आखिर किन म सक्दिनँ अरे !

0
100

आफू जन्मी, हुर्की ताते बामे सरेको घरलाई
म मेरो घर भन्न सक्दिनँ अरे
माइतीघरका ती पाखा पखेरीहरुमा
म जीवनभर रम्न सक्दिनँ अरे आमाको काख र बाबाको काँध
कहिले छुट्ने हो के थाहा
दाजुभाइ र दिदीबहिनीको हात पनि
सधैँ–सधैँ म थाम्न सक्दिनँ अरे
आखिर किन ?
मैले जन्म लिएको घरमा
म मर्नसम्म सक्दिनँ अरे ।

नौ–नौ महिना गर्वमा राखेको शिशुमा
म आफ्नो नाम र थर सार्न सक्दिनँ अरे
दश धारा दूध चुसाएका सन्ततीमा
म आफ्नो इच्छा र रहर भर्न सक्दिनँ अरे
अस्तित्व र परिचय मेरो मेटिँदैछ के गरु
आफ्नो हक र समानताका आवाज पनि
म कसैसामु पु¥याउन सक्दिनँ अरे
आखिर किन ?
मैले जन्माएको सन्तानलाई
म नागरिकता दिलाउन सक्दिन अरे ।

पढी लेखी जति नै सक्षम बने पनि
आफ्नै समाजमा पनि म, एक्लै जिउन सक्दिनँ अरे
जन्मेदेखि मृत्युसम्म, घरदेखि अफिससम्म
आफन्त परिवार गाउँघरमै म, सुरक्षित हुन सक्दिनँ अरे
छोरी भएर जन्मनु, कस्तो अभिशाप हो के थाहा
आफ्नो शरीरको सुरक्षा पनि, म आफै गर्न सक्दिनँ अरे
आखिर किन ?
रातको १२ बजेपछि
म घर बाहिर निस्किन सक्दिनँ अरे ।

समाजका नीतिनियम र मान–मर्यदाका ती बाधहरु
तोडेर अघि बड्दा म, चरीत्रहीन र कु–संस्कारी भए अरे
परिवार, आफन्त, सत्य र नैतिकताका ती पाठहरु
छोडेर एक्लै हिँडदा म, बेसहारा अवला नारी भए अरे
शोषण, दमन, हत्या, हिंसा कति सहनु हो के थाहा
अन्याय र अत्यचारबिरुद्ध म आवाज उठाउन सक्दिनँ अरे
आखिर किन ?
मेरो अस्मिता लुट्ने ती पापि दलालहरुलाई !
म फाँसी चडाउन सक्दिनँ अरे ।

म नै आमा ! म नै श्रीमती ! म नै छोरी ! म नै चेलीबेटी
तर, मेरो अपमान र आशुको बदला, कसैले लिन नसक्ने अरे
परिवार मेरो ! समाज मेरो ! सरकार मेरो ! कानून मेरो !
तर, मेरो न्याय र सुरक्षाको ग्यारेन्टी, कसैले दिन सक्दैन अरे
आखिर किन ?
मेरो अपमान र आसुको बदला, कसैले लिन नसक्ने अरे
मेरो न्याय र सुरक्षाको ग्यारेन्टी कसैले दिन नसक्ने अरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here