व्यस्त दैनिकी ठूलालाई पारिवारिक जिम्मेवारी, पेशागत तथा व्यवसायिक व्यस्तता, आइपर्ने विभिन्न सजिला तथा अप्ठयारा परिस्थितिको चुनौती भइरहन्छ । त्यस्तै सानालाई शिक्षा, ज्ञान आर्जनको दौडाहा हरेक बिहान चाडै उठ, स्कूल जाउ, साझ घर फर्क, घर फर्केर पनि दिनभरिको थकाई, थकाईका बाबजुद स्कूलमा दिएको होमवर्क, ट्युसन आदिको बोझ, अभिभावकलाई दैनिक रूपमा दोहोरी रहन्छ । नानीहरूको जिम्मेवारीसँगै घर व्यवस्थापन, हतारो, चटारो, व्यस्तता र दौडधुपमा चलिरहेको जीवन । प्रविधिले दैनिकी सहज तुल्यायो भनिए पनि व्यस्तता नघटेको अवस्था छ ।
प्रविधिको उपयोगले भेटघाट समेत डिजिटल बनेको भौतिक दूरी बढेर बीचमा ठूलो खाडल परे जस्तो अवस्था । एउटै समाजमा बसोबास भएर पनि सबैको सबैसँग राम्रोसँग चिनजान र बोलचाल नभएको स्थिति सिर्जना भएको छ । त्यसमा पनि नयाँपुस्ताले पुरानोलाई नचिन्ने, पुरानोले नयाँलाई नचिन्ने संवाद विहिनता । समाजमा देखिएका यस्ताखाले समस्या र परिस्थितिहरूको मनन् गरेर यसलाई चिर्न पारिवारिक जमघट, आत्मियता साटासाटसँगै रमाउ भन्ने उद्देश्यले पहिलो पटक माघ १६ गते बुधबार शहीद दिवसका दिन सार्वजनिक विदाको अवसर पारेर बिर्तामोड नगरपालिका वडा नं. ४ देवशान्ति टोल रोड नं. २ (आफ्नै) टोलले छोटो समयमा वनभोज कार्यक्रम आयोजना गरेको थियो । अध्ययन, कामको सिलसिलामा बाहिर रहेका युवा पुस्ता, भवितव्य, अपठ्यारो र बिरामी परेका बाहेक बाँकी रहेका टोलका सबै घरका सदस्यहरू जम्मा ५० जनाको सहभागितामा निचाझोडामा वनभोज कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका मुख्य आकर्षणका रूपमा टोलका धरोहर सबैभन्दा ज्येष्ठ सदस्य ९६ वर्षीया हजुरआमा बिष्णुमाया मैनाली हामीसँग हुनुहुन्थ्यो । वनभोजमा उहाँसँगै टोलका आमा–बुबाहरु, छोरा–छोरी र नाती–नातिना गरी चार पुस्ताको सहभागिता रहेको थियो । शुल्क चाहिँ १६ वर्षदेखि माथि ८० वर्षसम्मकालाई प्रति व्यक्ति आठ सय रूपैयाँ, ५ वर्षदेखि माथि १६ वर्ष सम्मकालाई पाँच सय, ५ वर्षमुनीका नानीहरू र ८० वर्ष माथिका ज्येष्ठ सदस्यलाई निःशुल्क गरिएको थियो । टोलबासी मांशाहारी र शाहाकारी दुबैथरीका भए पनि माछा–मासु सेवन नगर्ने घरका केटाकेटी तथा सदस्यहरु असहज नहोस् भनेर भोजन शाहाकारी बनाउने निर्णय गरिएको थियो । कोही वनभोजमा भोजन नै नगर्ने पनि हुनुहुन्थ्यो । तर, समाजले आयोजना गरेको हो नखाए पनि रमाइलो गर्छौं भन्ने मानसिकताले शुल्क समेत बुझाएर पानी र फलफूल मात्र खाएर भए पनि दिनभरि वनभोजमा रमाइलो गर्नुभयो । पेयपदार्थ, मदिराजन्य, सूर्तिजन्य पदार्थ, जंक तथा पाकेटका फुड बर्जित थियो ।
ज्येष्ठ सदस्य हजुरआमा विष्णुमाया मैनालीको अध्यक्षता र टोल विकास संस्थाका सचिव गोविन्द तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सबै तनाव मुक्त भएर रमाइलो ग¥यौं । हजुरआमा हामी सँगै सामुहिक नाचगानमा सहभागी हुनुभयो । त्यहाँ सामुहिक नाच, एकल नाच, मुक्तक, लेख र रचनाहरु प्रस्तुत भए भने साना नानीहरु प्रकृतिसँग झुमे, वनमा कुदे, धुलो माटोसँग खेले । तातो आलु, म्युजिकल कुर्सी डान्स, हण्डी फोर्नेदेखि बेलुन डान्स जस्ता खेलहरूले वातावरण उल्लासमय बनेको थियो । साना र ठूलालाई छुट्टाछुट्टै समूह विभाजन गरेर खेलहरू खेलाइयो । सानालाई पहिलो प्राथमिकता दिइएको थियो । खेलमा बिजेतालाई उपहारको व्यवस्था समेत गरिएको थियो ।
एउटै थलोमा ९६ नब्बे वर्षीया हजुरआमादेखि पाँच वर्ष मुनीका नानीहरू सबै हर्षित देखिन्थे, त्यहाँ एक आपसमा संवाद चल्यो, आत्मियता साटासाट भयो । खुशी साटासाट भयो ।अन्त्यमा वनभोज खाएर फर्किने क्रममा सबैले वनभोज रमाइलो भएको प्रतिक्रिया दर्शाए । हामीसँगै सोही स्थानमा हाम्रा वरपर अन्य टोलीहरु पनि वनभोज आएका थिए । कुनै टोली खाइरहेका देखिन्थे भने कुनै टोली नाचगानमा मस्त देखिन्थे । यो वनभोजलाई मैले एक प्रतिनिधि घटनाको रूपमा यहाँ प्रस्तुत गरे ।
थोरै शुल्क, शाहाकारी भोजन, सबै उमेर समूह, पेयपदार्थ, मदिरा र जंकफुड निषेधित वनभोज खाएर पनि रमाउन सकिँदोरहेछ भन्ने महशुस गरियो । साच्चै वनभोज जस्ता परम्पराले सामाजिक सद्भाव वृद्धिसँगै, मानिसमा आपसी मन–मुटाव, रिस, इष्र्या, द्वेष शान्त गरेर खुशी र उमङ्ग साट्ने एउटा सामुहिक थलो प्रदान गर्ने रहेछ । त्यहाँ भएका गतिविधिले मनोरञ्जन मात्र दिएको थिएन, मन खुशी बनाएको थियो । तनाव मुक्त गराएको थियो । शारीरिक र मानसिक स्फूर्ति प्रदान गरेको थियो । जुन स्वास्थ जीवनका लागि अपरिहार्य मानिन्छ ।
विश्वमा वनभोज शुरुवात
‘पिकनिक’ शब्द फ्रेन्च शब्द उष्त्रगभ(लष्त्रगभ बाट आएको हो, जसको अर्थ हुन्छ– ‘सानातिना कुरा खानु’ यो शब्द १७औं शताब्दीको फ्रान्समा देखिन्छ भने यो चलन १८ औं शताब्दीको अन्त्यतिर १९औं शताब्दीको शुरुवातमा युरोपमा शुरु भएको मानिन्छ । शुरुवातका दिनमा पिकनिक खासगरी सम्पन्न वर्गले सामाजिक जमघटका रूपमा आयोजना गर्ने गर्दथे जहाँ खाना, संगीत र मनोरञ्जन गरिन्थ्यो । पछि युरोप र अमेरिकामा मानिसहरूले छुट्टी मनाउन र प्राकृतिक ठाउँमा समय बिताउन थाले । सार्वजनिक पार्कहरूको विकास र सार्वजनिक यातायातको विकासले पनि पिकनिकको संस्कृति व्यापकता पाउन थालेको हो भनिन्छ ।
नेपालमा सन्दर्भमा
नेपालमा वनभोजको कुरा गर्दा शुरुवात स्पष्ट ऐतिहासिक प्रमाण नभए पनि यो धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग जोडिएको परम्परा हो भनिन्छ । धार्मिक दृष्टिकोणबाट हेर्दा प्राचीनकालमा ऋषिमुनिहरुले जंगलमा ध्यान, पूजा र सामुहिक भोजन गर्न जाने गर्दथे । धार्मिक स्थलहरूमा गएर प्रसाद ग्रहण गर्ने परम्पराले वनभोजको प्रारम्भिक स्वरूप दिएको हो भनिन्छ । मुख्यतः मठमन्दिर, गुफा र नदी किनारामा भेला भएर देवताप्रति कृतज्ञता व्यक्त गर्ने चलन वनभोजको प्रारम्भिक रूप मानिन्छ । त्यस्तै अर्कौ मान्यता अनुसार मध्यकालमा राजा–महाराजाहरू शिकार खेल्न, उत्सव मनाउन र मनोरञ्जन गर्न वनमा भोज आयोजना गर्दथे । सामुहिक भोज र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रथा पछि आमजनताबीचमा लोकप्रिय बन्यो भन्ने विश्वास गरिन्छ । वनभोजको शुरुवात धार्मिक र सांस्कृतिक कारणले भएको हो, जुन समयक्रमसँगै सामाजिक र आधुनिक रूपमा परिवर्तन हुँदै आएको छ ।
विगतको वनभोज
शुरुका दिनहरूमा आयोजना हुने वनभोजको छुट्टै मौलिकता हुन्थ्यो । गाउँघरमा परम्परागत रूपमा वनभोज आयोजना हुन्थे । पहाडी जिल्लाहरूमा अग्ला डाँडा, खोला किनार, बारीमा, आयोजना गरिन्थ्यो भने तराईको हकमा भने समथल स्थान, खोलाको किनार, पानीको मुहान र दाउरा नजिकै भएको स्थानमा आयोजना गरिन्थ्यो । त्यसबेला पकाउने भाँडा, खाने थाल, पानी बोक्ने भाँडो, चामल घरबाटै लगेर पनि वनभोज, जाने तथा खाने चलन थियो । त्यसबेला वनभोजमा स्थलमै दाउरा चुल्हो बनाएर आगोमा खानेकुरा पकाउने, भाडा माझ्ने, पानी बोक्ने जस्ता कामहरू सबै मिलेर गरिन्थ्यो । यस शैलीमा आयोजना हुने वनभोजमा छुट्टै प्रकारको आनन्द प्राप्त हुन्थ्यो ।
वर्तमानको वनभोज
इतिहास र वर्तमान दाजेर हेर्दा हामी हरेक क्षेत्रमा परिवर्तन पाउँछौं । त्यस्तै वनभोज खाने तथा जाने तौर तरिका पनि समयसँगै परिमार्जित भएको देखिन्छ । आजभोलि पहिले जस्तो आफै पकाउने, दाउरा चुल्हो प्रयोग गर्ने, भाडा माझ्ने जस्ता कामहरू सबै झन्झटिलो मानिन थालेको छ । व्यस्त जीवनशैली, अनेकौं जिम्मेवारीले थाकिएको काँध लिएर एकदिन भए पनि भारी बिसाउने, साथीहरूसँग मनोरञ्जन गर्ने भन्ने मानसिकता सबैको हुन्छ । त्यसैले पकाउनका लागि कुकसहित क्याटरिङको व्यवस्था गर्नु अनिवार्य जस्तै भएको छ । आजभोलिको वनभोज कुनै भव्य समारोह जस्तो देखिन्छ ।
विवाह तथा पार्टीमा जस्तो टेन्ट, पन्डाल, क्याटरिङ, खानाका अनेकौ परिकारहरू । त्यसको अतिरिक्त आमन्त्रित आगन्तुक तथा अतिथिहरु आसन, भाषण, औपचारिकता, सम्मानले भव्य सभा तथा सम्मेलनको शैलीमा संस्थागत औपचारिक कार्यक्रमहरु वनभोजमा समेटिन थालिएको छ । साथीभाइ, छरछिमेक, पारिवारमा मात्र सिमित नरही वनभोज कार्यक्रम फराकिलो बन्दा एक व्यक्तिले एक सालमा धेरै पटक बनभोज जानुपर्ने र खानुपर्ने अवस्था सिर्जना भएको छ । आजभोलि वनभोज साथीभाइ छरछिमेकमा मात्र सिमित छैन । आफू अध्ययनरत् विद्यालय, कलेज, काम गर्ने अफिस, आफू जोडिएका विभिन्न संघ–संस्था, संघ–संगठनले वनभोजको आयोजना गर्न शुरु गरेका छन् ।
सामाजिक सद्भाव वृद्धि
साथीभाइ, वल्लो घर, पल्लो घर भेला भएर प्रत्यक्ष रूपमा गफगाफ गर्ने चलन हराउँदै गएको छ । आजभोलि साथीभाइ, छरछिमेक एक ठाउँमा भेटघाट भएर कुराकानी गरेको कमै मात्र देख्न सकिन्छ । वनभोज जस्ता कार्यक्रमले सबैलाई एक ठाउँमा एकत्रित पार्ने काम मात्र होइन् साथीभाई बीचमा छलफल तथा अन्तरक्रिया गर्ने वातावरण तयार गर्छ । अर्को महŒवपूर्ण पक्ष साथीहरु बीचमा उब्जिएको आपसी वैमनश्यता चिर्न मद्दत गर्दछ । कहिलेकाँही साथी–साथीबीचमा नचाहँदा–नचाहँदै, गलत तथा फरक बुझाईका कारण वैमनस्यता उत्पन्न भएर सम्बन्धमा दूरी बढेको हुन सक्छ । भेटघाट र संवादले त्यसलाई समथल रूप दिन सहयोग गर्दछ । सम्बन्ध पुनस्थापित गर्न मद्दत गर्दछ । वनभोजले प्राकृतिक ठाउँमा साथीभाइ र परिवारसँग खाना खाएर रमाइलो गर्ने मात्र होइन, सामाजिक सम्बन्ध बलियो पार्ने माध्यमका रूपमा विकसित भएर गएको पाइन्छ ।
आत्मियता सँगै सामिप्यता बढाउँछ
वनभोज जस्ता कार्यक्रमले मुख्य त साथीभाइबीचमा जमघट गराउँछ । जमघट भएको ठाउँमा संवाद हुन्छ । सामुहिक भेटघाट र संवादले आत्मियतासँगै सामिप्यता बढाउछँ । अरूबेला जे–जस्तो भए पनि यस्ता कार्यक्रमहरुमा रिस, इष्र्या जस्ता भावना बोकिँदैन । वनभोज बित्तिकै रम्ने र खुशी हुने थलो हो भन्ने मानसिकता राख्छन् । समाजमा एकजुट भएर नयाँ ढंगले अघि बढ्न साथसाथै खुशी रहन मद्दत गर्छ । वनभोजमा सञ्चालन हुने क्रियाकलापले मानिसका शारीरिक, मानसिक अवस्था सन्तुलित राख्न सहयोग गर्दछ । त्यसैले पनि वनभोज आफैंमा सुन्दर सामाजिक परम्परा हो । यस्ता संस्कृतिले निरन्तरता पाइरहन जरूरी देखिन्छ ।