क्रुरता मानवीय स्वभाव होइन

0
17

नेपाली समाज अहिले उदण्ड बन्दै गएको छ । जनसंख्या वृद्धि, आधुनिकीकरण र शहरीकरणसँगै मानिसले आफ्नो जातीय गौरव, सामाजिक मूल्य–मान्यता, सदाचार र नैतिक मान्यता समेत बिर्सिदै गएको छ । यसकै असरले जीवनशैलीमा परिवर्तन आएको छ र मौलिक पहिचान पनि गुमाउँदै जान थालेको छ । भौतिकता र विलाशितामा रमाउने प्रवृत्ति बलियो हुँदै जाँदा मानिसमा अपराध मानसिकता बलियो हुन थालेको छ । त्यसकै परिणाममा निराशा, कुण्ठा र मानसिक समस्या पनि बढ्दै गएको अध्ययनहरुले देखाएका छन् ।

मानिसमा बढ्दै गएको आधुनिकता र भौतिक सुख प्राप्तिको आकांक्षा पूरा गर्न नेपाली समाज विखण्डित हुने अवस्थामा पुगेको छ । सबै इच्छा, आकांक्षा पूरा हुन गरिबी, वेरोजगारी जस्ता कारणले असम्भव भएपछि मानिस अमानवीय, क्रुर र संवेदनाहीन हुन्छ । परिणाममा समाज अराजकता, द्वन्द्व हुँदै हिंसा उन्मुख भएको हाम्रो समाजमा प्रकट भएका घटनाहरुले देखाइरहेका छन् । चोरी, डकैती, लुटपाट जस्ता परम्परागत अपराध अहिले कम हुँदै गएको, फरक, गम्भीर र अमानीय अपराध तीव्र ढंगले बढेको प्रहरीकै तथ्यांकमा उल्लेख छ ।

यस्तै अपराधको श्रृंखलामा झापा बाह्रदशीमा भएको एउटा घटना थपिएको छ । चार महनिाअघिदेखि बेपत्ता भएका २२ वर्षीय युवा राजेश हजामको शव बिरीङ खोलामा गाडिएको अवस्थामा फेला प¥यो । यद्यपि कलंक स्वरुपमा भेटिएको शवको वैज्ञानिक परीक्षण हुन बाँकी छ । तर, प्रहरीले गरेको लामो अनुसन्धानको सुई अनुसार बरामद भएको शव हजामकै भएको स्थानीयको भनाइ छ । अपराध जुनसुकै भए पनि कानूनद्वारा वर्जित हुन्छ । अपराध भनेकै कानूनको अवज्ञा हो । जानी–जानी गरिने अपराध गलत मानसिकताको उपज हो, जसलाई कानूनद्वारा नै दण्डित गर्नुपर्छ । अनि पनि सरकार र सम्बद्ध पक्षले बेलैमा ध्यान दिनुपर्दछ कि अपराध किन बढ्दैछ । मानिस वेरोजगार भएपछि जीवन निर्वाहकै लागि गैरकानूनी काम गर्न उद्धत हुन्छ । त्यसैले प्रविधि र समयले ल्याएको परिवर्तनसँगै बढ्दै गएको आकांक्षालाई परिपूर्ण गर्न सक्ने आर्थिक जीवन निर्माणमा राज्यले ध्यान दिनुपर्दछ । हाल विद्यमान अपराधका प्रवृत्तिहरुलाई निरुत्साहित गर्न नसकिए समाज झनै कठोर बन्छ आपराधिक मनोवृत्ति झनै बढ्छ । त्यसैले सुरक्षा संयन्त्रलाई सुदृढ गर्दै दोषीलाई निर्मम ढिंगले दण्डित गर्न लाग्नुपर्छ । अनि मात्र मानव समाज अझ नेपालीको जातीय तथा मौलिक पहिचान र अस्तित्वको रक्षा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here