नेकपा एमाले इलामको अधिवेशनका लागि ५ सय ८३ जना प्रतिनिधि छनौट

0
97

विमल दहाल, इलाम ।

नेकपा एमाले इलामको ११औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट कार्य सम्पन्न भएको छ । आगामी कार्तिक २९ र ३० गते हुने जिल्ला अधिवेशनका लागि जिल्ला भित्रका ५ सय ८३ जना प्रतिनिधि छनौट भएका छन्।

एमाले इलामले ८१ वटा वडा कमिटी, २२ वटा जनसंगठन तथा पेशागत संगठन, ३ वटा इलाका कमिटी, शाखा कमिटी र एउटा विशेष वडा कमिटी गरी ५ सय ८३ जना प्रतिनिधि छनौट गरेको हो । यस पटकको अधिवेशनमा मनोनित प्रतिनिधि नल्याईने बुझिएको छ।

अधिवेशन प्रतिनिधिका लागि धेरै पार्टी सदस्यहरु इच्छुक देखिए पछि कतिपय वडामा र पालिकामा निर्वाचनका माध्यमबाट प्रतिनिधि छानिएका छन् । पार्टी सदस्य खुला २० जना बराबर एक जना प्रतिनिधि र दलित ८ जना बराबर एक जनाका दरले ३३ प्रतिशत महिला र १० प्रतिशत युवा सहभागी रहनेगरी समावेशी, दलित, महिला, अल्पसंख्यक,अपाङ्गता भएका व्यक्ति लगायत छनौट गरिएको बताइएको छ।

प्रतिनिधिहरू इलाम नगरपालिकाबाट ११२ जना, सूर्योदय नगरपालिकाबाट ५७ जना, देउमाई नगरपालिकाबाट ५९ जना र माई नगरपालिकाबाट ८७ जना रहेका छन्। त्यस्तै फाकफोक थुम गाउँपालिकाबाट ४६ जना, चुलाचुली गाउँपालिकाबाट ३५ जना, सन्दकपुर गाउँपालिका बाट ४१ जना, माङसेबुङ गाँउ पालिकाबाट २३ जन, माइजोगमाई गाँउ पालिकाबाट ६१ जना र रोङ गाउँ पालिकाबाट १४ जना रहेका छन् ।

त्यस्तै ११ नम्बर इलाकाबाट ७ जना, १२ नम्बर इलाकाबाट ३ जना र १३ नम्बरबाट ११ जना चयन भएका छन्। यता २२ वटा जनसंगठनबाट २७ जना गरी ५ सय ८३ जना प्रतिनिधि रहेको नेकपा एमाले इलामका सचिव, संगठन विभाग प्रमुख एवम् प्रतिनिधि मुल व्यवस्थापन समिति संयोजक उमेश गुरुङले जानकारी दिनुभयो।

एघारौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित पाँच पदाधिकारी छनौट गर्नेछ भने बढीमा १०५ जना जिल्ला कमिटी गठन गर्ने जनाइएको छ। नेतृत्व चयन सर्वसम्मतबाट गर्ने गरी माथिल्लो तहका नेताहरु सक्रिय रहेको भए पनि हालसम्मको उमेद्वार आकाङ्क्षी अवस्थालाई हेर्दा सर्वसम्मत हुने सम्भावना कम रहेको बुझिएको छ । एमालेले सबै जिल्लामा अधिवेशन यस अघिनै सम्पन्न गरेको भए पनि इलाम क्षेत्र नम्बर २ मा गत बैशाख १४ गतेको उपनिर्वाचनका कारण अधिवेशन पछि धकेलिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here