योगेन्द्र योगी
बिराटनगर,
दलालको प्रलोभनमा परी युक्रेन पुगेका दुई नेपाली युवा नेपाल फर्कन लागेका छन् । विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको गैरआवासी नेपाली संघ(एनआरएनए) अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।
नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पालाई उद्धार गरी नेपाल फर्काउन सफल भएको एनआरएनए अध्यक्ष केसीले बताए। उनीहरु गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका थिए।
उनीहरुलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोदेको र एनआरएनएको सहयोगमा टर्किस एयरलाइन्सको फलाइट नम्बर टीके २७४ मार्फत माल्दोवाबाट भोली शुक्रवार दिउँसो काठमाडौँ आउन लागेको उनले बताए।
उनीहरुको उद्धारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायत, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन्।