माणका क्षेत्रमा थुप्रै काम हुँदै गरेका छन् । नगर, प्रदेश र संघीय सरकारको बजेटबाट शुरु भएका केही योजनामा रकम प्राप्त नभएका कारण सम्पन्न गर्न कठिनाइ छ । तर, त्यस्ता योजनाको काम समयमा सम्पन्न गराउन नगरले प्रयत्न गरिरहेको छ । बजेट व्यवस्थापनमा म आफैं निरन्तर जुटिरहेको अवस्था पनि छ ।

यसअघि पनि यहाँ जनप्रतिनिधि हुनुहुन्थ्यो । उपप्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेर यहाँले काम सम्पादन गर्नुभयो । अहिले हजुर आफै नगर प्रमुख हुनुहुन्छ । स्वमूल्यांकन गर्दा यहाँ आफ्नो कामप्रति कति सन्तुष्ट हुनुहुन्छ ?

– म मेरो काम प्रति सन्तुष्ट छु । म जुन जिम्मेवारीमा छु त्यो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गरे भने मेरो कामप्रति कुनै शंका गर्ने आधार नै रहँदैन । खास गरेर बिर्तामोडको विकासका लागि भन्ने हो भने पर्याप्त बजेट छैन । जसका कारण सोचे अनुरुप काम हुन नसकेको मैले अनुभूति गरेको छु । अहिले नेपाल सरकारबाट नै बजेट खुम्चिएर तल आएको छ । जसका कारण गर्छु भनेका योजनालाई सम्पन्न गर्न सकिएको छैन । काम गर्ने सन्दर्भमा धेरै चुनौतिहरु छन् । ती चुनौतिको सामना गर्दै अघि बढिरेहेकी छु । मल्टिपाटी सिस्टममा विभिन्नखाले उल्झनहरु आउने गरेका छन् । सबै उल्झनको सामना गर्दै समृद्ध बिर्तामोडको सपना बोकेर म अघि बढेको अवस्था छ ।

महिला मेयर भएर तपाईले काम गरिरह“दा केही समस्याहरु झेल्नु प¥यो ?

– म आफैं चुनौतिसँग भिडेर आएको मान्छे भएकाले त्यस्तो कुनै समस्या अहिलेसम्म झेल्नु परेको छैन । पहिलो कार्यकालमा पनि म उपप्रमुख भएर सफलतापूर्वक जिम्मेवारी बहन गरेकी थिए । अहिले पनि मेयरको कार्यकाल सफल बनाउँछु भन्नेमा म ढुक्क छु । आएका चुनौतिको सामना गर्न म तयार छु ।

बिर्तामोड नगरपालिका क्षेत्रको विकासका लागि यहाँका आगामी योजना के – के रहेका छन् ?

– बिर्तामोडलाई समृद्ध नगर बनाउने मरो पहिलो योजना हो । कति सफल हुन्छु त्यो समयले बताउने छ । तर, मेरो पहिलो प्राथमिकता भनेको बिर्तामोडलाई समृद्ध बनाउने हो । हामीले यो नगरलाई हराभरा नगर, सफा नगरको रुपमा हेर्न चाहेका छौं ।

प्रस्तुति : सुरेन्द्र भण्डारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here