पीडाबीचको दशैं

0
25

आज यस वर्षको दशैंको पाँचौं दिन । अर्थात् आश्विन महिना शुक्लपक्षको चतुर्थी तिथि । अबको पाँचौं दिन नवरात्रभर शक्तिकी देवीको उपासना गरेर प्रसादका रुपमा आफ्ना मान्यजनबाट ग्रहण गरी टीका लगाउने नेपाली परम्परा हो । घटस्थापनादेखि घर–घरमा प्रवेश गरेको दशैं सर्वाधिक महŒवको मानिएकाले बडा दशैं भनिने यस वर्षको दशैं विगतको जस्तो हर्षको पर्व हुन पाएन । दुई दिनको बाढीले घरबास बगाएको, जीवन निर्वाहको आधार लुटिएको र झण्डै अढाइ सयको संख्यामा मानवीय सम्पत्तिको क्षति कहिल्यै पूर्ण नहुने भएको छ । वर्षा र बाढी रोकिए पनि विकासको महत्वपूर्ण पूर्वाधार सडक सञ्जाल क्षत–विक्षत हुँदा बाँचेको जीवन पनि अति कष्टकर भएको छ ।

भर्खरैको बाढीपहिरोको मूल कारक स्थानीय तहमा भएको ‘डोजरे विकास’लाई मानिएको छ । अर्थात् ग्रामीण सडक विस्तारको अभियानका कारण वातावरणीय विनाश भएका कारण यसपटकको क्षति अकल्पनीय भएको जानकारहरुको ठम्याइ छ । यद्यपि विकासको पूर्वाधारमध्ये पहिलो आधार सडक सञ्जाल हो । यसकै माध्यमबाट हाम्रा पुर्खाहरुले पिठ्युँमै भारी बोकेर जीवन निर्वाह गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो । यसकै आधारमा ग्रामीण क्षेत्रको कृषि उत्पादन बजारसम्म पु¥याउन र आवश्यक उपभोग्य वस्तु ल्याउन सहज पनि भएकै हो । तर, तीव्र विकासको हतारोले वैज्ञानिक तथा वातावरणीय पक्षको अध्ययन नै नगरी जथाभावी नदीजन्य वस्तुको उत्खनन् र एक्साभेटर, डोजर चलाउँदाको असर बाढीपहिरोमा रुपान्तरण भएको विज्ञहरुको भनाइ छ ।

वर्तमानको आवश्यकता पूरा गर्दै आउने पुस्तालाई समेत असर नपर्ने गरी गरिने विकास दिगो विकास हो । तर, हामीकहाँ स्वायत्तताका नाममा जथाभावी निर्माणका काम गर्ने होडले अनेक विपद्हरुको सामना गरिरहेका छौं । जलवायु परिवर्तनले यसै पनि वातावरणीय असन्तुलन बढ्दै गएको छ । यस्तो बेला आएको दशैं विगतको जस्तै हर्षको उत्सव नभए पनि सबैको जीवनमा ऊर्जा भरोस् । क्रोध, लोभ, अहंकार, अन्याय, दण्डहीनता, क्रुरता, भ्रष्टाचार, भोक र शोकको अन्त्य गर्ने सामथ्र्य प्राप्त होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here