चलचित्र ‘गाउँ आएको बाटो’ सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । जेठ २५ गतेबाट रिलिज भएको चलचित्रले दर्शकहरुलाई हलसम्म आकर्षित गरिरहेको छ । चलचित्र हेरिसकेपछि सबैले आ आफ्नै तवरले समिक्षा गरे पनि दर्शकहरुले एक पटक आफ्नो बाल्यकालतिर फर्किएका कुरालाई भने नकार्न सक्दैनन् । गाउँलाई सम्झिएका छन् । बाटो पुगेपछि अनदेखा गरिएको यथार्थलाई उनीहरुले पर्दामा हेरेर आत्मासाथ गरिरहेको स्वीकारेका छन् । हुन त ‘गाउँ आएको बाटो’ आफैमा एउटा प्रतिकात्मक नाम हो । बाटो जस्तै प्रविधिहरु आएका छन् । परदेशिएकाहरुले फर्किदा ल्याएका संस्कारहरु होलान् । विकास र आधुकिकतामा उक्लिँदै गर्दा यसले निम्ताएको एउटा समस्यको अंश हो– ‘गाउँ आएको बाटो’ ।
नीति–निर्माताहरुको अदुरदर्शिताका कारण हामीले देखिरहेका हुन्छौं किसानका दूध सडकै भरि पोखिएका । चियाका मुनाहरु बाटो छोप्ने गरी छरिएका हुन्छन् भने तीनपाने भुल्डुङका भुल्डुङ सडकपेटीमा बगिरहेका हुन्छन् । तर, कोक र बियर अनि रम कतै नपोखी बोतलका बोतल गाउँका कुनाकाप्च पुगिरहेका हुन्छन् । फ्रुटी र चाउचाउ बच्चा–बच्चाका हातहरुमा सुरक्षित पुगिसकेका छन् । पाठ्यपुस्तकमा आफ्नो गाउँको इतिहासभन्दा गल्छी काटिएर बनाएको काठमाडौं पढाइन्छ ।
नेपालभित्र त्यस्ता धेरै नेपालहरु छन् जहाँ विकसित जिल्लाका एउटा नागरिकलाई सामान्य लाग्ने सपना पूरा गर्न अर्को कुनै जिल्लामा बसोबास गर्ने नागरिकहरुलाई बर्षौं संघर्ष गर्नुपर्ने हुन्छ । त्यस्तै एउटा प्रतिनिधि पात्रको रुपमा उभिएका छन् दयाहाङ ‘राई माइला’ भएर । उसको एउटा छोरा छ बिन्द्रे अनि श्राीमती । तीन सदस्य परिवार भएको राई माइँला बासको चोयाले बुनेका बिभिन्न हस्तकलाहरु बेचेर गुजारा चलाइरहेको हुन्छ । ज्यालाको रुपमा अन्नहरु नै भए पनि केही फरक नपर्ने माइलाको जीवनमा तब समस्या आउछ जब गाउँ आएको बाटो हुँदै बस गाडी चल्न थाल्छ ।
पालसहित प्लास्टिकका सामग्रीहरु गाउँमा आइ पुग्न थालेपछि उसका सिपहरु उपयोगविहीन बन्न पुग्छन् । मतलब माइला चोयाको सामग्रीबाट स्वरोजगार बनेका थिए, तर गाडी गुडन थालेपछि माइला वेरोजगार बनेका छन् । हिजो अन्नपातमा भए पनि कारोबार हुने ठाउँमा आज अनिवार्य पैसामा कारोबार गर्नुपर्ने बाध्यता आइपरेको छ । हुन त लाखौं दाममा बिर्की हुने जग्गा, बाटोको लागि उसले सहयोग गरेका थिए । बिजुलीबत्तीको आयोजनामा केही रकम हालेका पनि छन् । तर, बिजुलीको बिल तिर्न नसक्दा लाइन काटिदिएको छ । दान दिएको जग्गाको बाटो हँुदै व्यापार गर्ने रिटायर लाहुरेले उसलाई ऋण दिन सधैँ असमर्थ हुन्छ ।
माइलाको भाई परदेशबाट टेलिभिजन लिएर गाउँ आइपुग्छ । टेलिभिजन गाउँ भित्रिएसँगै बिन्द्रेको पनि रहरहरु बाग्लिँदै गएको छ । माइलाको छोरी सानै उमेरमा हराएको १० बर्ष बितिसक्न लागेको छ । सकेसम्म छोराको रहर पूरा गर्न ऊ कोशिस गरिरहन्छ । एकदिन यस्तो घटना घट्छ, ऊ छोराको एउटा डिमाण्ड पूरा गर्न मरिहत्ते गरेर लागी पर्छ । रक्सी बेच्छ पुलिसले पक्रिन्छ । चोयाको सामग्रीहरु शहर पुगेर हप्तौं लगाएर बेच्न खोज्दा पनि सोचे जस्तो बिक्री हुँदैन । ऊ फर्किन्छ शहरबाट आफ्नो चोयाको सामग्रीहरु लिएर अनि ऊ सँगै हरेकमाल ५० रुपैयाँमा बिक्री गर्ने व्यापारी प्लास्टिकको सामग्री लिएर उसको गाउँ पुग्छ ।
बान्तावा राईको पृष्ठभूमिमा रहेर बनाएको चलचित्र जति सामान्य कथा लाग्छ । यसले लिएर हिँडेको भाव भने निक्कै गम्भीर छ । विकासको मोडलमा देश हिँडीरहँदा रैथाने सिप र कलाहरुको बजारी करण कतिको भइरहेको छ त ? स्थानीय आदिबासीहरुको संस्कार र संस्कृती अनि भाषा प्रति राज्य कति गम्भीर छ ? विकासको फाइदा पहुँचमा हुने र सम्पन्न व्यक्तिहरुले लिइरहँदा गरिबीको रेखामुनि रहेका स्थानीयहरुको बारेमा सोच्ने कि नसोच्ने ? स्थानीय पहिचान अनि स्रोत र साधानको संरक्षणसहितको विकासको परिकल्पना गर्न सकिँदैन ? यी त प्रतिनिधिमूलक प्रश्नहरु मात्र हुन् ।
कलाकारहरुको जीवन्त अभिनय रहेको यो फिल्म, माइला पात्र जस्तै अन्तरमुखी छ । दृष्य र विम्वहरुद्वारा धेरै कुराहरु व्यक्त गरिहेको यो फिल्म विकास बिरोधी भने पक्कै होइन, तर ऊ चाहन्छ विकासले गाउँ र शहरको सन्तुलन मिलाइ राखोस् । बलिउड र हलिउडबाट प्रभावित फिल्म हेर्ने दर्शकहरुलाई यो फिल्म विस्वाद लाग्न सक्छ । साच्चै भन्ने हो भने आयातित कला र संस्कृतीको अतिक्रमणमा परिरहेको फिल्म क्षेत्र र त्यसैको सेरोफेरोमा चेतना स्तरलाई विकास गरिरहेको दर्शकहरुको लागि यो फिल्म बिद्रोह नै हो भन्दा पनि फरक नपर्ला ।
आँखाभन्दा मस्तिष्कले ज्यादा हेर्नुपर्ने यो फिल्मका निर्देशक नवीन सुब्बा हुन् । उनले यो फिल्मलाई रचनात्मक र सिर्जनात्मक रुपमा उत्कृष्ट बनाएका छन् । क्यामरा पर्सनदेखि कला निर्देशक हुँदै इडिटरसम्मले ध्यानपूर्वक काम गरिएको देखिन्छ । कथाप्रति सचेत हुँदै पटकथामा सानो–सानो कामहरुलाई ध्यान दिएको आभाष हुन्छ । दृष्यसँगै प्रयोग गरिएको साउण्डमा पनि जीवन्त खोजिएको छ । हाम्रो कथाहरु विश्वसामु पुग्नु पर्छ भनेर महेश राईले लेखेको कथालाई ‘गाउँ आएको बाटो’ बनाउन लगानी गर्ने विश्वभर छरिएर रहेका राई समुदायका सम्मानित व्यक्तिहरु उत्तिनै उत्कृष्ट छन् जति यो फिल्म छ ।
विश्वको विभिन्न फिल्म फेष्टिबलहरुमा छनोट भई आफ्नो कथा भनेको राई माइलाले ‘गाउँ आएको बाटो’ मार्फत गरिबी नै देखाउनुपर्छ त भन्ने कतिपय दर्शकहरुमा प्रश्न उठ्न सक्ला । यो स्वभाविक पनि हो । तर, विश्वले हेर्ने आँखाबाट वास्तविकतामा नेपाल राई माइलाको रेखामा नै छ । यहाँको राजनीतिक चलखेल, भ्रष्टाचार र प्राकृतिक स्रोतहरुको दोहनले देश गरीब बन्दै गएको हामी नकार्न सक्दैनौ । अहिले पनि हामी विश्वमा गरिबी देशको सूचीमा भुटानभन्दा अगाडि नै छौं । अन्तर्राष्ट्रिय मुद्राकोषले २०२४ अप्रेलमा तयार पारेको विश्व आर्थिक दुष्टिकोण अनुसार नेपाल अति गरिबीको सूचीबाट ४१आंै स्थानमा छ भने भुटान ८३औं स्थानमा छ । वर्तमान अवस्थामा देशले लिएको ऋणको दायित्वप्रति व्यक्ति नेपाली जनताको थाप्लोमा ७९ हजार दुई सय रुपैयाँ पर्न जान्छ । कामना गर्नुहोस् कुनै दिन देश ‘राई माइला’ जस्तै पलायन नहोस् ।
चलचित्र हेरेर निस्कँदा राई माइलाको भोगाइले मतिष्कमा हिर्काइ रह्यो । उसको दुःखमा न त हौसला दिने ऊर्जा बनेर भाइ उभिदियो न त आशाको किरण बनेर लाहुरे दाजुले नै सहयोग ग¥यो । गाउँमा परिस्थितिहरुले पिल्सिँदै गएका माइलालाई न त उसको आस्थाहरुले नै रोक्न सक्यो न त उसको समुदायले नै । वर्तमान अवस्थामा नेपालका आदिबासी जनजातिहरुले राज्यलाई एउटा औला सोझाएर खबरदारी गरिरहँदा बाँकी औलाहरुले समुदायतिरै नै प्रतिप्रश्न पनि गरिरहेको छ– ‘गाउँ आएको बाटो’ मार्फत । भलै यो राई संस्कारमा बनिएको चलचित्र होस् तर समग्रमा आदिबासीको मूल मुद्दा र समस्याहरु त एउटै हो नि होइन ?
माइला जाँदाजाँदै बासको सामग्रीप्रति विश्वास टुटेपछि उसले रिस र गुनासो एकै पटक पोख्छ सबै बास ढालेर । अब गाउँ बसिरहनुको औचित्य ऊ देख्दैन । पितृपुर्खाहरुले उसको नाममा हस्तारण गरिदिएको घरजग्गा र माङ गाउँमा नै छाडेर उनीहरु परदेशिनुको विम्वले समुदायलाई एक पटक झक्झकाइरहेको छ । बिन्ती राई माइला जस्ता पात्रहरुलाई रोक । आफ्नो सपनाका मलामीहरुलाई त्यही छाड्दै ऊ बस चढेर हुइकिन्छ गाउँभन्दा टाढा धुलो उडाउँदै । त्यही धुलोमा छुटी जान्छ बिन्द्रेको पुकार ‘पापा मलाई टिभी चाहिँदैन… ।’