पथरीमा सङ्गिनी प्रशिक्षण: संरक्षणका लागि नातिनी र बुहारी पुस्तालाई प्रशिक्षण

0
43

छविराज ढकाल
पथरीशनिश्चरे,

मोरङ्गको पथरी शनिश्चरे वडा नम्बर ३ मा रहेको महिला जागरुक हरिकिर्तन तथा संगिनी समूहले भजन किर्तन सहित लोपन्मुख संगिनी तथा बालन नृत्य प्रशिक्षण गराउँदै आएको छ।

हिन्दु धर्मावलम्बी महिला दिदी बहिनीहरूले आफ्नो समुह बनाएर आफ्नो मौलिक तथा परम्परागत नृत्यलाई संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गराउँदै आएका हुन्। हरेक हप्ता आफ्ना नातिनी तथा बुहारी पुस्ताहरूका लागि आमाहरुले सुरु गर्नु भएको छ ।

महिला जागरुक हरिकिर्तन तथा संगिनी समुहले आफ्नो पुस्तामा रहेको संस्कार र संस्कृतिको नासो नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्छ भनेर नयाँ पुस्ताका नातिनी र बुहारीहरुलाई संगीनीको मौलिकता प्रति आकर्षित गर्दै प्रशिक्षण सुरु गरिएको छ।

“हामीले आफ्नो संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेनौँ भने यो पछिका पुस्ताले एकादेशको कथाका रुपमा सुन्नेछन् । यसैले संगीनीको मौलिकता जगेर्ना र संरक्षणमा आमाहरुले गर्नु भएको प्रयत्न सानै भएपनि कालान्तरमा एउटा दस्ताबेज बन्न सक्छ भन्ने उद्देश्यले यो प्रशिक्षण थालिएको हो । ” स्थानीय अगुवा जनता माध्यमिक विद्यालयकी शिक्षिका देवीमाया पोखरेल लुइँटेल भन्नुहुन्छ।

विगत १८ वर्षदेखि आफ्नो समुहले संगिनी नृत्यलाई जगेर्ना गर्न आफ्नो घर गाउँमा दिदीबहिनी र आमाहरूले किर्तन सहित संगिनी नृत्य गर्दै आएको बताउनुभयो। पछिल्ला केही वर्षदेखि यो संगिनी समूह झापा र मोरङका विभिन्न धार्मिक अनुष्ठान हरूमा पनि गएर संगिनी नृत्य गर्दै आएको छ।

पश्चिमी संस्कृतिको प्रभाव बढी रहँदा यता यो समुह चाहिँ आफ्नो मौलिक परम्परासँग जोडिएको संगिनी नृत्य जोगाउन लागी परेको छ । आमा- हजुर आमासितै संगिनी नृत्य सिकी रहेकी अपेक्षा खतिवडाले “आफुहरूलाई उहाँहरूले संगिनी नाच्दा रहर लागेको” सुनाउँदै भन्छिन्।

विशेष गरी, परापुर्वकालमा विवाह, पुराण , समारोह , उत्सव ,महायज्ञ आदिमा संगिनी नृत्य प्रचलनमा थियो। यो सांस्कृतिक नृत्यको महत्व र महिमा ज्यादै नै छ। यसकारण यसको मौलिकता हराउन दिनु नहुने स्थानीय अगुवा संस्कृतिप्रेमी पूर्व-शिक्षक भुवनेश्वर पोखरेलले सल्लाह दिनुभयो।

पछिल्लो समयमा लोप हुँदै गएको यो संगिनी नृत्यलाई संरक्षण र सम्बर्द्धन गर्न आवश्यक ठानेर पुरूष दाजुभाईहरूले पनि गाउँ ,नगर , प्रदेश हुँदै देश-विदेशमा यसको प्रचारप्रसार गर्न आवश्यक भएको स्थानीय समाजसेवी खगेन्द्र लुइटेलले औंल्याउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here