अझैं यकिन भएन अस्मिताले विष सेवन गरेको विषय

0
79

झापा, ‘पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि आफूले विष सेवन गरेको र छोरीहरुलाई समेत विष सेवन गराएको बताउँदै आएकी अस्मिता पौडेल (कार्की) विष सेवन गरे नगरेको यकिन हुन सकेको छैन ।

कार्कीको स्वास्थ्य परीक्षण गराउँदा उनले विष सेवन गरेको वा नगरेको यकिन हुन नसकेको जिल्ला प्हरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

‘मानिसको शरीरमा विष सेवनको असर ७२ घण्टा (३ दिन) भित्रमा देखिँदो रहेछ’ प्रहरी उपरीक्षक कार्कीले भने – तर, अस्मिता फेला पर्दा ५ दिन बितिसकेको थियो । उनले विष सेवन गरेको या नगरेको स्वास्थ्य परीक्षण गराएपनि रिपोर्ट नआउँदा यकिन भएन । विष थोरै सेवन गरेकाले पनि शरीरमा असर नपरेको हुनसक्छ, ।

प्रहरीका अनुसार स्वास्थ्य परीक्षणबाट यकिन नहुँदा विष सेवनको विषय अस्मिताकै बयानमा भर पर्नुपर्ने अवस्था छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

प्रहरी उपरीक्षक कार्कीले अस्मिताले पतिसँग रिस उठ्दा विष खुवाएर छोरीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए । घटनास्थलमा कीटनाशक औषधिको बट्टा फेला परेको थियो ।

दुवै नाबालिकाको शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भइनसकेकाले विषका कारण नाबालिकाहरुको ज्यान गएको हो कि हैन भनेर प्रष्ट हुन बाँकी रहेको कार्कीले बताए ।

नबालिका छोरीको हत्या गरेपछि अस्मिताको मानसिक स्वास्थ्य बिग्रिएको हुनसक्ने प्रहरीको अनुमान थियो । तर, विराटनगरको कोशी अस्पतालमा उपचार एवं स्वास्थ्य परीक्षण गराउँदा उनलाई मानसिक समस्या नरहेको पत्ता लाग्यो । प्रहरी उपरीक्षक कार्कीका अनुसार विगतमा पनि मानसिक समस्याको औषधि सेवन गरेको देखिएन ।मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर अस्मिताले दुई जना छोरीको ज्यान लिएकी छिन् ।

‘पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि छोरीहरुलाई लिएर हिँडे प्हरी संगको वयानमा उनले भनेकी छिन् – विष पनि लगेकी थिएँ । छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन । सुरुमा मैले खाएँ । छात्ती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएँ । उनीहरु मरे । तर, म चैं मरिन,’ केही दिनअघि मोरङ प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन् ।

लामो समयदेखि पतिले तनाव दिँदै आएकाले आफू पनि मर्ने र छोरीहरुलाई समेत मार्ने योजना अनुरुप घटना गराएको उनको जिकिर थियो । अस्मिताले आफ्नै सन्तानलाई कसरी र किन मारिन् भन्ने चासो एवं चिन्ता सर्वत्र छ ।

‘आमाको मानसिक अवस्था ठीक रहेछ । स्वास्थ्य परीक्षण गराउँदा मानसिक समस्या देखिन । आमाले विष सेवन गरेको वा नगरेको भनेर यकिन भएन,’ जिल्ला प्हरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कार्कीले भने – ‘कल्पना नै गर्न नसकिने र सुन्दै शरीर सिरिङ्ग हुने घटना आमाबाट कसरी सम्भव भयो भनेर खोजी गर्दै छौं । अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान भइरहेको छ । यो घटना पति–पत्नी बीचको विवादसँग जोडिएको देखिन्छ ।’

संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिताको २०७५ साल फागुन ९ गते धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका अर्जुन कार्कीसँग प्रेम विवाह भएको थियो ।

त्यतिबेला १५ वर्षकी उनी कक्षा ९ मा पढ्दै थिइन् । अहिले ३१ वर्ष पुगेका अर्जुनसँग भागेर बालविवाह गरेकी अस्मिताबाट २ छोरी जन्मिए । छरछिमेकी र आफन्तका अनुसार अहिलेसम्म अर्जुन र अस्मिताबीच राम्रो सम्बन्ध थियो । अस्मिताका माइती पक्षले पनि सम्बन्धमा खटपट भएको आफूहरुले नसुनेको बताएका छन् ।

पत्नी र २ नाबालिका छोरीसहित गत वैशाखदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बस्दै आएका अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै थिए ।

इटहरी–भोजपुर चल्ने ट्याक्सी किनेका छन् । त्यो आफैं चलाउँछन् । ट्याक्सी लिएर भोजपुर गएका उनी ३ दिनपछि भदौ १४ गते फर्किए । निर्माणाधीन घरमा पानी नलगाएको विषयमा पत्नीसँग साँझ वादविवाद भयो ।

त्यसलगत्तै छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर अस्मिता हिँडिन् । अबेरसम्म नफर्किएपछि छरछिमेकीको सहयोग लिएर अर्जुनले खोजी गर्न थाले । फेला नपरेपछि भदौ १५ गते बिहानका राति ३ बजेतिर प्रहरी चौकी गछियालाई घटनाको जानकारी गराए । आमाले लिएर गएका अवोध नाबालिकाहरु भोलिपल्ट अर्थात भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ को केराघारीमा मत फेला परे । दुवै शवको अर्जुनले सनाखत गरिदिए । तर, अस्मिता भने फेला परिनन् ।

झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला गत बुधबार बिहान प्रहरीले फेला पारेको थियो । शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा अस्मिता भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछ गर्दा विष खुवाएर २ नाबालिका छोरीहरुको हत्या उनले स्वीकार गरेकी छन् । विष खुवाएर कलिला नानीहरुको हत्या आमा अस्मिताले नै गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।

घटनापछि परिवार र आफन्त शोकमा डुबेको अस्मिताका मामा उत्तरकुमार खड्काले बताए । ‘यो घटनापछि केही सोच्नै सकिरहेका छैनौं । कसरी यस्तो हुन पुग्ने भनेर अचम्ममा परेका छौं । भान्जीले यस्तो अपराध गर्लिन् भन्ने कल्पनासमेत थिएन । सबै तनावमा छौं । सहनलाई गाह्रो परिरहेको छ । परिवार र आफन्तमा बज्रपात परेको छ,’ उनले भने ।

उत्तरकुमार शिक्षक हुन् । अस्मिता उनकी काइँली दिदीकी माहिली छोरी हुन् । ‘भान्जीले स्कुल पढ्दापढ्दै बिहे गरेकी हुन् । त्यतिबेला उनी नाबालकै थिइन् । ९ कक्षामा पढ्थिन्,’ उनले भने, ‘सानै उमेरमा आफैंले बिहे गरेपनि माइतीतिर सम्बन्ध राम्रो थियो । नियमित आउजाउ भइरहन्थ्यो । भान्जी र ज्वाईं (अर्जुन)बीचमा नराम्रो सुनेका थिएनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here