उत्कृष्ट अंक ल्याउने सन्थाल विद्यार्थीलाई निदिले निःशुल्क पढाउँदै

0
23

बिर्तामोड ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविबाट उत्कृष्ट नतिजा ल्याउने टेकनाथ सोरेनले निःशुल्क पढ्न पाउने भएका छन् ।

कक्षा ११ र १२ सम्मको अध्ययनमा बिर्तामोडमा रहेको निदि सेकेण्डरी स्कूल/इन्द्रेणी क्याम्पसले निःशुल्क अध्ययन गराउने भएको हो । सोरेनले सन्थाल समुदायबाट एसइईमा हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका हुन् । उनलाई निदि सेकेण्डरी स्कूलमा भर्ना गरिएको छ । विद्यालयका प्रिन्सिपल रञ्जीत शाहका अनुसार सोरेनलाई कक्षा ११ र १२ सम्मको अध्ययनमा विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिनेछैन ।

विज्ञान संकायमा शुक्रबार भर्ना भएका सोरेनलाई त्योभन्दा माथिल्लो तहको अध्ययनमा समेत विद्यालयले सहयोग गर्ने शाहले जानकारी दिए । सोरेनको पढाइप्रतिको लगनशीलता तथा पारिवारिक आर्थिक अभावलाई ध्यान दिँदै उनको अध्ययनको व्यवस्था गरिएको प्रिन्सिपल शाहले बताए ।

२०६४ साउन ३० गते जन्मिएका सोरेनले एसइइमा ३.८२ जिपिए अंक ल्याएका छन् । सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुन्छ । अनुशाशित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी बाह्रदशी–६ डाँगीबारीका सोरेनका बुवा राजिन्दर र आमा उषा सामान्य खेती र अर्काको दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।

यसैबीच, सन्थाल समुदायबाट छात्रातर्फ एसइई इतिहासकै उच्च अंक गौरीगञ्जकी पार्वती हस्दालाईसमेत निदिले निःशुल्क पढाउने बताइएको छ । निदिले अघिल्ला वर्षहरुमा समेत विपन्न तथा जेहेन्दा विद्यार्थीहरुलाई समेत छात्रवृत्तिस्वरुप निःशुल्क अध्यापन गराउँदै आएको थियो ।

खजुरगाछी माविकी हस्दाले यस वर्षको एसइईमा ३.५१ जिपिए ल्याएकी छन् । उनी २०८० को एसइईमा गौरीगञ्जको सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट अंक ल्याउने विद्यार्थी हस्दा नै हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here