बिर्तामोड ।
बिर्तामोड नगरपालिका–६, बेलगाछी टोलकी २८ वर्षीया सरिता बिशुंकेले जीवन बचाउन सहयोगको अपिल गरेकी छिन् ।
स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी उनले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको बताइन् । जीवन–मरणको दोसाँधमा रहेकी उनले आमनागरिक, समाजसेवी तथा सहयोगी मनहरूलाई आफ्नो जीवन बचाइदिन आग्रह गरेकी हुन् ।
एक वर्षअघि सामान्य स्वास्थ्य समस्याबाट शुरू भएको सरिताको रोग जब गम्भीर बन्दै गयो तब परीक्षणपछि उनलाई स्तन क्यान्सर भएको पुष्टि भयो । शुरूमा मेडिकल र घरायसी औषधि सेवन गरेर रोगलाई नियन्त्रण गर्ने प्रयास गरे पनि जब क्यान्सर बल्झँदै गयो, उनलाई झन् गाह्रो हुँदै गयो ।
चिकित्सकहरूले तत्काल उपचार आवश्यक रहेको सुझाव दिए, तर आर्थिक अभावका कारण उनी निरन्तर उपचार गर्न असमर्थ भइन् । छरछिमेकको सहयोगले दुई पटक पूर्वाञ्चल क्यान्सर अस्पतालमा गएर किमोथेरापी गराए पनि अब पैसा नै नभएको गुनासो गरेकी छन् ।
सरिताका श्रीमान् जगतबहादुर विश्वकर्मा चिया बगानमा मजदुरी गर्छन् । उनको दैनिक कमाई अत्यन्तै न्यून छ । त्यही कमाइले घर चलाउनु, बालबच्चा पाल्नु, उपचार खर्च जुटाउनु असम्भव बन्दै गएको छ ।
सरिताका दुई साना बालबालिका छन् । उनी निको भएर आफ्ना छोराछोरीको भविष्य सुरक्षित बनाउने सपना देख्छिन् । तर, उपचार नहुँदा दिनदिनै उनको स्वास्थ्य कमजोर बन्दै गएको छ । ‘म निको भएर आफ्ना सन्तानको राम्रो भविष्य बनाउने सपना देखिरहेकी छु । मेरो जीवन बचाउन सबैले सानो सहयोग गरिदिनुहोस् ।’ –सरिताले सहयोगको अपिल गरिन् ।
उनलाई सहयोग गर्न चाहनेहरुले सरिता बिशुंकेको नामका रहेको एनआईसी एशिया बैंक, बिर्ताबजार शाखाको खाता नम्बर २४६५७५३२५९२८२००१ वा फोन सम्पर्क ९७०६१४१२१७ उनका श्रीमान जगतबहादुर विश्वकर्मालाई सम्पर्क गर्न सकिने बताइएको छ ।