अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ भाङबारीस्थित अर्जुनधारा माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
विद्यालयकी प्रधानाध्यापक वेदमाया निरौलाले विद्यालयको गतिविधिसहितको प्रतिवेदन बारे जानकारी गराएको उक्त कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक प्रेम कार्कीले प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा वर्ष शिक्षकको सम्मानबाट गंगादेवी पोखरेल, हालै सम्पन्न भएको नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स विधाको ट्रिपलजम्पमा स्वर्ण पदक विजेता छात्र एलेश्वर राई र लङजम्पमा स्वर्ण पदक विजेता खेलाडी मदन परियारलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतम, नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तोया ओली, आधारभूत विद्यालयका प्रधानाध्यापक टंक न्यौपानेलगायतको आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयकी सहायक प्रधानाध्यापक माया कार्की शिवाकोटीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक कमलकान्त पौडेलले गरेका थिए ।