झापा ।
झापाको भद्रपुरस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक पर्यटकीय स्थल किचकवध परिसरमा वृहत् सरसफाई गरिएको छ ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वाटर झापाले आइतबार बिहान किचकवध परिसरमा वृहत् सरसफाई गर्दै सरसफाई सामग्री वितरण गरेको हो । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, कर्मचारी, भद्रपुर नगर प्रहरी, सगरमाथा युवा क्लब तथा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।
सशस्त्र प्रहरीले गर्दै आइरहेको सामाजिक कार्यहरूको चर्चा गर्दै सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वाटर झापाका एसपी कवीन्द्र राईले सीमावासी जनताको हितमा धार्मिक स्थलहरूको संरक्षण, सीमा सुरक्षामा नागरिक सहकार्यको महत्व र आपराधिक गतिविधि नियन्त्रणमा स्थानीय समुदायको भूमिका आवश्यक रहेको बताएका थिए ।
सोही कार्यक्रममा सशस्त्रका एसपी राईले किचकबधका लागि पाँच वटा डस्टविनसहित सरसफाई सामग्री स्थानीय वडाध्यक्षहरूलाई हस्तान्तरण गरेका थिए । त्यस्तै भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले धार्मिक स्थलहरूको संरक्षण हाम्रो सांस्कृतिक दायित्व भएको उल्लेख गर्दै सशस्त्र प्रहरीको किचकवध सरसफाई अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताए । उनले स्थानीय समुदायको सहकार्यले सीमा क्षेत्रको विकास र सुरक्षा सुनिश्चित हुनेमा समेत जोड दिए ।
महाभारतकालीन किंवदन्तीसँग जोडिएको किचकबधमा हरेक वर्ष माघे शुल्क पूर्णिमा÷ स्वस्थानी व्रतका दिन मेला लाग्दै आएको छ । महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका साला किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।
सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण गरिएको बताइन्छ ।
सशस्त्रद्वारा ट्युबवेल निर्माण
सशस्त्र प्रहरीले सीमामा आउ–जाउ गर्ने स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले कचनकवल गाउँपालिका–४मा ट्युबवेल निर्माण गरिदिएको छ । सो ट्युबवेलको आइतबार एक कार्यक्रमकाबीच कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी र सशस्त्र प्रहरीका एसपी कवीन्द्र राईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सीमावासीको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरीद्वारा सञ्चालित सीमा क्षेत्र विकास कार्यक्रमले पूर्वाधार विकास, सरसफाई अभियान, सिपमूलक तालिम तथा स्वास्थ्य शिविरहरूले सीमावासी जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास संगठनले लिएको छ ।
सशस्त्रले सीमा सुरक्षा मात्र नभई स्थानीय जनताको सेवा र सहकार्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको एसपी राईको भनाइ छ ।