प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वेन भन्छन्– सार्वजनिक महत्वका विषय नसुन्ने, नपढ्ने वा नहेर्ने हो भने सूचनाबाट वञ्चित भइन्छ भने सुन्ने, जानकारी राख्ने गर्दा गलत सूचनाको शिकार हुने प्रबल सम्भावना हुन्छ । पत्रकारिता पेशा मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेसा भएको सच्चाइलाई ग्रहण गर्न र तदनुरूप समस्त क्रियाकलाप केन्द्रित गर्ने हो भने समस्या न्यूनीकरण हुन सक्छ । पत्रकारिता नेपालमा पछिल्लो समय मिसन पत्रकारिताको ठाउँमा व्यावसायिक पत्रकारिताको विकास भइरहेको छ । हरेक कुरामा पैसाको भूमिका प्रमुख बनाउने वा पक्षधरतालाई बढावा दिने हो भने सही र साँचो भन्ने कुरा हराएर जान्छ । यो कुरा नेपाली पत्रकारिताको लागि घातक हो । जसले निष्पक्ष सूचना आमजनतालाई दिन सक्दैन । बहुदलीय शासन व्यवस्थामा दलैपिच्छे पत्रकार विभाजित हुनुलाई सामान्य मानिएला, तर देशभर पत्रकार राजनीतिक दलहरुको छायाँमा रहेका प्रेस युनियन, प्रेस संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी, थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज लगायत विभिन्न जातीय पत्रकार संघ–संगठनभित्र रहेर पत्रकारिता गरिरहेको परिवेशले पक्षधरताको बीजारोपण हुन्छ ।
हुन त स्वतन्त्र पत्रकारिता गर्नेहरु पनि छन् । पछिल्लो समय पत्रपत्रिका तथा आमसञ्चारमा आएका समाचारहरुलाई प्रायोजित समाचार हुने गरेका छन् । राज्यको चौथो अङ्ग मानिने पत्रकारिताको मूल धर्म राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको खबरदारी गर्नु हो । पत्रकारिता गर्दा आफ्नो राजनीतिक आस्था लेखाइ, बोलाइमा देखिनु हुँदैन । नागरिकको सुसूचित हुने अधिकार प्राप्तिका लागि स्वतन्त्र पत्रकारिता हुनुपर्छ । यसो भनिरहँदा मुलुकको पत्रकारिता भने दलगत राजनीतिबाट मुक्त हुन सकिरहेको छैनन् । पत्रकारहरुको छाता संगठन मानिने नेपाल पत्रकार महासंघ पनि राजनीतिको छायाँबाट मुक्त हुन सकेको छैन । पत्रकारिता क्षेत्रले राज्य सञ्चालकहरुलाई जवाफदेही र पारदर्शी बनाउन प्रेरित गर्नुपर्छ । नागरिक अरूप्रति मर्यादित र जिम्मेवार हुनु, सरकार नागरिकप्रति जिम्मेवार हुनु र यी सबैलाई जिम्मेवार र मर्यादित बनाउन आमसञ्चार सहकर्ता र पहरेदार हुनै पर्दछ । नेपालको संविधान २०७२ ले समेत प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ ।
सूचनालाई तोडमरोड गर्ने, उपल्लो स्तरका शक्तिशालीका पक्षमा बनावटी समाचार बनाउने, तस्कर र घरानियाका गलत कुरा ढाकछोप गर्न कुतर्क गर्ने प्रवृत्ति पीत पत्रकारितामा पर्दछ । यस्ता समाचारले जनता र सर्वसाधारणको पत्रकारिताप्रतिको विश्वासमा कुठाराघात हुन्छ र कुनै बखत सही र सत्य समाचार दिँदा पनि अविश्वास गरिन्छ । हरेक मानिस र वस्तुको स्वधर्म हुन्छ । आफ्नो धर्म छोड्ने हो भने धर्मच्युत, कर्तव्यच्युत हुन्छ । यो कुरा सञ्चार क्षेत्रमा पनि लागू हुन्छ । सञ्चारकर्मीले समाज र राष्ट्रको मातहतमा आफ्नो स्वार्थ राखेका दिन सबै कुरा सच्चिने बाटोमा लाग्छ । सञ्चार क्षेत्रलाई पीत पत्रकारिताबाट मुक्त गरिएको दिनबाट राज्यका अन्य निकाय ठीक मार्गमा लाग्छन् । सञ्चार क्षेत्रको मुलुक निर्माणका लागि अति ठूलो भूमिका हुने कुरा आत्मसात गरेमा मात्र पत्रकारिताले ठीक दिशा पक्रन सक्छ ।