बुद्धआदर्श स्मारिका

0
8

कुनै काम, विषय, इतिहास र योगदानलाई युगयुगसम्म नबिर्सन, पछिल्ला पुस्तालाई सम्झाउन, सिकाउन, जिम्मेवारी सुम्पन, सम्बन्धित कामलाई निरन्तरता दिन र जीवन्त बनाइराख्नलाई स्मारिका (ग्रन्थ) प्रकाशन गर्ने गरिन्छ । यसै मेसोमा बुद्धशान्ति गाउँपालिकास्थित बुद्धआदर्श माध्यमिक विद्यालयले स्मारिका प्रकाशन गरेको छ । बुद्धआदर्श माध्यमिक विद्यालयबारे यत्रतत्र छरिएर रहेका इतिहास एकै ग्रन्थमा संग्रहित भएको छ । जसले तत् विद्यालयको समग्र योगदान जीवन्त बनाइराख्ने छ ।

स्मारिकामा पाँच खण्ड छन् । खण्ड एकमा इतिहास, दुईमा तथ्यांक एवम् सूचना, तीनमा सिर्जना, चारमा स्मारिका प्रकाशनार्थ आर्थिक व्यवस्थापन र खण्ड पाँचमा तस्विरहरु समेटिएका छन् । स्मारिकाको शुरुमा भने विद्यालयका जग्गादाताहरुका तस्विर र नाम प्रकाशित गरिएका छन् । जग्गादाताहरु घनश्याम ढकाल, दिनानाथ ढकाल र नसूह प्रसाई (कुमारबाबु) उल्लेख गरिएका छन् । त्यसपछि राष्ट्रिय गान र शुभकामनाहरु प्रकाशित भएका छन् । अर्थ मन्त्रालय, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, पूर्व कृषि राज्य मन्त्री सरिता प्रसाई, पूर्व प्रतिनिधि सभा सदस्य पवित्रा निरौला (खरेल), बुद्धशान्ति गाउँपालिका कार्यालय, शिक्षा शाखा तथा समन्वय इकाई झापा र पूर्व विद्यार्थी कैलाशचन्द्र गोयलको शुभकामना प्रकाशित भएका छन् । त्यसपछि स्मारिका प्रकाशन मूल समिति, विद्यालय व्यवस्थापन समितिका विवरण प्रकाशित भएका छन् ।

अध्यक्षका आँखाबाट शीर्षकमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीको विचार स्मारिकामा प्रकाशित भएको छ । लेखिएको छ– ‘यस विद्यालय र शिक्षाप्रति गरेको योगदानको एकमुष्ट परिणाम हो आजको स्मारिका प्रकाशनको विमोचनको महान ऐतिहासिक दिन’ । यहाँ ऐतिहासिक दिन उल्लेख गरिएको छ । साँच्चै स्मारिका एक ऐतिहासिक अभिलेख या दस्तावेज हो । बुद्धशान्ति तथा अन्य क्षेत्रमा छरिएर रहेका र विद्यालयको विभिन्न दराज, ¥याक, फाइल र पुराना पोकाहरु आदिमा यत्रतत्र छरिएर रहेका विद्यालय सम्बन्धी यावत महत्वपूर्ण विवरणहरु एकै स्मारिकामा क्रमबद्ध रुपमा समेटिएका छन् । स्मारिकामा नसमेटिने हो भने धुलिया लागेर र माउले खाएर ऐतिहासिक जानकारीहरु नष्ट हुने सम्भावना थियो । विवरणहरुलाई स्मारिकामा संरक्षण गर्ने दूरदृष्टी राख्ने महानुभावहरु तथा जनशक्तिहरुको योगदानलाई इतिहासले स्मरण गरिरहने छ । नमूना विद्यालय तथा देशकै माध्यमिक शिक्षाको सिकाई केन्द्रको रुपमा विकसित बुद्धआदर्श माविको इतिहास पढेर भावी पुस्ताले धेरै कुराहरु सिक्न सक्नेछन् । यस अर्थमा यस स्मारिका प्रकाशन अरिहार्य तथा अनुकरणीय काम भएको छ ।

प्रकाशकको तर्फबाट प्रध्यानाध्यापकको कलम शीर्षकको प्रध्यानाध्यापक कृष्णराज भण्डारीको विचारमा यस्तो उल्लेख गरिएको छ– ‘विद्यालयले यहाँसम्म आइपुग्न धेरै हुरिबतास झेलेको छ, थुप्रै पटक असिनापानीले कुटिएको छ, अनगिन्ती खडेरी र रोगव्याधीले चुटिएको छ । विद्यालयको जग हाल्ने आधारहरु तय गर्न, जनशक्तिको चाँजो मिलाउन, सञ्चालनका प्रक्रियाहरु अघि बढाउन, विद्यालयको स्तरोन्नति गर्दै लैजान, त्यही अनुरुपका भौतिक र मानवीय स्रोत व्यवस्थापन गर्दै लैजान मात्र होइन विद्यालयलाई विपत्ति परेका बेला र राज्यको दरिलो भरथेग नपुगेका बेलामा बुधबारेका जनता, समुदायले आफ्नो छाक काटेर विद्यालयलाई यहाँसम्म ल्याइपु¥याएको हो ।’ प्रध्यानाध्यापक भण्डारीको विचार जस्तै बुद्धआदर्श मावि धेरैको मेहनतले विकास भएको शिक्षालय हो । भन्नुको अर्थ बुधबारे (बुद्धशान्ति)का बासिन्दाहरु शिक्षाप्रति निकै जागरुक रहेका छन् ।

सिर्जना खण्डको विद्यार्थी खण्डमा, दशजना विद्यार्थीहरुको सिर्जनाहरु प्रकाशित भएका छन् । त्यसै गरी विशेष लेख रचना खण्डमा वर्तमान तथा पूर्व शिक्षक, शिक्षिका, विद्यार्थीहरुका लेखहरु रहेका छन् । यहाँ दुईजना सिर्जनाकार डा. रहेका छन् । बुद्धआदर्श माविले धेरै–धेरै उच्चस्तरीय जनशक्ति तथा प्रतिभाहरु जन्माउन तथा विकास गर्न सफल भएको प्रमाण हो यो । स्मारिकामा प्रकाशित सिर्जना लेखहरु पनि निकै ज्ञानबद्र्धक रहेका छन् । यी लेखहरुको स्तरीयताबाटै पनि थाहा लाग्छ कि बुद्धआदर्श माविले देशका लागि साँच्चै आदर्श र क्षमतावान जनशक्ति उत्पादन गरेको छ र गरिरहेको छ ।

सम्पादन उपसमिति संयोजक बेनुप्रसाद पनेरु, सदस्यहरु गणेश निरौला, लक्ष्मीदेवी नयौपाने, राजु पौड्याल र माधव बरालको सम्पादनमा प्रकाशित यस स्मारिकाको सम्पादन उपसमितिको तर्फबाट शीर्षकको भनाइमा यस्तो लेखिएको छ– ‘विद्यालयको केही महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरु निर्विवाद थिएनन् । यहाँसम्म कि विद्यालयलाई जग्गा उपलब्ध गराउनुहुने दानवीर जग्गादाताको समेत सामाजिक प्रक्रियासम्मत् ढंगबाट टुंगो लगाउनुपर्ने चुनौति थियो । अन्य तथ्य, तथ्यांकहरु पनि कालक्रमिक, पूर्ण र स्पष्ट थिएनन् । यसबीचबाट विद्यालयको आधिकारिक दस्तावेज प्रकाशन गर्ने कार्य चुनौतिको चाङ थियो ।’ ती चुनौतिहरु पार गर्दै अन्ततः सम्पादन उपसमितिले स्मारिका तयार पार्न सफल भयो ।

स्मारिकाको इतिहास खण्डको बुद्धआदर्श माध्यमिक विद्यालयः एक विहङ्गावलोकन शिर्षकमा पूर्व प्रध्यानाध्यापक गणेश निरोलाको आलेखमा विद्यालयको स्थापनाको पृष्ठभूमि, जन्मगर्भ, जग्गा प्राप्ति, पाइलट प्रोजेक्ट, आर्थिक, प्रजातन्त्र पुनस्थापना अघि र पछि, दश जोड दुई, बुद्धआदर्श हिजोआज, लगायतका विषयमा विस्तृतमा उल्लेख गरिएको छ । यहाँ २०१७ देखि २०७४ सालसम्म विकास भएका विद्यालयका भौतिक पक्ष तालिकाबद्ध प्रस्तुत गरिएको छ । तालिकामा संरचना, स्रोत, सक्रियता र साल अध्ययन गर्न सकिन्छ ।

केदार कोइराला, हेमेन्द्र खतिवडा, लक्ष्मीदेवी न्यौपाने, राजु पौड्याल, टीकाराम खवास, माधव बराल, सुमित्रा बाँस्कोटा र लालप्रसाद रेग्मीको पाठ्यान्तर क्रियाकलाप शीर्षकको संयुक्त आलेखमा बुद्धआदर्श माविको खेलकुद र सांस्कृतिक पक्ष विस्तृतमा उल्लेख गरिएका छन् । विद्यालयको शुरुवातदेखि खेलकुद, सांस्कृतिक तथा कलाका क्षेत्रमा सहभागिता जनाउने खेलाडी, कलाकार, साहित्यकाहरु र प्रतिभाहरुका नामावली नै प्रकाशित गरिएका छन् । यसबाट बुधबारे र सेरोफेरोमा खेलकुद, सांस्कृतिक, साहित्यिक र कला क्षेत्रमा जग बसाल्ने को–को थिए भनेर जान्न सकिन्छ । स्मारिकामा पुराना प्रतिभाहरुको कदर गरिएको पाइन्छ । आलेखमा पुस्तकालय, विज्ञान प्रयोगशाला र विद्यालयभित्र पछिल्लो समय भएका गरेका केही नवीनतम अभ्यासहरुबारे पनि अध्ययन गर्न पाइन्छ ।

स्मारिकाको तथ्यांक, जानकारी एवम् सूचना खण्डमा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, मानार्थ सल्लाहकार समूह, सल्लाहकार समूह, पूर्व शिक्षकहरु, वर्तमान शिक्षकहरु एवम् विद्यालय परिवार, विद्यालयका दाताहरु, विद्यालयका प्रध्यानाध्यापकहरु, विद्यालयका अक्षयकोष संस्थापकहरु, विभिन्न समयमा विभिन्न कामका लागि गठित समिति र उपसमितिहरु, विभिन्न अतिरिक्त क्रियाकलाप सम्बन्धी जानकारी, बुधबारे क्षेत्रका स्रोत व्यक्तिहरु, २०२५ देखि २०७५ सालसम्मका एसएलसी, एसइइमा सहभागी विद्यार्थीहरु, एसएलसी, एसईईको नतिजा, पछिल्लो वर्षको विद्यार्थी विवरण बाल विकास केन्द्रदेखि कक्षा १० सम्म, २०६३ देखि २०७५ सालसम्मका कक्षा १२ को परीक्षामा सामेल विद्यार्थीहरु र पछिल्लो वर्षको कक्षा ११ र १२ को विद्यार्थी विवरण प्रकाशित भएका छन् ।

यस खण्डमा विद्यालय सम्बद्ध सबैका आआफ्ना नामावली (विवरण) पढ्न सकिने छ । यसपछि सिर्जना खण्डमा विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, पदाधिकारीहरु र विद्यार्थीहरुका सिर्जना, रचनाहरु प्रकाशित भएका छन् । यहाँ विभिन्न विषय र प्रसंगका ज्ञानले भरिपूर्ण र रोचक लेख, साहित्य अध्ययन गर्न सकिन्छ । लेखहरुमा विद्यालयबारेका रोचक तथ्य र प्रसंगहरु पनि जान्न सकिन्छ । यस खण्डमा छापिएका लेखहरु वैयक्तिक विचार भएको स्मारिकामा उल्लेख गरिएको छ ।

बैदार्नी आमैको गोदाममा वि.सं. २०१४/०१५ तिर पढाई शुरु भएर, विष्णुलाल पनेरुको टाँडे कटेरो, चन्द्रप्रसाद प्रसाई (जिम्दार)को कामत, वाँदी आचार्यको घर (मकै डाँगी), बुधबारे बजार हाट कटेरा हुँदै २०१७ सालदेखि चाहिँ हाल बुद्धआदर्श मावि रहेको जग्गामा फुसको कटेरोमा पढाई सुचारु भएको विद्यालयको इतिहास स्मारिकामा अंकित छज्ञ । स्मारिकामा विद्यालयका लागि आर्थिक हुन् या भौतिक, ठूलो हुन् या सानो, रकम र सामानका विवरणसहित दाताहरुका अभिलेख अध्ययन गर्न पाइन्छ ।

विद्यार्थीहरु हुन् या शिक्षक शिक्षिका, हरेक व्यवस्थापन समितिका पदाधिकारी हुन् या यावत दाताहरु सबैका विवरण स्मारिकामा समेटिएका छन् । यो पनि एक विशेष विशेषता रहेको छ स्मारिकाको । बुद्धआदर्श मावि बुद्धशान्तिको दर्पणको रुपमा प्रकाशित यस ‘बुद्धआदर्श माध्यमिक विद्यालय स्मारिका २०७६’ प्रकाशनार्थ योगदान गर्ने सम्पूर्ण महानुभावहरुको मेहनत एक ऐतिहासिक र महान काम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here