कास्की,
पोखराको फेवाफाँटका किसानले लगाएका जेठोबूढो धानमा गभारोको समस्या भएको छ ।
गभारोका कारण जेठोबूढो धानको पकेट क्षेत्रका रूपमा परिचित फेवाफाँटमा एक हजार रोपनी क्षेत्रफलमा लगाएको बालीमा अन्न लागेको छैन ।
पराल पनि पशुले नखानेगरी बिग्रिएको स्थानीय किसान देवीलाल लामिछानेले बताउनुभयो ।
गभारो रोगले यसअघि बाली सखाप नपारेको भन्दै उहाँले रोगबारे आफूहरू अनभिज्ञ रहेकोले अहिले धेरै किसान पीडत भएका बताउनुभयो । बाली खेर गएको भन्दै किसान चिन्तित छन् ।
पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गर्दा गभारोको प्रकोप रहेको बताएको छ ।
समयमा जानकारी नपाउँदा क्षति घटाउन नसकेको महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।