दृष्टिभ्रम

0
27

हिजोआज लोग्नेको ध्यान जतिबेलै फेसबुक र मेसेन्जरमा एकोहोरिएको देख्दा अति औडाहा लाग्न थालेको छ । उनको परिवर्तित क्रियाकलापप्रति प्रश्न उठाउन मन लागेको छ । उनको र मेरो लगनगाँठो बाँधिएको २३ बर्ष बितिसकेको हुँदो हो । दुई सुपुत्रका बाबू–आमाको भूमिका निर्वाह गर्दै आएका हामी दुई विच यतिका बर्षसम्म कथंकाल ठाकठुक् पर्ने बाहेक कहिल्यै सम्बन्ध चिसिएको महशुस गरिएन ।

हाम्रो पहिलो भेट दमक बजारदेखि करिब पाँच किलोमिटर उत्तरमा अवस्थित बेलडाँगी शरणार्थी शिविरमा भएको थियो । उनी नेपाली अनि म चाहिँ नेपाली मुलकी भुटानी । उनको छिमेकीका नातेदार जो शिविरमा रहन्थे, तिनको र शिविर प्रतिनिधिबीच भएको विवादबारे बुझ्न र सकेसम्म सुल्झाउने उद्देश्यले बेलडाँगी शिविर आएका रहेछन् उनी ।

त्यही शिलशिलामा उनी दुई दिन बसेर भए पनि विवाद सुल्झाएर गए । त्यहाँ रहने क्रममा हाम्रो चिनाजानी भएको थियो । त्यसपछि उनको हाम्रातिर आउने क्रम बाक्लिँदै गयो । हामी दुईबीचको चिनाजान भेटघाटमा बद्लियो । भेटघाटमा अन्तरङका कुराकानी हुन थाल्यो । एकअर्कामा प्रेम र विश्वास गहिरो हुँदै जीवनरुपी रथका दुई पाङ्ग्रा अर्थात् पति–पत्नी, दुई सन्तानका अभिभावक बन्ने सौभाग्य प्राप्त भयो । अनगिन्ती घुम्तीहरु छिचोल्दै हाम्रो जीवनयात्रा निरन्तर अगाडि बढिरह्यो ।

हामीले एकअर्कालाई राम्रोसँग बुझेका थियौं । विश्वासको खडेरी कहिले परेन हामी दुईबीच । प्रेमिल थियो हाम्रो सम्बन्ध । यतिका समझदार लोग्ने पाएकोमा म पुलकित थिएँ र आफूलाई भाग्यमानी ठान्थेँ ।
तर, हिजोआज आश्चर्यचकित भएकी छु । डिउटी छाड्नुभएको तीन महिना बितिसक्यो न अर्को कम्पनीमा काम खोज्ने सुरसारै देख्छु, न घरको काम सघाउपघाउ गर्ने र लयमा फर्कने छेकछन्द देख्छु । भेउ पाउन सकिरहेकी छुइनँ ।
आफूलाई सत्र कामको चटारो पर्छ । खाना पकाउनु, खुवाउनुदेखि धन्ना, गाई, बाछा, बाख्रालाई घाँसपानी गर्दा गर्दै कतिबेर दिन जान्छ पत्तै हुँदैन । घरको एक लग काम सघाउन बाहेक हिजोआज जतिखेरै मोवाइलमा मात्र झुत्तिएको देख्दा आश्चर्य नमान्ने कुरै भएन । त्यसैले मनको खुल्दुली मेट्न आज चाहिँ दिउँसो फुर्सदको बेला चियो गर्ने सुर कसेँ । नभन्दै उनी कोहीसँग फेसबुक मेसेन्जरमा कुरा गरिरहेको भेट्टाउँछु । एकछिन लुकेर सुन्छु बातचित सामान्य र पाच्य हुन्छन् । एक्कासी म ढोकाभित्र छिर्छु । मेरो आकस्मिक उपस्थितिले झस्किँदै हतास भावभङ्गीमा उनी मेरो शिरदेखि पाइतालासम्म एकतमासाले नजर डुलाउँछन् ।

निसंकोच मैले प्याट्टै सोधिहालेँ– ‘हैन कोसँग कुरा गरेको यति लम्बेतान ?’
सरितासँग तिम्रो सहपाठी क्या ? उनले असजिलो नमानिकन जवाफ फर्काए ।

फेसबुक र मेसेन्जर लग इन, लग आउट गर्न, मेसेज हेर्न, पठाउन, अडियो र भिडियो कल गर्न भर्खर भर्खरै जानेकी हुँ मैले । त्यो पनि उनकै इच्छा अनुसार उनैले फेसबुक अकाउन्ट खोलिदिएका हुन मेरो । बेला मौका मात्र चलाउँछु, त्यो पनि उनकै मोबाइलबाट । अमेरिकामा रहनुहुने बुबा र आफन्तहरुसँग दिल खोलेर कुराकानी गर्छु । क्यानडामा रहनुहुने दिदी, अष्ट्रेलियामा बस्नु हुने दाजु–भाउजुसँग बोल्न छुटाउँदिन । फुर्सदिलो हँुदा तेस्रो मुलुकमा बसोबास गर्ने साथीसंगी, इष्टमित्रहरुसँग अन्तरङका कुरा गर्दा समय बितेको भेउ पाउँदिन ।

ससुरालीतिरको साइनो सम्बन्धको लर्कोसर्कोले उनको पनि उताका आफन्तसँग चिनाजानी नहुने कुरै भएन । त्यसैले मेरो विश्वासको सुविधा लिइरहे उनले । तर, सरितासँगको लुकिछिपी गफगाफले भने संशय र भएको ज्वारभाटा चल्यो मेरो मनमा । गहुगोरी बान्की परेकी ऊ मसँगै स्कूल पढ्ने र मिल्ने साथी थिइ । जब म नेपाली केटासँग लगनगाँठो बाँधिएर कर्मघर खुदुनाबारी आएँ त्यसपछि हाम्रो भेटघाट पातलियो । उसको बिहे भएपछि त झन् हाम्रो भेट आक्कल–झुक्कल मात्र हुन थाल्यो । त्यतिबेला अहिलेको जस्तो स्मार्ट फोन र इन्टरनेटको पहुँच विरलैसँग हुन्थ्यो । यदि त्यो सुविधा हुन्थ्यो त ऊ र मेरो बीचको बढ्दो दुरीले पक्कै फरक पार्थेन ।

उसको नातेदारको घर मेरो कर्मघर नजिकै थियो यसको मतलब हामी असल छिमेकी थियौं । यद्यपि उनका आफन्त कहाँ आउँदा अनि म चाडपर्वमा माइतीघर जाँदा मात्र सिमित रहन गयो हाम्रो भेटघाट, अन्तरङका गफगाफ भलाकुसारी ।

आठ वर्षअघि नेपालमा रहेका शरणार्थी समुदायको तेस्रो मुलुक व्यवस्थापन गर्ने कार्यक्रमको निरन्तरतासँगै ऊ अमेरिका छिरेकी हो । फेसबुकमा मसँग जोडिएकी छे । सामाजिक सञ्जालमा जोडिएदेखि ऊ सँग मेरो बातचित सघन छ ।

तर, मेरो लोग्नेसँग हुने गरेको सघन बातचितबारे कहिल्यै सुनाइन उसले । उसको यो क्रियाकलापले सशंकित तुल्यायो मलाई । रिसको पारो एक्कासी माथि चढ्यो । एकमनले उसलाई कल गरेर सोधुँ झैं लाग्यो । शंकाको डढेलोले मेरो मनको लङ्का जलेर तहसनहस भए झंै महशुस गरेँ । तर, लोग्नेप्रतिको आदर र अगाध प्रेमभावले संयमित बनेँ ।

‘सरितासँगको चक्कर कहिलेदेखि हो आराध्यदेव ?’ कटाक्षपूर्ण भावमा मैले उनलाई सोधेँ । कोठामा एकछिन सन्नाटा छायो । मानौं सियो खसे आवाज आउथ्यो । झ्यालबाट छिरेको घामका रोशनीले उनको अनुहारमा भय र ग्लानी प्रतियोगी झैं दौडिरहेको भान हुन्थ्यो । मानौं हारजितको भीषण दौड प्रतियोगिता भइरहेको थियो । निमेषभरिको सन्नाटालाई चिर्दै, उनले जवाफ फर्काए– ‘अहँ होइन, थिएन ।’
कहिले थिएन, होइन भनेर म अब कसरी विश्वास गरुँ प्राणेश्वर ? संसयको पर्दा उघार्ने ध्येयले प्रश्नको डोरी बेस्सरी खिचेँ मैले ।

मेरो कुरामा विश्वास लाग्दैन ? प्रतिप्रश्नको सिर्कनो उज्याए– उनले । किन लाग्दैन ? लाग्छ । तर, मेरो मनको आकाशमा छाएको शंकाको तँुवालो हटाउने सटिक जवाफ हुनुपर्छ । टिठलाग्दो हाउभाउमा मैले भने । उनीसँग त्यस्तो नाजायज सम्बन्ध छैन । दुई दिनअघि मात्र उनले फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । फ्रेन्डसीप हुनासाथ म्यासेज र कल गरिरहेकी छिन् । उनले इतिवृती सुनाउँदै गए ।

सरोज मानविकी संकायमा प्रोफिसिएन्सी सर्टिफिकेट लेबलको पढाइ सकेर गाउँघरमै बसेको थियो । झापाको एक विकट गाउँ खुदुनाबारीमा थियो उसको घर । निम्न मध्यम वर्गीय किसान परिवारको लाडप्यारमा हुर्केको कान्छो छोरो थियो ऊ । सानै उमेरदेखि सबै विधामा उत्तिकै रुची राख्ने ऊ साहित्य, राजनीति र समाज सेवाप्रति विशेष रुची राख्थ्यो । घरको काममा सघाउपघाउ गरी मान्यजनलाई खुशी पार्न कुनै कसर बाँकी राख्दैन थियो । फुर्सदको समय कथा, निबन्ध, उपन्यास पढेर ज्ञान आर्जनसँगै आनन्द लिन्थ्यो ।

सरितासँगको चिनजान पछि उसको दिनचर्यामा आकस्मिक बद्लाव आयो । दुबै एकअर्काप्रति सम्मोहित भए, प्रेमिल बने । जुनि–जुनिसम्म सँगै जिउने सँगै मर्ने कसम खान समेत भ्याए । तर दुर्भाग्य ! विछोडको पीडा सहन बाध्य पारिए । उप्रान्त कहिल्यै सन्निकट नहुने गरी अलग–थलग भए । मानौं टुटेको काँच जस्तै । कसरी टुट्यो दुई प्रेमी–प्रेमिकाबीच मायाको डोरी ? कहाँ छुट्यो विश्वास । रहस्यको गर्भमै रह्यो त्यो प्रेम दुर्घटना । कमजोरी र कारण खोजी गर्ने सामथ्र्य राखेनन् दुबैले ।

अढाई दशकपछि फेसबुक मार्फत सरोजलाई सरिताको फ्रेन्ड रिक्वेस्ट आउँछ । नयाँ आयामसहित सम्बन्ध नविकृत हुन्छ । मेसेन्जरमा बाक्लै कुरा हुन्छन् । दुबैले विगतका सुनौला क्षणहरुको स्मरणसँगै गल्तीको प्रायश्चित गर्छन् । आ–आफ्नो घर संसार सिगार्न सुझबुझपूर्ण विचार पस्कन्छन् । सम्बन्धमा नयाँ आयाम थप्ने बाचा गर्छन् ।

हैट, बिनाबित्थामा पति परमेश्वर र हितैको साथीबीचको जायज सम्बन्धलाई शंकाको घेराभित्र राख्ने दुस्साहस गरेछु । दुई जनाबीच हुने गरेको मेसेन्जर च्याटलाई गलत सम्झेछु । नाफा–नोक्सानको कसीमा सम्बन्धलाई जाँच्ने स्वार्थी दुनियाको दरिद्र विचारलाई हाँक दिँदै आप्रवासी नारीलाई माया दिने मेरो लोग्नेप्रति अविश्वास गरेछु । उनकै लय पछ्याउँदै भौतिक सुख–सुविधाको लागि माइतीसँगै तेस्रो मुलुक जाने धृष्टता गरिनँ । आत्मिक सुखभन्दा ठूलो अरु केही ठानिनँ । अरुले गरेका मोजमस्ती र ऐयासीप्रति मोह जागेन । निष्कपटी लोग्ने र सहपाठी सरिताबीचको जायज सम्बन्धलाई नाजायज देख्ने मेरो दृष्टिभ्रमप्रति जब मैले उनीसँग क्षमा मागेँ । उनी मलाई नै निर्निमेष हेरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here