सबैभन्दा पछि नामकरण भएको कोशी प्रदेश अहिले पनि विवाद मुक्त भइसकेको छैन । एकल, बहुल वा भौगोलिक पहिचानलाई आधार मानेर प्रदेशको नामकरण हुनुपर्ने अडानका कारण धेरैपछि धकेलिएको नामकरण अन्ततः कोशीमा टुङ्गिएको थियो । यद्यपि प्रदेश सभाको बहुमतद्वारा स्वीकृत यो नाममा पहिचानवादी पक्षधर अझै सहमत भएका छैनन् । प्रदेश संरचना कार्यान्वयनमा आएको पाँच वर्षपछि नामकरण भएको नामको बिरुद्धमा विभिन्न जातीय संगठन र पहिचान पक्षधरहरु अन्य मुद्दालाई समेत जोडेर बदल्नुपर्ने अडानमै छन् ।
चौध वटा जिल्ला भएको कोशी प्रदेश हिमालदेखि तराईसम्म फैलिएको छ । एउटा महानगर, दुईवटा उपमहानगर लगायत एक सय सैंतीस वटा स्थानीय तह रहेको कोशी प्रदेशमा विश्वकै अग्लो हिमाल सगरमाथा समेत अवस्थित छ । कोशी प्रदेशमा अवस्थित झापा लगायतका तराईका जिल्ला उर्वरताका हिसाबले नेपालको अन्नको भण्डार हुन् । यहाँ औद्योगिक विकासको सम्भावना उच्च छ भने भारत, बंगलादेश र उत्तरतर्फ चीनसँग सीमा जोडिएका कारण व्यापार क्षेत्रको पनि ठूलो सम्भावना रहेको छ । करिब पचास लाख जनसंख्या रहेको यो प्रदेश भौतिक पूर्वाधारका दृष्टिले विकसित र हावापानीका हिसाबले विविधतापूर्ण छ । चौध वटै जिल्लाका सदरमुकाम पक्की सडकले जोडिएको यो प्रदेशको समृद्धिमा यहाँ भएर बग्ने तमोर, अरुण, दूधकोशी, सुनकोशी, लिखुनदी जस्ता नदी जलस्रोतका कारण विद्युत उत्पादन गर्न पनि सहज छ ।
कोशी प्रदेशलाई सम्भावना बोकेको जिल्ला यसकारण पनि भनिन्छ कि यहाँ पर्यटन प्रवद्र्धनको सम्भावना पनि धेरै छ । जैविक विविधताले सम्पन्न कोशीका पहाडी जिल्लाहरुमा पहुँचमार्ग विस्तार, सुविधा प्रवाह र पर्यटकमैत्री वातावरण बनाउन सकिए कृषि, उद्योग र वाणिज्य कै सरह पर्यटन उद्योगबाट पनि लाभ लिन सकिन्छ । धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रुपमा रहेको ताप्लेजुङस्थित पाथीभरामा केबलकार निर्माणको बिरोधमा पहिचान पक्षधर उत्रिएपछि प्रहरीले गोली चलायो । प्रदर्शनकारी घाइते भए, सरकारले वार्तामा बोलायो, वार्ताले जारी विरोधका कार्यक्रम स्थगित ग¥यो । लाखौं भक्तहरुको आस्थाको केन्द्र पाथीभरालाई पहिचानवादीले मुक्मुलुङ क्षेत्र भनिरहेका छन् । संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएको समूहबीच भएको सहमतिले केबलकार स्टेसन माथिको निर्माण कार्य स्थगन गरेको छ ।
पहिचानकै नाममा लामो विवाद झेलेको यो प्रदेशको पहिलो कार्यकालमा तीन वटा सरकार फेरिए । अहिलेसम्ममा नौ जना मुख्यमन्त्री भएका छन् भने साठ्ठी जनाले मन्त्री बन्ने अवसर पाइसकेका छन् । यसो हुनुका पछि कुनै पनि राजनीतिक दललाई जनताले बहुमत नदिनु नै मुख्य कारण हो । मुख्य मन्त्रीदेखि मुख्य राजनीतिक दलहरु सत्ता केन्द्रीत स्वार्थमा अलमलिएका कारण राजनीतिक अस्थिरता बढ्यो । त्यसकै उपज बनेर कोशीमा हुर्किएका जातीय संगठन, समूह र दलहरुका अडानले विकासको गति अझै सूस्त नहोस् त्यसतर्फ जिम्मेवार सबैले समीक्षा गर्नुपर्छ । प्रचुर सम्भावनाका क्षेत्रहरुको पहिचान गरी स्थानीयबासी समेतको सहभागितामा दिगो विकासका आधार तयार गर्न ढिला गर्नुहुँदैन ।