संकटमा विश्वास

0
2

विश्वास भन्नाले कुनै व्यक्ति वा उसको काम विशेषमा भर पर्ने स्थितिलाई वा अझ भनौं पत्यार वा भरोसा भन्ने बुझाउँछ । कुनै बेला म कसैसँग पनि नडराउने मान्छे हो । आफ्नो गल्ती भए डराउने नभए किन डराउने ? नबिराउँनु नडराउँनु । बाउको मुखबाट बारम्बार मैले सुनेको कुरा यो । हामीलाई घोचिरहनेहरू पहिल्यैदेखि धेरै थिए । राजनीतिक आस्थाकै कारण पनि हामीले धेरै सास्ती खेप्नु परेको छ ।

पृथ्वीनारायण शाहको दिव्य उपदेश जाइकटक नगर्नु झिकिकटक गर्नु । मलाई अझै सम्झना छ । जसले कसैमाथि अन्याय गर्दैन, उसैमाथि अन्याय हुँदोरहेछ । म स्वयम् पटक–पटक यसको शिकार भएको छु । कुनै बेला मलाई यो कुराले निक्कै चिन्तित पनि बनाएको छ । हामीलाई कुनै बाँसको घनो वा कुनै रूख काट्नु प¥यो भने हामी छानी–छानी वा रोजी–रोजी सोझो वा सिधा बाँसको घनो वा रूख नै काट्छौँ । बाँङ्गोटिङ्गो त कसैले रोज्दैनौँ वा छान्दैनौँ । यस्तो किन गरेको भन्दा सोझो वा सिधा रूख नै बढी काम लाग्ने भएर हो । ठिक त्यसरी नै सबैले सोझो वा सिधा मानिसलाई नै रेट्दा रहेछन् । आफ्ना, आफन्त, छरछिमेक वा पराई जसले पनि सोझो मानिसलाई नै डाम्दा रहेछन् । सोझालाई नै गिदी गर्दा रहेछन् । कति ठाउँमा म नै कति पटक यसको शिकार भएको छु ।

पहिलेभन्दा धेरै पहिले पनि होइन । मैले अलिअलि जान्दा पनि यस्तो थिएन । मानिसमा इमान थियो । कसैले कसैलाई फल्नाले गति छोड्यो भन्थे । अहिले जस्तो इमानको खडेरी परेको थिएन । इमानमा खडेरी परेपछि नै हो रहेछ विश्वास सङ्कटमा पर्ने भनेको । त्यतिबेलासम्म मानिसहरू अर्काको सित्तै खानु हुँदैन भन्थे । खाँदैन थिए पनि । अर्काको सित्तैँ खायो भने भार लाग्छ भन्थे । भेट्दा पनि खाँदैनथे । अहिले त काँ पाउनु । जुकाको जस्तो मुख बाउँछन् । हजुरआमालाई कहिलेकाहीँ के जङ् चल्दोरहेछ कुन्नि भन्नुहुन्थ्यो, आफूदेखि बाहेक कोही आफ्नो हुँदैन । सायद व्यवहारमा भिजेर नै यसो भन्नुभएको हुनुपर्छ । हजुरआमाको यस्तो कुरा सुनेर म आफैँसँग आफैँ प्रश्न गर्थेँ । त्यसो भए बाउआमा, लोग्नेस्वास्नी, छोराछोरी त्यो भन्दा नजिकको आफ्नो आफन्त को हुन्छ ?

अहिले सम्झन्छु साँच्चै कसैमा कसैको विश्वास छैन । न बाबु–आमालाई छोराछोरी माथि विश्वास छ । न छोराछोरीलाई बाबुआमा माथि विश्वास छ न लोग्नेस्वास्नीबीच एकअर्कामाथि नै विश्वास छ ! कसैमाथि कसैको विश्वास छैन । कस्तो आश्चर्य ! आजभन्दा एक सय ३० वर्ष पहिले जन्मिएकी हजुरआमा उतिबेलै कस्तो जमाना आयो यो भन्नुहुन्थ्यो । छोराछोरी, बुहारी हामी नाति–नातिनाको व्यवहार देखेर । कहिलेकाहीँ हामी नाति–नातिनालाई भन्नुहुन्थ्यो, पछि तिमीहरूको पालामा त पानी पनि फुकेर खाने समीया आउँछ । त्यतिबेला हजुरआमाको त्यो भनाइको आशय मैले नबुझे पनि पछि अड्कल काट्न थालेँ । पक्कै पनि हजुरआमाले पछि हाम्रो पालामा तिमीहरूलाई जिउँन गाह्रो हुन्छ ।

विभिन्न प्राविधिको विकासका कारण जीवनशैली उच्च हुन्छ । गरिबी बढेर झन् माथि पुग्छ । अभावले थिच्छ भने जस्तो गरी खान पनि पाउँदैनौ । कसैप्रति कसैको विश्वास रहँदैन । यही भन्न खोज्नुभएको हो । यद्यपि अहिले पनि हुने खानेहरूका लागि त खासै फरक परेको छैन । बरू अझ सुविधासम्पन्न र सुखी जीवन बाँचेका होलान् । सुखी भए पनि खुशी छन् छैनन् त्यो आफ्नै ठाउँमा छ । हुँदा खानेहरूका लागि भने निश्चय पनि आजको जीवनशैलीले ठूलो चोट पु¥याएको छ । अफ्रिकन मुलुकहरूमा बेलाबेला अन्नको महामारी भएर खान नपाएको बेलाको हाहाकार देख्दा मान्छेले मान्छेको मासु खान पनि के बेर झैँ लाग्छ । बुवा पनि कहिलेकाहीँ भन्ने गर्नुहुन्थ्यो, यस्तै हो भने पछि–पछि मान्छे–मान्छे टोकाटोक गरेर मर्न बेर छैन । बुवाले पनि मानिसका बढ्दो चाहना र अभाव देखेर नै यसो भन्नुभएको हुनुपर्छ । साँच्चै आज हाम्रो देशमा लाखौँलाख युवायुवतीहरू विदेश जाँदैनथे र करोडौँकरोड रूपैयाँ वार्षिकरूपमा रेमिट्यान्स भित्रिदैनथ्यो भने त्यो स्थिति आउँदैनथ्यो होला भन्न सकिन्न । आजसम्म देशको आर्थिक अवस्था राम्रो रहेन । सर्वसाधारण जनताको जीवन स्तर उस्ताको उस्तै छ । कहिल्यै नउक्सिने रहेछ ।

लोभलालचभन्दा पनि उच्च जीवनशैली र अभाव नै बन्यो आफन्तबीच अविश्वासको कारण पनि । जति जीवनशैली उच्च बन्दै गयो । अभावको खाडल झन् गहिरिँदै गयो । आयस्रोतको बाटो कुनै नभएपछि लुटो ल्यायो भुटो खायो भने जस्तो भयो । दिनभर काममा गयो बेलुका ल्यायो पकायो खायो सिध्यायो । भोलिपल्ट फेरि बेलुका खानका लागि दिनभर काममा जोतिनै प¥यो । खानै अभाव भएपछि पैसाको जोहो हुने कुरै भएन । सधैँ उस्ताको उस्तै । जीवनशैलीले नै रहेछ मानिसको मनमा लोभलालच, रिस, डाह र स्वार्थ जस्ता बेकारका कुरा उत्पन्न गराउने त्यसले नै रहेछ, एकदम निकटतम सम्बन्धमा पनि अविश्वास पैदा गराउने । इमानको डोरी खुकुलो बनाउँदै लाने । एउटै परिवारका मानिसमा पनि फरक–फरक विचार र अविश्वास उत्पन्न गराउने । विश्वासघात जन्माउने, हुर्काउने, बढाउने, फुलाउने, फलाउने । न परिवारमा विश्वास छ, न आफ्ना आफन्त, छरछिमेक, समाज, देश–देशबीच हुँदा–हुँदा अब त विश्व नै अविश्वासको चपेटामा परिसक्यो ।

आजभन्दा १३ वर्ष अगाडिको कुरा अर्थात् २०६२ सालतिरको कुरा । धेरै पहिलेको के कुरा त्यतिबेलासम्म पनि ५० वर्ष विश्वास गर्न लायकको मानिस छोडेर म विदेश गएको छ वर्षपछि अर्थात् २०६८ सालमा आउँदा त्यही मानिस आधा घण्टा पनि विश्वास गर्न नसकिने भएको रहेछ । म त आफैँ छक्क परेँ । जो जसको भए पनि एकअर्काबीचको विश्वास त्यति विघ्न सङ्कटमा परेको छ । कसैको भर छैन । कसले कहाँनिर कतिबेला कसलाई घिल्स्याउने हो थाहै हुन्न । खान पाएन भने एकैछिनमा मानिस देब्रो हुन्छ । विश्वासघात गर्न बेरै लाग्दैन । आजको सारा मानिस पैसाको पछि कुदेको छ । इमानको पछि कुद्ने मानिस त औँलामा गन्न सकिने जस्तो एकाध छन् । सारा मानिस इमान र विश्वासको पछि कुदुन् । कहिले आउला त्यस्तो दिन ? मानिस–मानिस जस्तो होस र ऊ विश्वास र इमानमा अडियोस् । समाज समाज जस्तो होस । बेइमानीहरू कसिङ्गर जस्तै बढारिउन् । त्यस्तो समाज निर्माण होस् जहाँ सत्य र इमानको राज होस् । कलङ्ककको टिको लाउनेहरू पुछिउन् । इमान, विश्वास र सत्यसँग मानिस डराओस् । बेइमानहरूसँग कसैले डराउनु नपरोस् । विश्वासघातकै कारण कसैको हृदयमा पहिरो नजाओस् । विश्वासका बाँधहरू फुटेर कसैका मनहरू नबगुन् । कसरी फर्केला पहिलेको अवस्थामा मानिसहरूको मन ।

जुनबेला मानिसहरू इमानसँग डराउँथे । पैसाभन्दा इमानलाई ठूलो ठान्थे । परिवार, समाज र देशकै ठूलो मानिससँग सबै डराउँथे । इमान्दार मानिसको अगाडि सबै नतमस्तक हुन्थे । खै त्यो आज ? इमान्दार मानिससँग बेइमानहरू डराउँथेभन्दा काल्पनिक कथा जस्तो लाग्न सक्छ । आजको स्थिति भनेको आफूदेखि बाहेक कोही आफ्नो नभएको स्थिति नै हो । यो आफूदेखि बाहेक अरू कसैसँग भर पर्न नसकिने अवस्था हो । भन्नैपर्दा मैले बुझेको एउटा कुरा अभाव त छँदैछ । परिस्थितिले पनि मानिसलाई बेइमान बनाउँदोरहेछ । यो मेरो मानिस किन बेइमान बन्छ ? भन्ने कुराको निचोड हो । यद्यपि यो पनि अभावले नै खनेको बाटो हो । अफ्ठेरो बाटो त कसलाई हिँड्न मन हुन्छ र कसैलाई हुन्न । सबैलाई सजिलै बाटो हिँड्न मन लाग्छ । अफ्ठेरो देखेपछि न हो मानिसले बाटो मोड्ने अनि त्यहीँनेर त हुने हो विश्वासघात ।

म कसैप्रति पनि झ्वाट्टै विश्वास गरिहाल्दिनँ र तुरुन्तै कसैलाई विश्वास दिलाई पनि हाल्दिनँ । यो मेरो कमजोरी हो भनेर कसैले औँल्याउँछ भने पनि त्यसमा मेरो कुनै विमति छैन । यसबाट मलाई कुनै ठाउँमा बेफाइदा भए पनि कतिपय ठाउँमा फाइदै भएको छ । मैले विश्वास गरेका मासिनहरू औँलामा गन्न सकिने थिए । ती पनि अहिले आएर सबै बेइमान भए । जीवनको पूवार्धमा त मैले त्यति धेरै विश्वासघात सहनु परेन । जसप्रति विश्वास र भरोसा थियो त्यो कायमै थियो । जीवनको उत्तरार्धमा आएपछि पो विश्वासघातीहरूको विश्वासघातको ओइरो लाग्यो । त्यो पनि मेरो इमानको थाप्लोले थेग्नै नसक्ने गरी । धन्न यो बेलासम्म आइपुग्दा मनले जीवन र जगत्लाई थोरै भएपनि बुझ्न थालेको रहेछ र थाम्म सक्यो ।

मानिस सर्वश्रेष्ठ र सचेत प्राणी भएकोले उसमा एकअर्काबीच सदैव विश्वास रहिरहोस् । मेरको विश्वास पनि जागोस् र मानिस–मानिस जस्तो होस् भन्ने मात्र हो । मानिस–मानिस जस्तो भएन भने मानिस भएको के अर्थ भयो र ? सबैसँग एकअर्काबीच विश्वास होस् । कसैको विश्वास धरापमा नपरोस । संसार विश्वासमै अड्नुपर्छ र अडोस् । यो सङ्कटमा नपरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here