भताभुङ्गे चाला हाँस्यव्यङ्ग्यात्मक सचेतना

0
32

हाँस्यव्यङ्ग्यकार डम्बरबहादुर बस्नेतको ‘भताभुङ्गे चाला’ नामक हाँस्यव्यङ्ग्य संग्रह पाठकवर्ग समक्ष आएको छ ।हाँस्यव्यङ्ग्यकार बस्नेतको ‘भताभुङ्गे चाला’ हाँस्यव्यङ्ग्यात्मक नवीन कृति परिबर्धित संस्करण रहेको छ । कृतिभित्रका निबन्धहरु हाँस्यव्यङ्ग्ययुक्त रहेका, देशको राजनीतिदेखि यावत परिस्थिति, समाजमा व्याप्त विसंगती आदि विषयमा व्यङ्ग्य गरिएका छन् । निबन्धहरु विचारपरक, घटनापरक, यात्रापरक, सत्य र यथार्थपरक रहेका र निबन्धहरुले आमपाठक वर्गमा सचेतना प्रवाह गर्दछन् ।

संग्रहमा सभामुख देवराज घिमिरे, कोशी प्रदेश खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की र बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईका शुभकामना प्रकाशित भएका छन् । शुभकामना अनुसार स्रष्टा तथा लेखक बस्नेत बौद्धिक, सामाजिक शैक्षिक एवम् राजनीतिक व्यक्तित्व, समाजसेवी, कुशल प्रशिक्षक, मानव अधिकारकर्मीका साथै बहुआयामिक प्रतिभा रहेका छन् ।

हाँस्यव्यङ्ग्य निबन्धमार्फत लेखकले सामाजिक समस्या, मानव व्यबहार र देशको राजनीतिक संस्थाहरु प्रति हाँस्य मिश्रित टिप्पणी गरिएका छन् । समाजमा रहेका त्रुटिहरु र बिरोधाभाषहरुलाई उजागर गरिएका छन् । निबन्धहरुले समाज र राजनीतिक क्षेत्रमा देखिएका विसंगतिप्रति चोटिलो व्यङ्ग्य गर्दै समाजमा सकारात्मक सोचको विकास गर्दै समस्या समाधानका उपायहरु पनि सुझाएका छन् ।

हाँस्यव्यङ्ग्यकार बस्नेत स्वयम्को भनाईबाट यस कृतिबारे जानौँ । ‘पहिलो हाँस्यव्यङ्ग्य निबन्धमा १३ वटा लेख थिए । त्यसमा सात वटा लेख थपेर यस पुस्तकमा २० वटा निबन्ध समेटिएका छन् । २०४१÷०४२ देखि यति लामो समय बितिसक्दा पनि देशमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा खासै उल्लेख्य उपलब्धि हुन नसकेको र विकासको नाममा पुरानै संस्कारमा दौडिन खोजेको आभाष अहिले पनि छँदैछ । त्यसैले पहिलेका निबन्धहरु समेत राखिएको हो । जबसम्म चोरी, डकैती, भ्रष्टाचार, अन्याय, अत्याचार, घुसखोरी, चेलिबेटी बेचबिखन, बलात्कार र हत्या जस्ता जघन्य अपराधको अन्त्य हुँदैन, तबसम्म परिवर्तन र विकास भन्ने कुरा केवल कल्पना मात्र हुने रहेछ । त्यतिमात्र होइन, भ्रष्टाचारका पनि जग्गा, सुन, हवाइजहाज काण्ड, काण्डैकाण्डको प्रकाण्ड रुपमा बढेकोबढ्यै सगरमाथाभन्दा उचोँ हुन लागिसकेको छ । पार्टीभित्रको लबिले त झन् पार्टी सिस्टमलाई नै तहसनहस पार्न लागिसकेको छ । स्याउले, धुपौरेहरुको खाँचो कहिल्यै नहुने रहेछ । अब हामीले वा सारा नेपालीले शान्ति खोज्न कहाँ जानुपर्ने हो ? सुखको श्वास फेर्न कहिले पाइने हो ? आदि जस्ता जिज्ञासासहितका निबन्धहरु लेख्ने प्रयास गरेको छु ।’

साहित्यकार तारा विविधको भूमिका लेख अनुसार– ‘यस निबन्ध संग्रहमा समसामयीक विषयवस्तुका सम्बन्धमा निबन्धहरु लेखिएका छन् । जहाँ जे–जस्ता समस्याहरु देखियो, भोगियो वा अनुभव गरियो त्यसउपर छेडछाड, घोचपेच, व्यङ्ग्य, हाँसो वा खिचीटिउरी गर्दै निबन्धहरु अगाडि बढेका छन् । नेपालको परिवेशलाई जताबाट नियाल्दा पनि लथालिङ्ग भताभुङ्ग पाइने भएकोले र निबन्धमा तिनै कुरालाई विषयवस्तु बनाइएकोले त्यसैलाई संकेत गरेर भताभुङ्गे चाला शीर्षक राख्दै निबन्ध संग्रह निकालेको प्रतीत हुन्छ । भताभुङ्गे चालामा खासगरी नेपाली समाजभित्रका विभिन्न तह तप्काका कमजोरीबारे निरुपण गर्न खोजिएको छ । देशमा बढ्दै गएको राजनैतिक, शैक्षिक, प्रशासनिक एवम् सांस्कृतिक क्षेत्रमा क्रमशः बढ्दै गएको साखको क्षयीकरणको उजागर गरिएको छ । २०४६ पछि क्रमशः देशमा बढ्दै गएको दलगत वा पार्टीगत बितण्डा जसलाई राजनीतिक क्षयीकरणको स्थिति भन्न सकिन्छ त्यस पक्षलाई यहाँ बढी उजागर गरिएको छ ।’

निबन्धमा सरल, सरस भाषाको प्रयोग भएको पाइन्छ । उखान टुक्काहरुको उपयोगले पाठकका लागि निबन्धहरु मिठासपूर्ण बनेका छन् । हाँस्यव्यङ्ग्यात्मकता एवम् वर्णनात्मकता यस संग्रहको मुख्य विशेषता रहेको छ । निबन्धहरु लघु आयामका रहेका छन् । भाषामा विशिष्ठता, अनुप्रासयुक्त लेखनशैली संग्रहमा रहेका छन् ।

यस संग्रहभित्रका निबन्धहरुका शीर्षक यस प्रकार रहेका छन् ः भताभुङ्गे चाला, बाह्र फुर्का तेह्र सुर्काउनी, जमाना खेल तमासाको नहोस्, क–कसले किन हाँस्ने ? लाटी र पाटी एकै हुन्, भाषा र संस्कृति आयो विकृति, मेरो मेरो तेरो मेरो, चुनावको चर्चा, महाकाली मेची खाने हुन् कि बेची ? मैले भोज किन खुवाउने ?, नेपालदेखि डेनमार्कसम्म, कुन देवी पुज्ने ?, कुन संस्कार ठीक ? कृत्रिम भुइँफुट्टा, शकुनीवादीले चलाएको देश, हनुमानप्रसाद र सुरवीर सिंह, सहकारी सरकारी कार्यालय र विद्यालय जस्तो नहोस्, दुःख बाँड्ने र सुख लुकाउने क्षेत्रहरु, पत्रिकामा छापिएका चित्त नबुझेका कुरा र सकरात्मक सोच वा प्रवृत्ति र व्यबहार । शीर्षकहरुबाट नै थाहा लाग्दछ निबन्धहरु कति रोचक, चोटिला र हाँस्यव्यङ्ग्यात्मकतायुक्त रहेका छन् ? यस निबन्ध संग्रहले नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा अर्को दरिलो इँटा थप्ने काम गरेको छ ।

अब लागौँ संग्रहभित्रका केही हाँस्यव्यङ्ग्यात्मक निबन्धतर्फ । लाटी र पार्टी एकै हुन् शीर्षकको निबन्धमा बस्नेतले, लगातार उल्टी र हगुवाको बिमार लाग्यो भने हैँजा भनिन्छ । त्यस्तै कुनै पनि पार्टी त्यागी लगातार अर्को पार्टी फेरिरहने भगुवा नेतालाई हैँजाको किटाणु भनिन्छ । किनकि लाटी र पार्टी स्वयम्मा स्वच्छ हुन्छन् । लाटीलाई पनि राम्रोसँग अह्राइखटाई गरेर काम सिकाइएमा सजिलै गर्छिन् । पार्टीलाई राम्रो मान्छेको नेतृत्वबाट सञ्चालन गरेमा जस्तै जोखिम कार्यपनि सफल हुन सक्छ । यस्तै दृष्टान्ट दिँदै निबन्धकारले देशको पार्टी प्रणालीलाई आफ्नो लेखनमार्फत चोटिलो व्यङ्ग्य गर्दै सुधारका लागि मार्गदर्शन गरेका छन् ।

महाकाली मेची खाने हुन् कि बेची शीर्षकको निबन्धमा, राणा शासन, पञ्चायतका, २०४६ पछिका शासन काल र अहिलेका शासनकालसम्मका प्रसंग समेटिएका छन् । महाकाली देखि मेचीसम्मका नेपाली सीमा मिचिएकाबारे शासकहरु प्रति व्यङ्ग्य गरिएका छन् । चुनावी चरित्रदेखि सरकारहरुकाबारे पनि व्यङ्ग्य गरिएका छन् । यहाँ सानो अंश उल्लेख गर्नु सान्दर्भिक हुन्छ, ‘चुनावले पनि कति चाँडोचाँडो काट्दोरहेछ डाँडो, वर्षैपिच्छे, महिनैपिच्छे भनेपनि हुने उपचुनाव, मध्यावधि चुनाव, विश्वास अविश्वास चुनाव, घात प्रतिघात, निर्घात चुनाव चल्न थाल्यो । वाक युद्ध, गृह युद्ध, हस्त युद्ध, बाठा युद्ध, पार्टी युद्ध, सरकार र जनताको युद्ध आदि जस्ता युद्धैयुद्ध चल्न थाले ।

छलछाम, ढाँटछल, पैसा बाँडाबाँड, अर्काको विचारको फाँडाफाँड, केही नेता रहे बिक्री भाउमा, कोही–कोही लागे थप्पिने फाउमा । छोटो समयमा पनि सयौँखाले काण्ड घटे । संसद गफ गर्ने थलो त हुँदै हो, त्यसभन्दा बढ्दा दुई नम्बरको रमाउने, सांसद कमाउने, जनता गुमाउने, देश विकासको नाममा व्यक्तिगत विकास गर्ने मूल थलोको रुपमा पनि सावित भएको छ । यस्तो भएपछि महाकाली मेचीमा मिचिएको कुरा कसले देख्ने । महाकालीमा आ–आफ्नो फाइदा देख्ने र मेची सीमालाई कसले छेक्ने । यी वाक्यहरुबाट बस्नेतको निबन्धहरुको लेखनशैली र चिन्तन निकै चाखलाग्दो भएको जान्न सकिन्छ ।
निबन्ध मध्ये पहिलो निबन्ध, कृतिको नामकै भताभुङ्गे चाला शीर्षकको निबन्ध रहेको छ । भताभुङ्गे चाला कृतिको नाम र निबन्धमा के–कसरी व्यङ्ग्य गरिएको छ ? केलाई भताभुङ्गे चाला भनिएको हो त ? चोटिलो, रोचक तथा घोचक निबन्ध पढ्ने जिम्मा पाठकवर्गमा । संग्रहभित्रका सबै निबन्धहरुमा समाज, देश, राजनीतिक प्रवृत्ति आदिबारे चिन्तनसहित व्यङ्ग्य गर्दै मागर्दशन गरिएका छन् ।

निबन्धहरुले देश सञ्चालकहरुको आँखा खोल्नेछन् । बिर्तामोड–१ आदर्शटोल निवासी डम्बरबहादुर बस्नेतले एम.ए., बि.एड. सम्मको शिक्षा हासिल गरेका छन् । उनले शिक्षण सेवामा ११ वर्ष र स्रोत व्यक्तिका रुपमा २६ वर्ष शिक्षाका क्षेत्रमा सेवा गरेका छन् । उनी शिक्षा तथा सहकारी सम्बन्धी मास्टर टे«नर्स समेत रहेका छन् । उनले धेरै समसामयिक रचना तथा लेखहरु पनि सिर्जना गरेका छन् र पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । साथै पाठ्क्रम तथा पाठ्यपुस्तक निर्माणमा समेत उनको योगदान रहेको छ । बस्नेतको नवीन कृतिको प्रकाशक सीतादेवी बस्नेत खड्का, साइसा खड्का र गोमादेवी खड्का रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here