स्वास्थ्यलाई जोगाऔं

0
8

खाद्य बाली, फलफूल तथा तरकारी बालीमा लाग्ने हानिकारक किटाणुलाई हटाउन, रोक्न र नियन्त्रण गर्न प्रयोग हुने विषालु पदार्थलाई विषादी भनिन्छ । यसले बालीनालीलाई शत्रुजीवबाट जोगाउँछ, तर प्रकृति, वातावरण, मित्रजीव तथा मानव स्वास्थ्यमा भने गम्भीर असर गर्छ । बालीनालीलाई त्यस्ता हानिकारक जीवबाट जोगाउँदै वातावरण र बढ्दो जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्न, तरकारी र फलफूलको आपूर्ति गर्न समेत यस्ता विषादीको समुचित उपयोग हुनुपर्ने आजको बाध्यात्मक अवस्था हो । तर, यही आवश्यकताका नाममा हिजोआज विषादीको अधिक प्रयोग हुन थालेको छ । विश्वको बढ्दो जनसंख्याका लागि कृषि उत्पादन वृद्धि गर्न रासायनिक मलखाद र हानिकारक किटाणुहरुबाट बाली जोगाउने नाममा विषादीको प्रयोग तथा मात्रा बढ्दै गएपछि वातावरणीय प्रदूषण मात्र बढेको छैन मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्न थालेको भन्दै चिकित्सकहरुले सचेत गराइरहेका छन् ।

विषादीको प्रयोगबाट हुने क्षतिलाई रोकथाम गर्न हिजोआज परीक्षण प्रयोगशाला सञ्चालन गरिएका छन् । त्यही उद्देश्यले झापाको बिर्तामोडमा स्थापित विषादी अवशेष दू्रत विश्लेषण प्रयोगशालाले कृषिथोक बजारका दश वटा पसलहरुबाट नमूना संकलन गरेर परीक्षण गर्दा एउटा पसलमा रहेको टमाटरमा विषादीको अत्यधिक प्रयोग भएको भेटियो । झापाकै ठूलो कृषि बजारका रुपमा स्थापित बिर्तामोडमा खाद्य सुरक्षाकै लागि प्रयोगशाला सञ्चालनमा छ र स्थानीय सरकार बिर्तामोड नगरपालिकाले अग्र्यानिक उत्पादनमा जोड दिँदै आएको छ । तर, देशमै उत्पादित कृषि वस्तुमा आयातितमा भन्दा बढी विषादीको प्रयोग हुँदै आएको उक्त परीक्षणले संकेत गरेको छ । टमाटरको विषादी परीक्षणमा अर्गानो फस्केट नामक तत्व ५६.८२१५ रहेको प्रयोगशालाले जनाएको छ । त्यस्तो विषादीको मात्रा ४५ भन्दा तल हुनुपर्ने भन्दै प्रतिवेदनका आधारमा टमाटर नष्ट गरिएको थियो ।

उत्पादनको ठूलो हिस्सा शत्रुजीवहरुबाट नष्ट भइरहेको छ भने उत्पादकत्व समेत ह्रास भइरहेको छ । त्यसमाथि नेपाली युवाशक्ति विदेश पलायन हुने क्रम प्रत्येक वर्ष बढ्दै छ । यस्तोमा उपेक्षित भइरहेको कृषिकर्मलाई सुरक्षित गर्दै खाद्य सुरक्षालाई टेवा दिनुपर्ने चुनौती पनि छ । बालीलाई शत्रुजीवबाट सुरक्षित गर्ने नाममा विषादीको अधिक प्रयोग गरेर आय वृद्धि गर्न त सकिएला, तर त्यसको दीर्घकालीन असर प्रत्युत्पादक हुन्छ भन्ने बिर्सनु हुँदैन । हिजोआज ग्रामीण क्षेत्रहरुका खेतीयोग्य जमिन बाँझो हुन थालेको छ, बजारको पहुँच भएका पहाडी र उच्च पहाडी क्षेत्रहरुमा पनि विषादीको प्रयोग बढ्न थालेको उदाहरण भेटिएका छन् । यद्यपि नेपाल अधिक विषादी प्रयोग हुने देशमा पर्दैन, तर प्रयोग हुने ठाउँ, बाली, मात्रा, समय, रसायन र भण्डारणको अवस्थाले यो समस्या जटिल बन्दै गएको छ । रसायनिक वस्तु र विषादीको प्रयोगले उत्पादन त बढाएको छ, तर यसले निम्त्याएको मानव स्वास्थ्य र वातावरणीय समस्याहरु झन जटिल छन् । त्यसैले परम्परागत तथा प्राङ्गारिक विधिको अवलम्बन गर्ने÷गराउनेतर्फ लाग्ने सम्बद्ध निकाय र सरकारले प्रोत्साहन गर्नुपर्छ । अनि मात्र सर्वोत्तम धन भनिएको स्वास्थ्यको रक्षा हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here